कहिले होला चीनको अर्थतन्त्र विश्वको नम्बर एक !
अमेरिका र चीनमध्ये कुन पहिलो अर्थतन्त्र हो भन्ने विषयमा विश्वव्यापी बहस चलिरहेको छ । त्यसैक्रममा फाइनान्सियल टाइम्स पत्रिकाले हालै प्रकाशन गरेको रिपोर्टमा अमेरिकी अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको र चिनियाँ अर्थतन्त्रको उन्नति भइरहेको विश्लेषण गरेको छ ।
पर्चेजिङ पावर प्यारिटीको मापदण्डमा चीनको कुल गार्हस्थ्य उत्पादनले अमेरिकालाई उहिल्यै पछि पारिसकेको सन्दर्भमा अहिले त्यो २२ प्रतिशतले बढिसकेको विश्लेषक क्रिस जाइल्सको ठोकुवा छ ।
त्यसो त दी इकोनोमिस्ट पत्रिका अहिले पनि अमेरिका नै पहिलो अर्थतन्त्र भएको दाबी गरिरहेको छ । गत मे महिनामा प्रकाशित उसको विश्लेषणमा चिनियाँ अर्थतन्त्रको द्रुत प्रगति अन्त्य हुन थालेको उल्लेख छ । उसले चीनको अर्थतन्त्र सबभन्दा ठूलो भएछ भने पनि त्यसको अग्रता सानै रहने प्रक्षेपण गरेको छ ।
वास्तवमा आर्थिक तथ्यांकहरूको विश्लेषणमा विभिन्न विधि अपनाइने गरेकाले यही हो भनी निश्चित गर्न सकिँदैन । तर प्रभावशाली विश्लेषकहरूको लेखोटको अध्ययन गर्दा चीनको कुल गार्हस्थ्य उत्पादन अमेरिकाको भन्दा निकै विशाल भइसकेको र त्यसमा थप वृद्धि भइरहेको देखिन्छ ।
पश्चिममा कतिपय मूलधारे सञ्चारमाध्यमले चीनको भन्दा अमेरिकाको अर्थतन्त्र ठूलो रहेको भनी दाबी गर्दा डलरको प्रभुत्वलाई मापदण्ड बनाएका हुन् । तर यथार्थ के हो भने काठमाडौंमा एक डलर खर्च गर्दा जति वस्तु खरिद गर्न सकिन्छ, न्युयोर्कमा त्यति नै सामान किन्न सकिन्न ।
यसलाई पीपीपीको बास्केट्स अप गूड्स दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ । अर्थात्, उही वस्तु खरिद गर्नका लागि एक मुलुकको मुद्रा अर्को मुलुकको मुद्रामा कन्भर्ट गर्दा आउने विनिमय दर नै पीपीपी हो । यस अवधारणाअनुसार, दुई मुलुकमा विनिमय दरलाई विचार गर्दा बास्केट अफ गूड्सको मूल्य बराबर हुन आउँछ भने तिनीहरूको मुद्रा समान हैसियतको मानिन्छ ।
इकोनोमिस्टको विश्लेषण नै हेर्दा पनि अमेरिकामा १०० डलर पर्ने सामान वा सेवालाई चीनमा ६० डलर मात्र पर्ने उल्लेख गरिएको छ । वस्तुको भाउमा यस्तो ठूलो अन्तर रहेको यथार्थलाई विचार नगरी इकोनोमिस्टले अमेरिकाको आर्थिक सर्वोच्चताको दाबी गर्नु उचित ठहरिँदैन ।
त्यसैले डलरको मूल्य कति छ भन्ने आधारमा दुई देशको अर्थतन्त्रको तुलना गर्नुको साटो कुनै देशको पीपीपीका आधारमा उसको कुल गार्हस्थ्य उत्पादनको मापन गर्न सकिन्छ । पीपीपीका आधारमा चिनियाँ अर्थतन्त्र अमेरिकाभन्दा २५ प्रतिशत ठूलो भइसकेको आँकडा अर्थशास्त्री डीन बेकर प्रस्तुत गर्दछन् ।
त्यही पीपीपीको आँकडा उपयोग गरी विश्व बैंकले चिनियाँ अर्थतन्त्र अमेरिकाको भन्दा १८.८ प्रतिशत ठूलो भएको उल्लेख गरेको छ । अमेरिकी गुप्तचर निकाय सीआईए आफ्नो द वर्ल्ड फ्याक्टबूकमा समेत अमेरिका र चीनको अर्थतन्त्रमा १६ प्रतिशतको अन्तर रहेको र चीन ठूलो बनिसकेको स्वीकार गरेको छ ।
खासमा पश्चिमाहरूले कुल गार्हस्थ्य उत्पादनको आँकडालाई तोडमरोड गरेर प्रस्तुत गर्ने भएकाले अहिलेसम्म अमेरिकी अर्थतन्त्र नै पहिलो नम्बरको हो भनी दाबी गरिरहेका हुन् । अर्थशास्त्री फादी लामाको पुस्तक ह्वाई द वेस्ट कान्ट विनमा उल्लेख भएअनुसार, सेवा क्षेत्रको योगदानलाई बढाइचढाइ प्रस्तुत गरी पश्चिमाहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादन बढी भएको देखाउँछन् ।
त्यसमाथि उनीहरूले लागूऔषध कारोबार, यौनकर्म र तस्करी जस्ता अनौपचारिक अर्थतन्त्रका आर्जनहरूलाई पनि कुल गार्हस्थ्य उत्पादनमा समावेश गरी कुल गार्हस्थ्य उत्पादनको आकार बढी देखाउने गरेका छन् ।
यससँगै पश्चिमाहरूले सन् २०१५ को चिनियाँ कुल गार्हस्थ्य उत्पादनको आँकडालाई आधार वर्ष मान्ने र अमेरिकाको चाहिँ यही वर्षको आँकडालाई लिने गरेर समेत भ्रम छर्ने गरेका छन् । चीनको पनि ताजा आँकडालाई विश्लेषणमा समावेश गरिने हो भने कुल गार्हस्थ्य उत्पादनमा लगभग १० प्रतिशतले वृद्धि हुन आउने विश्लेषकहरू बताउँछन् ।
यसरी चीनको कुल गार्हस्थ्य उत्पादन अमेरिकाको भन्दा बढी छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको आँकडा हेर्दा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा पनि चीन अहिले अमेरिकाभन्दा अब्बल देखिएको छ । विगत एक दशकमा चीनले अमेरिकाको भन्दा लगभग ३ प्रतिशतले वृद्धि गरेको कोषको आँकडाले नै देखाउँछ ।
अझ, विगत एक दशकमा विश्वको कुल गार्हस्थ्य उत्पादनको वृद्धिमा चीनको योगदान ३१.७ प्रतिशत छ भने अमेरिकाको जम्मा ९.७ प्रतिशत छ । यी आँकडाहरूको मापदण्डलाई आधार बनाउँदै प्रक्षेपण गर्ने हो भने पनि चीनको आर्थिक वृद्धिमा व्यापक सुस्तता आउँदाको खण्डमा समेत अमेरिकाको भन्दा उसको अर्थतन्त्र माथि नै रहने देखिन्छ ।
घरजग्गा व्यवसाय संकट लगायतका कारणले चीनको अर्थतन्त्र अब सुस्त बन्दै गएको भनी दी इकोनोमिस्ट लगायतका पश्चिमा सञ्चारमाध्यमले वर्णन गरेको भए पनि वास्तविकता त्यसभन्दा फरक छ । फरेन अफेयर्स पत्रिकाको गत फेब्रुअरी महिनामा प्रकाशित आलेखमा उल्लेख भएअनुसार, चीनले विगत दुई दशकमा विशाल तथा उच्च अनुभवप्राप्त दक्ष जनशक्ति विकसित गरिसकेको छ । त्यस जनशक्तिलाई उसले उच्च प्राविधिक उद्योगहरूमा उपयोग गर्ने क्षमता हासिल गरिसकेको छ ।
यसैलाई इंगित गर्दै अमेरिकी अर्बपति इलोन मस्कले चीनमा विशाल संख्यामा बुद्धिमान् र परिश्रमी मानिसहरू छन् भनी केही समयअघि टिप्पणी गरेका थिए । चीनले एआई, सेमीकन्डक्टर, क्वान्टम कम्प्युटिङ लगायतका भविष्यका प्रविधिमा अग्रणी मुलुक बन्नका लागि लामो समयदेखि बनाएको रणनीति र क्षमता विकासलाई गहिरो गरी अध्ययन गर्ने हो भने ऊ अमेरिका भन्दा अझै द्रुत गतिमा प्रगति गर्ने देखिन्छ ।
चीनको अर्थतन्त्रमा दिनानुदिन प्रगति हुँदै जानु अनि अमेरिकाको अर्थतन्त्र चाहिँ सुस्त बन्दै जानुको कारण खोज्दा भूराजनीतिक निर्णय जिम्मेवार देखिन्छ ।
सन् १९९० को दशकको आरम्भमा शीतयुद्ध अन्त्य भएपछि अमेरिका एकल महाशक्ति बन्यो । त्यसपछि उसले सोभियत संघ जस्तो अर्को प्रतिस्पर्धी अब कहिल्यै जन्मन सक्दैन भन्ने भ्रम पाल्दै चीनलाई आफूअनुकूल ढाल्न सकिने अनुमानका साथ सन् २००१ मा विश्व व्यापार संगठनमा आबद्ध गरायो ।
विश्व व्यापार संगठनमा आबद्ध भएको एक दशक पनि नबित्दै चीनले अमेरिकातर्फ पहिलेको भन्दा पाँच गुणा बढी निर्यात गर्न थाल्यो । चीनबाट आएका सस्ता मूल्यका सामानले गर्दा अमेरिकाको मध्यम तथा निम्न वर्गका मानिसलाई राहत त भयो । तर नवउदारवादी नीतिका साथ अमेरिकाले आफ्नो उद्योगलाई धराशायी बनाउँदै चीन तथा अन्य मुलुकमा कारखाना खोल्ने अनि चिनियाँ सामानको बाढीले आफ्नो बजारलाई बगाउने काम गरेसँगै वित्तीयकरण गरिएको अर्थतन्त्रलाई बढावा दिँदा अमेरिकी अर्थतन्त्र खोक्रो बन्दै गयो ।
उता अमेरिकासहित संसारभरि व्यापार गर्न पाएको चीनको विदेशी मुद्रा सञ्चिति सन् २००१ मा जम्मा २०० अर्ब डलर रहेकोमा सन् २०१३ मा आइपुग्दा ४० खर्ब डलर पुगिसकेको थियो । आफूसँग भएको त्यही विशाल सञ्चितिका कारण चीनले राष्ट्रपति सी चिनपिङको महत्त्वाकांक्षी बेल्ट यान्ड रोड इनिशिएटिभ आरम्भ गर्न सक्यो । त्यसैमार्फत विभिन्न मुलुकहरूमा भौतिक संरचना निर्माण गरेर सीले युरेसिया क्षेत्रमा बेइजिङको दबदबा बढाउन योगदान गरे ।
चीन यसरी विश्वमा व्यापार अभिवृद्धि गर्नुका साथै युरेसियाली क्षेत्रमा भौतिक संरचना निर्माणमा केन्द्रित भइरहँदा अमेरिका चाहिँ अरबमा रहेको तेलमा कब्जा जमाउन इराक र अफगानिस्तानमा विनाशकारी युद्धमा होमिएको थियो । हतियार कम्पनीहरूलाई व्यापक नाफा दिलाएर देशको अर्थतन्त्र सीमित वर्गलाई धनी बनाउनका लागि दोहन गरिँदा अमेरिकामा आय असमानता ह्वात्तै बढेर गयो । त्यसैक्रममा घरजग्गा व्यवसाय संकटका कारण आएको आर्थिक मन्दीपछि अमेरिकाको अर्थतन्त्र द्रुत गतिमा अवनतिको बाटोमा छ ।