विदेशी मुद्रा सञ्चिति निरन्तर बृद्वि, एक वर्षमा ३० प्रतिशत बढ्याे डलर

मूलखबर संवाददाता
काठमाडौं, ३ भदौ

मुलुकको विदेशी मुद्रा सञ्चितिमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । जुन ०८० असारको तुलनामा ३२.६ प्रतिशतले बढी हो । त्यतिबेला सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड थियो ।

एक वर्षमा अमेरिकी डलर सञ्चिति ३०.४ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । ०८१ असारसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड कायम भएको छ । जबकि ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड डलर थियो ।

गत आर्थिक वर्षको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको दाबी छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा जस्तै गत वर्ष पनि सात महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको थियो । ०८१ असार मसान्तमा सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३५.८, १०८.६ र २९.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्राको सञ्चितिमा नयाँ कीर्तिमानसमेत बनेको छ । बैंकिङ क्षेत्रमा रहेको विदेशी मुद्रा सञ्चितिले ०८० असारदेखि नै हरेक महिना नयाँ उचाइ छोएको थियो । गत असार मसान्तमा सञ्चितिले हालसम्मकै (१३ औं पटक) नयाँ कीर्तिमान बनाएको छ । विज्ञहरूका अनुसार रेमिट्यान्स निरन्तर बढिरहेको, पर्यटन क्षेत्र तंग्रिन थालेको, आयात लगातार घटिरहेको लगायत कारण विदेशी मुद्रा सञ्चितिले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको खबर कान्तिपुरमा छ ।