सबै प्रतियोगितामा पदक जित्ने एरिकालाई विमानस्थलमा भव्य स्वागत

मूलखबर संवाददाता
काठमाडौं, ८ असोज

एरिका गुरुङ अहिले चर्चाको शिखरमा छिन् । उनले नेपालका लागि ऐतिहासिक पदक जितेकी कारण मात्रै नभएर एक वर्षमा धेरै पदक र उपाधि जित्न सफल भएकीले पनि उनको चर्चा चुलिएको हो । चर्चित कराते खेलाडी एरिका गुरूङ मंगलबार बिहान स्वदेश आइपुगेकी छन्।

चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत जितेकी एरिकालाई मंगलबार विमानस्थलमा भव्य सवागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले स्वागत गर्दै सम्मान गरे। एरिकाको स्वागतमा नेपालका सयौं करातेकर्मी विमानस्थलमा पुगेका थिए।

एरिकाले महिला ६८ केजीमाथि रजत पदक जितेकी थिइन्। स्वर्णको भिडन्तमा भने एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी थिइन्।

सियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म पदकविहीन बनेको नेपालका लागि एरिकाले फाइनल प्रवेश गरेर पहिलो पकद जित्दै इतिहास रचेकी थिइन्।

एरिकाको यो पाँचौं अन्तर्राष्ट्रिय सहभागिता हो भने छैटौं पदक हो। कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन।