राष्ट्रियसभामा कमजाेर बन्दै एमाले, के छ गठबन्धनको तयारी ?
अहिले नेकपा एमाले प्रमुख प्रतिपक्षमा छ। संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको सबैभन्दा ठूलो दल हो, एमाले । राष्ट्रियसभामा एमालेका अध्यक्षसहित १७ सांसद् छन् । तर, माघ दोस्रो साता हुने निर्वाचनमा सत्ता गठबन्धन एक ठाउँमा उभिए उसको शक्ति खुम्चने छ ।
राष्ट्रियसभामा गोलप्रथाबाट ६ वर्षे अवधि तोकिएकाहरूको पदावधि सकिने लागेपछि माघ ११ गते चुनाव हुँदैछ । आउँदो फागुन २० गतेबाट राष्ट्रियसभाका २० जना सदस्यहरूको पद रिक्त हुँदैछ । जसमध्ये एक पद मनोनित र १९ सदस्य निम्ति निर्वाचन हुनेछ ।
सदस्यहरूको पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार निर्वाचन माघमा निर्वाचन हुने लागेको हो । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार, पुस २३ गते उमेदवारी मनोनयन गर्नुपर्नेछ । सत्ता गठबन्धनमा रहेका दलहरू गठबन्धनमार्फत नै चुनावमा जाने मनस्थितिमा छन् ।
कस कसको सकिँदैछ पदावधि
राष्ट्रिय सभामा पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टी (जसपा) का एक र स्वतन्त्र १ र मनोनित दुई जना छन् ।
एमालेबाट निर्वाचित राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुहार, रामचन्द्र राईको कार्यकाल सकिन लागेको हो ।
त्यस्तै, कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदैछन् । माओवादीका महेशकुमार महरा, विना पोखरेल र हरिराम चौधरी फागुन २० बाट बिदा हुँदैछ ।
एकीकृत समाजवादीका नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल सकिन लागेको हो । राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पदावधि पनि सकिँदैछ । पौड्याल एमालेकै कोटामा मनोनित भएकी थिइन् ।
के छ गठबन्धनको तयारी
सत्ता गठबन्धनले भागवण्डा गरेर राष्ट्रियसभा चुनावका लागि उम्मेदवार उठाउँदै छ । निर्वाचन हुने १९ सिटमा सत्ता गठबन्धनबीच मोटामोटी सहमति भइरहेको छ । सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच सिट बाँडफाँट हुने कांग्रेसका एक पदाधिकारीले मूलखबरलाई बताए । उनका अनुसार सत्ता साझेदार दल जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतले राष्ट्रिय सभा निर्वाचनमा भाग पाउने छैनन् ।
जुन पार्टीको जहाँबाट सिट खाली हुँदै छ, त्यो सिटमा सो पार्टीको स्वत: हकदाबी रहन्छ । त्यसबाहेक एमालेबाट पदावधि सकिएका ८ सिटमा गठबन्धनको खिचातानी हुनेछ । एमालेका बागमतीबाट २, गण्डकीबाट २ लुम्बिनीबाट १, कर्णालीबाट २ र सुदूरपश्चिम प्रदेशबाट एक जनाको पदावधि सकिँदै छ ।
प्रचण्डको युएई भ्रमणअघि भएको छलफलमा प्रमुख चार दलबिच सिट बाँडफाँटमा मोटामोटी सहमति भएको छ । जसमा कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जसपाले १ पाउने छ । फागुन १९ मै राष्ट्रपतिबाट मनोनीत एक जनाको पनि पदावधि सकिँदै छ । उक्त सिट कांग्रेसले पाउने छ ।
कांग्रेसले कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक–एक सिट पाउने छ भने बागमती र गण्डकीमा दुई–दुई सिट पाउने छ । यस्तै माओवादी केन्द्रले, कोशी, बागमती, गण्डकी र कर्णालीमा एक–एक र सुदूरपश्चिममा दुई सिट पाउने छ । यस्तै एकीकृत समाजवादीले बागमतीमा २ र कर्णालीमा एक सिट पाउने छ ।
राष्ट्रियसभा निर्वाचनका मतदाता प्रदेशसभाका सांसद र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगर, महानगरपालिकाका प्रमुख तथा उपप्रमुख हुन् । जनसंख्याका आधारमा उनीहरूको मतभार छुट्टाछुट्टै गणना हुन्छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभाका सदस्यहरूको मतभार ५३ र स्थानीय तहका मतदातको मतभार १९ गणना हुनेछ । यसरी हेर्दा सबैतिर गठबन्धनको पल्ला भारी छ।