सरकार स्टण्डबाजीमा मात्रै सिमित रहन खोजेको त होइन ?
जेन्जी आन्दोलनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई गिराएर सुशीला कार्की नेतृत्वको सरकार गठन भएको भोलि २७ गते एक महिना पूरा हुदैछ। यसबीचमा सरकार गठन प्रक्रियालाई समेत पूर्णता दिन सकेको छैन । जेन्जीहरुले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको भएपनि ७६ जना नागरिकहरुले सहादत प्राप्त गरिसके । सयौंको संख्यामा घाइते छन् । खरबौंको सार्वजनिक एवम् निजी सम्पत्ति क्षति भएको छ।
सयौंको संख्यामा सुरक्षाकर्मीहरुको हतियार आन्दोलनको बीचमा खोसिएको घटनाहरू सार्वजनिक भइरहेका छन् । सयौं कैदी बन्दीहरू फरार रहेका छन् , तीनले थप आपराधिक घटनाहरु घटाएको समाचारहरु पनि सार्वजनिक भइरहेका छन् । आन्दोलनको क्रममा विस्थापित सुरक्षा निकायहरू पुनःस्थापना गर्न सकिरहेको छैन ।
शान्तिपूर्ण आन्दोलनमा यतिका धेरै क्षति र अस्तव्यस्त हुनुमा तत्कालीन केपी नेतृत्वको सरकारको तर्फबाट भएको ज्यादती मात्र होइन त्यसबाहेक आन्दोलनमै घुसपैठ भएको सम्भावनाको चर्चा पनि त्यतिकै व्याप्त छ। सरकारमा सहभागी मन्त्री र जेन्जी प्रतिनिधिहरु समेत बिबादरहित हुन सकिरहेका छैनन् । सबैतिर बिबाद र शंका उत्पन्न भइरहेको छ। यस्तो बिबाद र शंकाको अवस्था सिर्जना हुनु शान्तिसुरक्षाको दृष्टिले आफैमा जटिल र संवेदनशील अवस्था हो।
अध्यक्ष प्रचण्डको सरकारलेनै गिरफ्तार गरि हाजिरी जमानतमा रहनुभएको तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई गिरफ्तार गरेको भनी हल्ला गर्नु यो सरकार आफ्नो मूल जिम्मेवारीबाट अलग्गिएर स्टण्डबाजीमा मात्रै सिमित रहन खोजेकोत होइन ?
यो अवस्थामा जतिखेर जस्तो पनि र जोसुकै माथि अप्रिय घटनाहरुहरु घट्न सक्ने सम्भावना विद्यमान हुन्छ। त्यसैले यतिखेर यो सरकारले गर्नै पर्ने प्रमुख कार्य भनेको आन्दोलनको बीचमा घटेका घटनाहरुको छानबिन गर्नु , दोषीलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाही प्रक्रियालाई अघि बढाउनु र नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु हो। तर सरकारले अहिलेसम्म त्यस्तो कुनै कार्य गरेको अनुभुती दिलाउन सकेको छैन ।
बरु विगतको सरकारले सुरक्षा संवेदनशीलतालाई ख्यालमा राखी अध्यक्ष प्रचण्डको सुरक्षामा खटाइएको सुरक्षा कर्मीहरुलाई फिर्ता बोलाउने र अध्यक्ष प्रचण्डको सरकारलेनै गिरफ्तार गरि हाजिरी जमानतमा रहनुभएको तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई गिरफ्तार गरेको भनी हल्ला गर्नु यो सरकार आफ्नो मूल जिम्मेवारीबाट अलग्गिएर स्टण्डबाजीमा मात्रै सिमित रहन खोजेकोत होइन ? होइन भने गर्नैपर्ने कार्य गर्ने, झिनामसिना कार्यमा नअलमलिने एवम् आम नागरिक र सिंगो मुलुकलाई विश्वस्त तुल्याउने गरी आफ्नो मुख्य कार्यमा ढिला नगरोस् ।




