‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङमा

मूलखबर संवाददाता
काठमाडौं

नेपाली फिल्म ‘खुस्मा’कोगीत ‘रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङमा पुगेको छ।

एक महिनाअघि युट्युबमा सार्वजनिक भएको गीत लगभग २ सातादेखि नेपालको म्यूजिक सेक्सन अन्तर्गत ट्रेन्डिङको पहिलो नम्बरमा थियो । यो गीत अहिले ‘ग्लोबल ट्रेन्डिङ’मा आएको छ ।

युट्युबको म्यूजिक ग्लोबल चार्टमा यो गीत ७३औं स्थानमा छ । ‘ग्लोबल ट्रेन्डिङ’मा पर्ने यो पहिलो नेपाली फिल्मको गीत हो । केही दिनदेखि ‘कश्मीरे पछ्यौरी’ बोलको नेपाली गीत पनि ग्लोबल ट्रेन्डिङ (अहिले ८२औं स्थान)मा छ । विश्वभर धेरै हेरिने गीत ‘ग्लोबल ट्रेन्डिङ’मा पर्ने गरेका छन् ।

‘रुकुम मैकोट’ गीतमा युट्युब रिलिजको एक सातासम्म न्यून भ्यूज थियो । टिकटक जस्ता प्लेटफर्ममा गीत रुचाइयो, त्यसपछि एक महिना पनि नपुग्दा गीतले युट्युबमा एक करोड भ्यूज नघायो । यो समाचार तयार पार्दासम्म गीतलाई १ करोड ४३ लाखभन्दा बढीले युट्युबमा हेरिसकेका छन् । गीतको चर्चा अझै चुलिँदो छ । यसले कम्तीमा तीन करोड भ्यूज नघाउने आँकलन गरिएको छ ।

अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले नृत्य गरेको यस गीतमा एसडी योगीको संगीत छ भने सुरेन्द्र रानाको शब्द तथा एसडी योगी र शान्तिश्री परियारको संगीत छ । यो गीत अडियोका कारण चलेको हो । मीठासपूर्ण शब्द र कर्णप्रिय गायन तथा संगीतका कारण दर्शकले गीत रुचाएका हुन् ।

‘रुकुम मैकोट’ गीतकै कारण प्रदर्शन अघिदेखि चर्चामा रहेको ‘खुस्मा’ले ‘इनिसियल’ व्यापार राम्रो गरेको छ ।

खासगरी बिहीबार र शनिबारको विदामा फिल्मप्रति दर्शकको आकर्षण उत्साहजनक देखिएको थियो । निर्माताको दाबी अनुसार तीन दिनमा फिल्मले २ करोड ५५ लाखको ग्रस व्यापार गरेको छ । यो फिल्मले सशस्त्र द्वन्द्वको प्रभावका बीच अंकुराएको प्रेमकथालाई प्रस्तुत गरेको छ ।