रास्वपा सभापति लामिछाने फेरि ६० लाख धराैटीमा रिहा, यस्तो छ अदालकाे आदेश

मूलखबर संवाददाता
काठमाडौं, २ माघ २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि ६० लाख धराैटी तिरेर थुनामुक्त भएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत ठगीकाे अभियाेगमा काठमाडौं जिल्ला अदालतकाे न्यायीक हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने बुधबार उक्त धराैटी रकम राखेर रिहा भएका हुन् ।

आइतबार आफैं अदालत उपस्थित भएका लामिछानेको पक्षमा बहस गर्ने वकिललाई समय उपलब्ध नभएपछि राेकिएकाे बहस बुधबार मात्रै भएको थियाे । बहस नसकिएको भन्दै उनलाई हिरासतमा पठाइएको थियाे ।

काठमाडौं जिल्ला अदालतले लामिछाने र गितेन्द्रबाबु (जीबी) राईका नाममा ऋण खाता खोली स्वर्णलक्ष्मी सहकारीबाट रकम लिएको समेत तथ्य पनि भेटिएका आधारमा उनी कसुरदार होइनन् भन्न नसकिएकाले उनीसँग धरौटी मागेको हो । तर लामिछानेकाे पार्टीले उनलाई पुर्वाग्रह राखेर अभियाेग लगाइएको भन्दै विराेध गरिरहेकाे छ ।

यस्तो छ काठमाडौँ जिल्ला अदालतको आदेश

  • प्रतिवादी (रवि लामिछाने) ले गोर्खा मिडिया नेटवर्क प्रालिको बिक्रीमा रहेको १ लाख ८० हजार थान सेयर खरिद गर्न पाउँ भनी निवेदन दिई सेयर लिएको देखियो
  • गोर्खा मिडिया नेटवर्कको सेयरहोल्डर एवं प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै प्रतिवादी लामिछानेसमेतको हस्ताक्षर हुने गरी ग्लोबल आईएमई बैंकमा खाता सञ्चालनमा ल्याएको पाइयो
  • लामिछाने प्रबन्ध निर्देशक भएका बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोर्खा मिडिया नेटवर्कको खातामा सहकारीबाट रकम आएको देखियो
  • लामिछाने र गितेन्द्रबाबु राईका नाममा सहकारीमा खाता खोली चारपांग्रे ऋण शीर्षकमा ४६ लाख ९८ हजार र ‘इको सेभन सिटर लोन’ शीर्षकमा ४६ लाख ४८ हजार लिएको देखियो
  • लामिछानेको हस्ताक्षरबाट काटिएका चेकबाट ९० लाख १६ हजार ६ सय ६० रुपैयाँ स्वर्णलक्ष्मी सहकारीमा ऋण भुक्तान गरेको देखियो
  • गोर्खा मिडिया नेटवर्कको खाताबाट लामिछानेको एकल हस्ताक्षरमा विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्ने अवस्था देखिएन
  • मुद्दाका सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी पुर्पक्षको प्रयोजनका लागि ६० लाख रुपैयाँ धरौटी लिई तारिखमा राख्नू ।

चार दिनसम्मको बयान र थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले दिएको आदेशलगत्तै लामिछाने धरौटी बुझाएर थुनामुक्त भएका हुन् । लामिछानेको विरूद्व रूपन्देही र चितवनमा समेत थप मुद्वा लगाइएको छ ।

आफैं हाजिर भएका रास्वपा सभापति लामिछानेलाई पुन हिरासत पठाइयो