अनन्तकाे पहलमा बल्यो रोल्पाका विकट गाउँमा बिजुली
रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ ।
सुनछहरी गाउँपालिका वडा नम्बर–३ र वडा नम्बर–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो ।
३३ केजी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ । माओवादी केन्द्रका उप–महासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुन अनन्तले स्वीच दबाएर विद्युतीकरणको औपचारिक उदघाटन गरे ।
गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने बताए । गाउँमा बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको भनाइ थियो ।
गाउँमा सडक, बिजलुी, खानेपानी, सिंचाईको व्यवस्था गर्ने तथा शैक्षिक संस्थाको गुणस्तर सुधार गर्ने नेताहरुको जिम्मेवारी र कर्तव्य भएको उनको भनाइ थियो ।
पुनले आफू ऊर्जामन्त्री हुनुअघि जिल्लामा २० प्रतिशत मात्र विद्युतीकरण भएको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरहरुमा विद्युतीकरण पुगेको बताए । बाँकी २० प्रतिशत घरहरुमा पनि आगामी डेढदेखि २ वर्षभित्र बिजुली पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिए । एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकबाट ऋण र सहयोग लिएर रोल्पामा विद्युतीकरणको काम अघि बढाएको पुनले बताए ।
नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले रोल्पामा विद्युतीकरणको काम तीव्र गतिमा भएको बताए ।