गाजा युद्ध कहिलेसम्मः इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीको फरक आँकलन

मूलखबर संवाददाता
काठमाडौं

गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

साथै आक्रमणमा दर्जनौं घाइते भएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्‍याइएको छ ।

गाजा शहरको केन्द्रमा रहेको अल-दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।

गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले उत्तरी गाजा पट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० जना मेडिकल स्टाफलाई गिरफ्तार गरेको मन्त्रालयले जनाएको छ। इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहबीच लडाइँ जारी छ ।

अक्टोबर ७ मा हमास-इजरायल द्वन्द्व सुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या १८ हजार ६०० पुगेको छ ।

युद्ध लम्बिनेवाला छ- इजरायल
इजरायलले हमाससँगको युद्ध थप केहि समय लम्बिने बताएको छ । गाजामा युद्ध रोक्न अन्तर्राष्ट्रिय दबाब बढिरहदा इजरायलले हमास पराजित नभएसम्म युद्ध नरोकिने चेतावनी दिएको हो ।

रक्षामन्त्री योभ गालान्टले हमाससँगको युद्ध अझै केहि महिना टिक्ने बताएका छन् ।

रक्षामन्त्रीको भनाईलाई पुष्टि हुने गरि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमाससँगको विजय धेरै टाढा नभएकाले युद्ध चाडै सकिने बताए । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको जीवन कसरी बचाउने भन्नेमा ध्यान दिन इजरायललाई आग्रह गरेका छन् ।

गाजाको दोस्रो सहर खान युनिसमा इजरायलले भूमिगत आक्रमणलाई तिब्रता दिएको छ । गाजा भरि इन्टरनेट र फोन नेटवर्क काटिएका छन् ।