राष्ट्रियसभामा नयाँ नेतृत्वको पर्खाईः कांग्रेसबाट कसको नाम छ चर्चामा
माघ ११ गते हुने राष्ट्रियसभा चुनावले सभाका लागि आगामी नेतृत्व पनि चयन गर्दै छ।
प्रतिपक्षी एमालेसँग प्रतिस्पर्धा गर्न लागेको सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार उठाउँदै छ । नेताहरू टिकटका लागि दाैडधुपमा छन् । गठबन्धनको पल्ला भारी हुने देखिएको चुनावमा टिकटका लागि मात्र होइन अध्यक्ष हुनका लागि पनि नेताहरू शीर्ष नेताका हेडक्वार्टर धाउन थालेका हुन् ।
आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ दलहरूबीच भागबन्डामा भएको सहमतिअनुसार १९ सीटमध्ये कांग्रेसले ८ वा ९, माओवादी केन्द्रले ६, नेकपा एसले २ वा ३ र जसपाले १ सदस्य पाउनेछन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ९ सिट गुमाउने निश्चितप्रायसँगै राष्ट्रियसभा अध्यक्षको लागि कांग्रेसको पल्ला भारी देखिएको छ। राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यको सीट कांग्रेसले पाउने बढी संभावना छ। आगामी फागुन २० गते राष्ट्रियसभाका २० सांसद ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका छन्। उनीहरू बिदा हुनुअगाडि नै माघ ११ मा राष्ट्रियसभामा खाली हुने २० मध्ये १९ सिटका लागि निर्वाचन गर्न लागिएको हो।
२० सदस्यमध्ये एक मनोनीतबाहेकका १९ सिटमा सबैभन्दा बढी बागमतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३/३, कोशी, मधेश र लुम्बिनीबाट २/२ सिटका लागि निर्वाचन हुन लागेको हो। यसरी निर्वाचित हुने पदमा महिला,अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यतर्फबाट निर्वाचित गर्नुपर्ने हुन्छ।
राष्ट्रिय सभामा एमालेका ९ सांसद (राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित) बाहिरिँदै छन्। नयाँ नेतृत्व आवश्यक रहेकाले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ लगायतको नाम राष्ट्रियसभा अध्यक्षका लागि चर्चामा छ।
सिटौलाको राजनीति फर्काउने दाउ
सिटौलालले यसअघिको राष्ट्रपति निर्वाचनमा पनि आफ्नो दाबी गरेका भए पनि त्यो बेला उच्च नेतृत्वबाट सुनुवाइ हुन सकेन। उनी ७९ सालको चुनावमा झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । सक्रिय राजनीतिमा बलियो पुनरागमन गर्न कांग्रेसमा तेस्रो धार ब्युँताउने प्रयास पनि उनले गरेका छन् । राजनीतिक जीवनको उत्तरार्धमा संवैधानिक पद लिएर राजनीतिक इतिहास बनाउन चाहन्छन् सिटौला ।
पछिल्लो समय उनी राष्ट्रिय र पार्टी राजनीतिमा निष्क्रियजस्तै छन्। सिटौला राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष बनेसँगै संवैधानिक परिषदमा समेत सहभागी हुन पाइने भएपछि सिटौला यसपटक पनि यसका लागि दौडधुपमा छन्।
श्रेष्ठको पनि उस्तै अपेक्षा
गोपालमान श्रेष्ठ सभापति देउवानिकट व्यक्ति हुन् । पार्टीभित्र वरिष्ठ नेतामा पनि उनको दाबी छ । राष्ट्रपतिको उम्मेदवार बन्नसमेत आकांक्षा देखाएका श्रेष्ठ सक्रिय राजनीतिबाट ढाटा रहन चाहँदैनन् । उनले संवैधानिक पदको दाबीसमेत गरिरहेका छन् । राष्ट्रियसभाको अध्यक्ष बन्नेसमेत उनको आकांक्षा छ ।
को को बन्न चाहन्छन् सदस्य
राष्ट्रियसभा सदस्यमा कांग्रेसबाट आकांक्षीमा प्रदेश सभापतिदेखि चुनाव हारेकासम्म आकांक्षी छन् । २०७९ सालको संघीय चुनावमा टिकट नपाएका मिनेन्द्र रिजाल, चुनाव हारेका कृष्ण सिटाैलादेखि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मासम्म कांग्रेसमा आकांक्षी छन् ।
कांग्रेसबाट गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, सुजाता कोइराला, डिना उपाध्याय, शुक्रराज शर्मा, गोविन्द पोखरेल, मीन विश्वकर्मा, फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना, भरत शाह लगायतका आकांक्षी छन् ।
कांग्रेसका प्रचार विभाग प्रमुखसमेत रहेका मीन विश्वकर्माले २०७९ सालको चुनावमा टिकट पाएनन् । दलित समुदायबाट बलियो नेता भएर पनि उनले टिकट नपाएकोमा नेतृत्वको चर्को आलोचना भएको थियो । समावेशी पनि हुने र अघिल्लोपटक दलित समुदायमाथि टिकटमा गरिएको ‘अन्याय’को घाटा पूर्ती गर्ने एक मात्र पात्रको रूपमा विश्वकर्मालाई पार्टीभित्र लिइएको छ । पार्टीले जिम्मेवारी दिए लिने र आफैँले हुनैपर्छ भन्ने पक्षमा भने विश्वकर्मा छैनन् ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पनि २०७९ सालमा मकवानपुर १ बाट चुनाव हारिन् । पार्टीबाट अन्तर्घात भएकाले चुनाव हारेको निष्कर्षमा पुगेकी डिना राष्ट्रियसभामा गएर प्रभावकारी भूमिका निभाउन चाहन्छिन् । पार्टीमा पनि एक मात्र महिला पदाधिकारी डिनालाई महिला नेतृहरूमा प्रभावकारी मानिन्छ ।
पार्टी सहमहामन्त्री फरमुल्लाह मन्सुर र आनन्द ढुगनाबीच मधेश प्रदेशमा कसले टिकट पाउने भन्ने प्रतिस्पर्धा छ । उनीहरू दुवै सभापति देउवानिकट हुन् ।
केन्द्रीय सदस्य गोविन्द पोखरेलले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा जान चाहन्छन् । यो प्रदेशमा किरण कोइराला, मनोजमणि आचार्य, भरत शाह चर्चा छ । त्यस्तै, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा पनि राष्ट्रियसभामा जान चाहन्छन् । उनी राष्ट्रपतिको उम्मेदवारसमेत बन्न चाहन्थे ।