साइबर अपराध बढ्दो : दैनिक ६५ उजुरी दर्ता

मूलखबर संवाददाता
काठमाडौं, २६ माघ

प्रहरी प्रधान कार्यालयका अनुसार साइबर अपराधको संख्या दिनप्रतिदिन बढिरहेको छ । औसतमा प्रहरीकहाँ दैनिक ६५ उजुरी पुग्ने गरेका छन् । हजारौँ सर्वसाधारण यससम्बन्धी अपराधबाट पीडित बनेको प्रहरीको तथ्यांकले देखाएको छ ।

गत साउनदेखि २३ माघसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएको प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल बताउँछन् तीमध्ये करिब ८५ प्रतिशत सामाजिक सञ्जालसम्बन्धी छन् ।

सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच निवेदन प्रहरीमा दर्ता भएका छन् । जसमध्ये साइबर अपराधमा ५१ जनाको मात्र मुद्दा अदालतमा पुगेको खबर नयाँ पत्रिकामा छ ।