किन बजिरहेको छ मिसन-८४ को बेमौसमी बाजा, काम गर्ने कि फेरि कुरा !

मूलखबर संवाददाता
काठमाडौं

२०७९ मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभाको चुनाव सकिएको वर्ष दिन मात्रै पूरा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुनै बाँकी छ। पुस १० गते मात्र प्रचण्डले एक वर्ष पूरा गर्ने छन्।

जनताले चुनेका प्रतिनिधि तथा ती प्रतिनिधिले बनाएको सरकारले जनताको सेवा गर्न अझै पूरा ४ वर्ष बाँकी छ। तर, अनौठो कुरा अहिले नै केही दलहरू २०८४ को चुनावको तयारीमा जुटेर मध्यावधि चुनावको पनि चर्चा गर्न थालेका छन्। खासगरी विपक्षमा रहेका केपी ‌ओली नेतृत्वको नेकपा एमाले र रवि लामिछानेको स्वतन्त्र पार्टीले चुनावको चर्चा बढाएका छन्।

फाइल तस्विर

यी दुई नेताबीच पछिल्ला दिनमा मध्यावधि चुनाव चर्चामा भाका मिलिरहेको छ । अहिले गर्नुपर्ने काम र अरू विषयलाई थाती राखेर चुनावी एजेन्डामा ध्यान दिनुपर्ने बाध्यता दलहरूलाई छैन। प्रतिनिधि सभा विघटन भएर मध्यावधि निर्वाचन घोषणा भएको अवस्थाबाहेक आवधिक निर्वाचनका लागि ४ वर्ष बाँकी छ।

एमाले अध्यक्ष ओलीले अघिल्लो साता पार्टीको छैटौं केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा अकस्मात् मध्यावधि चुनावको प्रसंग निकाल्दा सहभागीहरु छक्क परेका थिए । पार्टी मुख्यालय च्यासलमा ६ मंसिरमा ओलीले भनेका थिए, ‘देशमा जुन खाले राजनीतिक, साँस्कृतिक र आर्थिक विचलन बढ्यो, त्यसलाई हेर्ने हो भने हामी मिसन ८४ भन्दै टुलुटुलु हेर्दै बस्ने कुरा आउँदैन । सत्ता गठबन्धनले यसैगरी असक्षमता देखाउँदै गयो भने हामी मध्यावधि चुनावसम्म जानलाई पनि तयार हुनुपर्ने हुन्छ ।’

मिसन ८४’ भन्दै अभियान चलाउने मध्य अग्रस्थानमै छ – प्रमुख प्रतिपक्षी दल एमाले। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनपछि फागुन र चैतमा एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो। राजनीतिक समीकरणमा परिवर्तन आएपछि फागुन १२ मा सत्ता गठबन्धनबाट एमाले बाहिरिएको थियो। अहिले पनि एमाले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा छ। मंसिर १४ देखि पुस १ सम्म एमालेले बैतडीको झुलाघाटदेखि २६ जिल्ला हुँदै पाँचथरको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा सुरु गरेको छ।

पहाडमा खस्किन लागेको जनधारलाई सुधार गर्न एमालेले अभियान सुरु गरेको छ। एमालेले राष्ट्रिय मुद्दालाई छाडेर चुनावी तयारीलाई कति प्राथमिकता दिन थालेको छ भने प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको मंसिर ५ को गोलमेच सम्मेलनलाई बहिष्कार गरेर एमालेका अध्यक्ष केपी शर्मा ओली पर्साको आमसभामा सहभागी भएका थिए।

ओलीकै लोलीमा बोली मिलाउँदै संसदको चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछानेले बुधबार राति महोत्तरीमा मध्यावधि चुनावको प्रसंग कोट्याए । लामिछानेले बैठकमा भनेका थिए, ‘हामीले मिसन ८४ कै तयारी गर्ने हो, तर ठूला भनिने दलहरुभित्र रडाको सुरु भएको छ । यिनीहरुले झगडाका क्रममा आफ्ना दल नै फुटाउन सक्छन् । परिस्थितिले बीचैमा मध्यावधिमा पुर्‍याउन सक्छ, तयार बसौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि २०८४ कै निर्वाचनको तयारी स्वरूप मंसिर ३, ४ र ५ गते ‘जनकेन्द्रित राजनीतिको आधार: घरदैलोमा जनतालाई आभार’ शीर्षकमा निर्वाचन क्षेत्र केन्द्रित घरदैलो अभियान चलाएको थियो। उक्त अभियानपछि अहिले रास्वपाको ध्यान मधेस प्रदेशमा केन्द्रित छ।

रास्वपाको केन्द्रीय समितिको पछिल्लो बैठक नै महोत्तरीको जलेश्वरमा बसेको थियो। रास्वपका केन्द्रीय सदस्य गणेश पराजुलीले मधेशमा रास्वपाको जनधारलाई बलियो बनाउने गरी पार्टीले अभियान चलाउन थालेको बताए। ‘अरू ठाउँमा पनि हामीले नगर्ने भन्ने होइन तर मधेशमा अलि जोड दिएरै हामी अघि बढ्ने पक्षमा छौं,’ उनले भने।

ओली र लामिछाने दुवैले मध्यावधि चुनावमा पुगिने संवैधानिक आधार भने दिन सकेका छैनन् । किनभने संविधानको धारा ७६ (२) अन्तर्गत बनेको प्रचण्ड सरकार कदाचित ढल्ने अवस्था आएमा अर्को सरकार गठनका लागि ७६ (३) विकल्प बाँकी नै रहन्छ, जहाँ राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

ती प्रधानमन्त्रीले समेत विश्वासको मत नपाएमा धारा ७६ (५) अन्तर्गत प्रतिनिधिसभाको कुनै पनि सदस्यले विश्वासको मत पाउने आधार देखाएर प्रधानमन्त्री नियुक्त हुन सक्छन् । ती प्रधानमन्त्रीले समेत विश्वास नपाएमा बल्ल देश मध्यावधिमा जान सक्छ ।

कांग्रेस- माओवादी छैनन् चुनावको पक्षमा

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका लागि मिसन २०८४ जरुरी नरहेको बताएका छन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उद्घाटन सत्रलाई

सम्बोधन गर्दै उनले अहिले केही पुराना र नयाँ दलहरुले मिशन २०८४ का नाममा गरेको कार्यक्रम नेपाली कांग्रेसका लागि जरुरी नभएको बताएका हुन्।

महामन्त्री शर्माले अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्ने बताए। उनले हिजोको अवस्थामा मुलुको विकासका लागि राजसंस्थाले गरेका काम र अहिलेको विकासको अवस्थाका विषयमा पनि समीक्षा गरेर समाजलाई बुझाउनुपर्ने जिम्मेवारी आएको बताए। शर्माले पार्टीलाई उत्पादनमा लगाउनुपर्ने नेताका हरेक पक्षमा साथ दिन जनसङ्गठन र पार्टीलाई क्रियाशील बनाउन आग्रह गरे।

यद्यपि विपक्षी दलहरुले मध्यावधि निर्वाचन माग्नु स्वाभाविक भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन् ।

उनले भने, ‘बहुमतको सरकार हुँदा पनि काम गर्न सकेन अब निर्वाचनमा जाऔं र अर्को सरकार बनाउँ भन्छ । अहिले संसदमा कसैको बहुमत छैन । यस्तो बेलामा उहाँहरुले यो हल्ला चलाउनु स्वाभाविक हो ।’

सत्ता गठबन्धनमा रहेका दलहरु मध्यावधिको पक्षमा कोही पनि नभएको उनले बताए । उनले सम्भव भएसम्म कांग्रेसले सरकार टिकाएर पाँच वर्षसम्म संसद चलाउने जिकिर गरे ।

नेता विश्वकर्माको भनाइमा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल पनि सहमत छन् ।

उनी भन्छन्, ‘चुनाव भएको अहिले एक वर्षमात्रै भएको छ, कहाँ मध्यावधिको सम्भावना हुन्छ ? देशले थेग्नै सक्दैन । आर्थिक प्रणाली अझै सुधार हुन सकेको छैन । अहिले कुनै सन्दर्भ र प्रसंग मिल्ने कुरै छैन । उहाँहरुले किन निकाल्नुभो थाहा छैन ।’