अमेरिकी प्रभूत्व अन्त्यको सुरुवात, रुस र चीनबीच डलर प्रयोग नगर्ने सहमति

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकाको एकध्रुवीय व्यवस्थाबाट विश्व क्रमशः बहुध्रुवीयतामा प्रवेश गरिरहेको समकालीन सन्दर्भमा विश्व अर्थतन्त्रमा बलियो पकड राखिरहेको अमेरिकी डलर पनि क्रमशः विस्थापित हुन शुरू गरेको विश्लेषणहरू आउन थालेका छन् ।

बहुध्रुवीय विश्वका दुई महत्त्वपूर्ण केन्द्र रुस र चीन हुन् । विगत एक दशकदेखि यी दुई मुलुकले आआफ्नो अर्थतन्त्रलाई डलरमुक्त (डीडलराइजेसन) गर्न प्रयास गरेका छन् । विशेषगरी अमेरिकाले डलरबाट प्राप्त शक्तिको आडमा आफ्ना विरोधी मुलुकहरूमाथि आर्थिक प्रतिबन्ध लगाउने गरेकोमा त्यसबाट मुक्ति पाउन डीडलराइजेसनलाई अघि बढाइएको हो ।

 

 

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी अमेरिकाको आन्तरिक अर्थतन्त्रमा आएका समस्याका कारण फैलिएको कुरालाई मनन गर्दै त्यसबाट बच्नका लागि समेत चीन र रुसले डलरलाई विनिमय मुद्रा नबनाउनका लागि प्रयास गरिरहेका हुन् । त्यससँगै उनीहरूले विश्वमा आफ्नो प्रभुत्व कायम गर्नका लागि पनि डलरको विकल्पलाई अघि बढाएका हुन् । उनीहरूको यस पहललाई अन्य मुलुकहरूले पनि स्वीकार गरिरहेको देखिन्छ ।

आआफ्नो मुद्रामा कारोबार गर्ने विषयमा बेइजिङ र मस्कोबीच सन् २०१९ मा एउटा सहमति बनेको थियो । उक्त सहमतिअनुसार युआन र रुबलको प्रयोगलाई व्यापक बनाउने भने पनि कारोबार निकै सुस्त छ ।

पछिल्लो पटक रुस र चीनबीच द्विपक्षीय व्यापारमा अमेरिकी डलरको प्रयोग नगर्ने सहमति भएको छ ।

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले दुई देशका सरकार प्रमुखबीचको २८औँ नियमित बैठकमा यस्तो बताएका हुन् ।

मस्को र बेइजिङले द्विपक्षीय सम्झौतामा डलरलाई लगभग पूर्णरूपमा त्यागेको उनले बताएका हुन् ।

“पारस्परिक व्यापार लगभग एक तिहाइले बढेको छ । यस बीचमा अधिकांश भुक्तानी अर्थात् ९० प्रतिशतभन्दा बढी स्वदेशी मुद्रामा भएको छ । जसले आर्थिक सम्बन्धमा लगभग पूर्ण डि–डलराइजेसन (अमेरिकी डलर हटाएको) देखाउँछ,” रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले भने ।

रुस र चीनबीचको द्विपक्षीय व्यापारले निर्धारित समयभन्दा अघि नै २०० अर्ब डलरको आँकडा पार गरेको उनले बताएका छन् ।

कार्नेगी मस्को सेन्टर नामक संस्थाका लागि भिटा स्पिभाकले गरेको विश्लेषणमा उल्लेख भएअनुसार, सन् २०२२ मा रुस र चीनबीच भएको कारोबारमा रुबलको उपयोग जम्मा ५.७ प्रतिशत थियो भने युआन जम्मा ६.३ प्रतिशत । तर उनीहरूले डलरको विकल्पका रूपमा युरोलाई अपनाउन थालेको देखिन्छ ।

सन् २०२२ को अन्तिम चार महिनामा बेइजिङ र मस्कोले गरेको कारोबारमध्ये ८३.३ प्रतिशत युरोमा भएको थियो। यससँगै रुसले अन्य मुलुकहरूसँग गरेको कारोबारमा पनि डलरको स्थान क्रमशः खुम्चिँदै गएको देखिन्छ ।