भुलवश तीनजना बन्धकहरू मारिएको इजरायली सेनाकाे भनाइ
इजरेलको सेनाले गाजामा लडाइँका क्रममा भुलवश तीनजना बन्धकहरू मारिएको जनाएको छ।
उनीहरूलाई “जोखिम”का रूपमा गलत पहिचान हुँदा त्यसो हुन पुगेको इजरेली डिफेन्स फोर्स आइडिएफले जनाएको छ।
ती २८ वर्षीय योतम हइम, २२ वर्षीय समीर तलल्का र र २६ वर्षीय एलोन सम्रिज रहेको जनाइएको छ।
इजरेली सेनाले आत्मग्लानि महसुस गरेको जनाउँदै उनीहरूको उत्तरी गाजामा तैनाथ फौजहरूको गोली प्रहारबाट मृत्यु भएको जनाएको छ।
इजरेलमा ७ अक्टोबरमा भएको हमलापछि नियन्त्रणमा लिइएकामध्ये १०० भन्दा धेरै अझै गाजामा बन्धक अवस्थामा छन्।
आइडिएफले शुक्रवारको घटना अनुसन्धानका क्रममा रहेको बताउँदै “त्यस दुखद घटनालाई लिएर गहिरो आत्मग्लानि व्यक्त गरेको र उनीहरूका परिवारलाई समवेदना जनाइएको” उल्लेख गरेको छ।
जसमा थप भनिएको छ: “हाम्रो राष्ट्रिय उद्देश्य हराइरहेकालाई खोज्ने र सबै बन्धकहरूलाई घर फिर्ता ल्याउने छ।”