श्रीलंकामा वामपन्थी नेता एकेडी राष्ट्रपतिमा निर्वाचित, काे हुन् देशानायके ?

मूलखबर संवाददाता
काठमाडौं, ६ असाेज

श्रीलंकामा  वामपन्थी नेता अनुरा कुमारा दिशानायके (एकेडी) नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । ७५ वर्षसम्म श्रीलंकाको शासन सत्ताको वरिपरि रहेकाहरुलाई पछि पार्दै दिशानायकेलाई राष्ट्रपति बन्न सफल भएका हुन् ।

उनलेे राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेसहितलाई पराजित गर्दै निर्वाचित भएपछि  श्रीलंकाली जनताको निर्णय २०२२ को विद्रोहको निरन्तरता भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

मत गणनाको सुरुवातदेखि नै अग्रता लिएका उनले अन्तिम गणना सकिंदा उनी ४२.३१ प्रतिशत मतका साथ पहिलो स्थानमा रहे । उनलाई पछ्याइरहेका प्रेमदासाले ३२.७६ प्रतिशत मत पाए । निवर्तमान राष्ट्रपति विक्रमासिंघेले मात्र १७.२७ प्रतिशत मत पाउँदा महिन्दा राजापाक्षेका छोरा नमलले जम्मा २.५७ प्रतिशत मत पाए ।

श्रीलंकामा राष्ट्रपति चुनिन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएपछि निर्वाचन आयोगले दोस्रो चरणको मत गणना गर्ने भयो, जसमा दिशानायके र प्रेमदासा मात्र उम्मेदवार रहे । श्रीलंकाको इतिहासमा पहिलो पटक भएको दोस्रो चरणको मत गणनाबाट दिशानायके राष्ट्रपति निर्वाचित भएका छन् ।

आर्थिक संकट चुलिएपछि श्रीलंकामा सुरु भएको जनप्रदर्शनले दुई वर्षअघि श्रीलंकामा राजापाक्षे परिवारको शासन अन्त्य गरेको थियो । प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिनु परेको थियो भने उनका भाइ राष्ट्रपति गोटाबाया राजपाक्षे १४ जुलाई २०२२ मा देश छोडेर भाग्न बाध्य भएका थिए । त्यसपछि संसदले ६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमासिंघेलाई नयाँ राष्ट्रपति बनाएकाे थियाे ।

काे हुन् राष्ट्रपति निर्वाचित दिशानायके ? 

ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञानमा डिग्री हासिल गरेका छन् । उनी स्कुले जीवनबाट जेभीपी (जनता विमुक्ति पेरामुना) मा आवद्ध भएका थिए ।

जेभीपीले १९७१ र १९८० को दशकको अन्त्यमा श्रीलंकामा हिंसात्मक विद्रोह गरेको थियो । १९८८–१९८९ मा राष्ट्रपति जेआर जयवर्धने र आर प्रेमदासाको शासन सत्ता ढाल्न भन्दै गरेको विद्रोह श्रीलंकाको इतिहासमा सबभन्दा रक्तपातयुक्त थियो ।

विद्रोहीहरुले राजनीतिक विरोधी मात्र होइन, बुद्धिजीवी, कलाकार, ट्रेड युनियनमा आवद्ध भएकाहरुको समेत हत्या गर्‍यो । विद्रोह दबाउन सरकारले चलाएको कारबाहीमा पनि कम्तीमा ६० हजार मानिस मारिए । जेभीपीका संस्थापक रोहाना विजेविरा समेत कारबाहीमा मारिएका थिए ।

जेभीपी हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आएपछि दिशानायके पोलिटब्यूरो सदस्य बने । सन् २००० मा सांसद र २००४ मा छोटो समयका लागि मन्त्री समेत बने । २०१४ मा जब उनी जेभीपीको प्रमुख बने, त्यसयता उनले आफ्नो दललाई विगतको हिंसात्मक आन्दोलनबाट टाढा राख्न खोजेका छन् ।

२०१४ मे मा पार्टीको नेतृत्वमा आएपछि उनले पार्टीले विगतमा गरेको हिंसाप्रति माफी मागेका थिए । जेभीपीका कुनै नेताले हिंसाका लागि माफी मागेको त्यो नै अन्तिम पटक थियो । किनकि पार्टीकै केही नेता र वामपन्थीहरुले चर्को आलोचना गरेपछि दिशानायके विगतको विषयमा निकै सतर्क हुने गरेका छन् । उनले कैयौं पटक खेद व्यक्त गरेका छन्, माफी मागेका छैनन् ।

तस्बिर र सामग्री :  एजेन्सी