समाजवादी शैक्षिक मञ्चकाे घाेषणा, अध्यक्षमा अधिकारी, ३/३ महिनामा नेतृत्व आलाेपालाे

मूलखबर संवाददाता
काठमाडौं, ७ फागुन

शिक्षक र विद्यालय कर्मचारी विभिन्न ८ वटा संगठन मिलेर समाजवादी शैक्षिक मञ्च घोषणा भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)का अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा २७ सदस्यीय मञ्च घोषणा गरिएको हो ।

मञ्चमा आवद्ध घटक संगठनहरुमा एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो), प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, संघीय समाजवादी शिक्षक फोरम नेपाल, अखिल नेपाल शिक्षक संघ, विश्वविद्यालय तथा विद्यालय शिक्षक एशोसियसन नेपाल, अखिल नेपाल विद्यालय कर्मचारी संगठन, शिक्षक समाज नेपाल तथा शिक्षक जनमत संघ रहेका छन् । यसैगरी संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) तथा माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन) आमन्त्रित सदस्यको रुपमा रहेका छन् ।

राजधानीमा विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, संसदीय शिक्षा समितिका सभापति भानुभक्त जोशी तथा समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुको उपस्थितिमा मञ्च घोषणा भएको हो ।

युएण्टोका अध्यक्ष अधिकारीको अध्यक्षमा घोषणा भएको समाजवादी शैक्षिक मञ्चको उपाध्यक्षमा शिक्षक समाजकी प्रतिभा पाण्डे र मञ्चको महासचिवमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका हरिदेव यादव रहेका छन् । यसैगरी कोषाध्यक्षमा संघीय समाजवादी शिक्षक फोरमकी सञ्जिता मण्डल चयन भएकी छन् । मञ्चको अध्यक्ष आवद्ध संगठनका अध्यक्षहरुबाट ३/३ महिनामा आलोपालो प्रणालीमा गरिने जनाइएको छ ।

साथै, अध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्ष फरक फरक संगठनका हुने मञ्चले जनाएको छ । साथै, मञ्चलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गरिने जनाइएको छ । यसैगरी मञ्चको उद्देश्य तथा कार्यक्रम सञ्चालनका लागि आवद्ध संगठनका महासचिवहरु सहितको सचिवालय गठन गरिएको छ ।