अमेरिकाको टेक्सासमा अचानक बाढी : घर र सडक बगाए, २४ को मृत्यु, खोजी र उद्धार कार्य जारी

मूलखबर संवाददाता
काठमाडौं, २१ असार ।

अमेरिकाको टेक्सासमा आएको भीषण बाढीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको त्यहाँको स्थानिय प्रहरीले जनाएको छ । क्रिश्चियन समर क्याम्पबाट हराइरहेका थुप्रै बालिकाहरूको खोजी कार्य रातभरि जारी राखिएको बताइएको छ ।

स्थानीय समय अनुसार जुलाई ४ को छुट्टी मनाउन मानिसहरू भेला भएका बेला भीषण वर्षापछि ग्वाडालुप नदीको पानी एक घण्टाभन्दा कम समयमा २६ फिट ९७।९ मिटर० बढेको थियो। यस बाढीले मोबाइल घरहरू, सवारी साधनहरू र छुट्टी मनाउन बनाइएका क्याबिनहरू बगाएको छ।

सान एन्टोनियोबाट १०४ किलोमिटर उत्तर–पश्चिममा रहेको केर्भिल सहर नजिकको क्याम्प मिस्टिकमा ७५० जना बालिकाहरूमध्ये २५ जनासम्म हराइरहेको बताइएको छ। क्याम्प मिस्टिकको वेबसाइटका अनुसार, दोस्रो कक्षा पूरा गरेपछि बालिकाहरू यो क्याम्पमा सहभागी हुन योग्य हुन्छन्।

धेरै काउन्टीहरूमा सडकहरू बगाएको र फोन लाइनहरू अवरुद्ध भएकाले संकटकाल घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस त्रासदीलाई ‘भयानक’ भन्दै ह्वाइट हाउसले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकले भने– ‘४५ मिनेटभित्रमा ग्वाडालुपे नदी २६ फिटसम्म बढेको थियो र यो एक विनाशकारी बाढी थियो ।’

तस्बिरहरूमा पुलहरूमाथि र सडकहरूमा बाढीको पानी तीव्र गतिमा बगिरहेको देखिएको छ। सबै सुरक्षित रहेको पत्ता नलागेसम्म अधिकारीहरूले हेलिकप्टर, ड्रोन र डुङ्गासहितको खोजी तथा उद्धार कार्य जारी रहने बताएका छन्। क्याम्पले विद्युत, पानी र वाइफाइ नभएको जानकारी दिँदै राजमार्ग बगाएकोले थप सहयोग पाउन गाह्रो भइरहेको बताएको छ।