आजको मौसम- काठमाडौंसहित यी स्थानमा हुनसक्छ वर्षा

मूलखबर संवाददाता
काठमाडौं

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने पानी नपर्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए । “काठमाडौं उपत्यकामा सामान्य बदली रहनेछ । तर वर्षाको सम्भावना भने छैन,” उनले मूलखबरसँग भने ।

विभागका अनुसार राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।