केपी ओलीले पाएनन् भारतबाट ग्रीन सिग्नल, साइड लाइन पनि अनिश्चित, चीन पनि असन्तुष्ट

मूलखबर संवाददाता
काठमाडौं, २ असाेज

नेपालका प्रधानमन्त्रीले सामान्यतः भारतबाट आफ्नो विदेश भ्रमण सुरु गर्ने गरेका छन् । प्रधानमन्त्री केपी ओलीले पनि यही परम्परा निरन्तरता दिन चाहेका थिए र त्यसका लागि पहल पनि गरे । तर, भारतबाट सकारात्मक संकेत नमिलेपछि संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन ४ असोजमा अमेरिका उड्दैछन् ।

उनी अमेरिकामा भारतका प्रधानमन्त्री मोदीसँग भेट गर्न चाहन्छन् । अमेरिकामा समकक्षी मोदीसँग साइडलाइन भेटवार्ताका लागि कूटनीतिक च्यानलबाट प्रस्ताव पनि गइसके पनि अहिलेसम्म भेट तय भएको खबर आइसकेको छैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हठात् धाेकाधडी गरि प्रधानमन्त्रीबाट हटाएर रातारात प्रधानमन्त्री बनेका केपी ओलीले आफ्नो भारत भ्रमणकाे वातावरण बनाउन परराष्ट्रमन्त्री आरजु देउवालाई भारत भ्रमणमा पठाए पनि उताबाट ग्रिन सिग्नल नपाएपछि ओली निराश बनेका छन् ।

अहिले पनि ओलीलाई प्रधानमन्त्रीको रूपमा देख्न भारत चाहिरहेको छैन र छिटो विकल्प खोज्न भनिरहेको छ’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘तर तत्काल ऊसँग कुनै विकल्प छैन किनकि हाम्रो सभापति देउवा भारतको दबाब खेपेरै पनि तत्कालका लागि यही गठबन्धनलाई निरन्तरता दिन चाहनुहुन्छ ।’ रातारात गठबन्धन बनाउने र भत्काउने खेलले राम्रो सन्देश नजाने र अहिलेका लागि यो सही विकल्प होइन भन्नेमा देउवा दृढ जस्तै देखिएको उनको दाबी थियो ।

अमेरिकामा मोदी–ओली भेटको असाध्यै कम सम्भावना रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘म त मुस्किल नै देख्छु ।´

ओलीकाे भारत चिढाउने अभिव्यक्ति : 

‘के कारण पर्‍यो, भारतले त्यो बुझेको छैन । त्यो बुझेर कार्यान्वयन गर्ने नगर्ने, कसरी गर्ने, के गर्ने, गर्दै नगर्ने कि भन्ने निर्णय पछि प्रधानमन्त्रीहरूले गर्ने हो’ ओलीले भने, ‘रिपोर्ट नै नबुझ्ने सन्दर्भमा हामीले कुराकानी गरिरहेका छौं । यो बुझ्नु राम्रो हुन्छ ।’

गत सोमबार संसदकाे अधिवेशन अन्त्य हुने दिनमा त ओलीले संसदको रोष्ट्रममै उभिएर भारतलक्षीत गाली गरे । अमेरिका भ्रमण बारे जानकारी दिन संसदमा सम्बोधन गर्दै ओलीले भने, ‘नेपाल असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ, छुद्र र जाली छिमेकी होइन ।’

उनले अगाडि थपे, ‘असल छिमेकीको रूपमा, छिमेकीको अहित चिताउने छिमेकीको रूपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ ।´

ओलीसँग चीन पनि असन्तुष्ट 

प्रधानमन्त्री केपी ओलीसँग उत्तरी छिमेकी चीन पनि त्यति सन्तुष्ट देखिएकाे छैन । बाम गठबन्धन एकाएक ताेडेर अमेरिकी याेजनामा सरकार फेरेपछि चीन ओलीसँग त्यति सन्तुष्ट नदेखिएको एक चिन मामिला विश्लेषककाे भनाइ छ । उनलेे ओलीले बीआरआई कार्यान्वयन गर्ने दिशामा काम गरेमा सम्बन केही सुधार हुन सक्ने तर्क गरे तर ओलीकाे याेजना र कार्यशैली हेर्दा बीआरआई तिर भन्दा एमसिसितिर नै बढि झुकाव देखिएकाे बताए ।

ओलीकाे कमजाेर कुटनीतिका कारण सरकारलाई धेरै अप्ठ्यारो आउन सक्ने उनको बुझाइ छ ।