युरोपमा चरम दक्षिणपन्थको डरलाग्दो लहर

मूलखबर संवाददाता
काठमाडौं

गिडियन राकमन

गिर्ट विल्डर्सलाई राजनीतिमा सफल हुनै निकै लामो समय लाग्यो। यी डच नेतालाई मैले सन् २००४ मा भेटेको थिएँ। त्यतिबेला उनी आफ्नै राजनीतिक दल खोल्ने तयारी गरिरहेका थिए। इस्लाम र आप्रवासीहरुको निन्दा गरेका कारण उनी त्यसअघिदेखि नै निसानामा परिसकेका थिए। उनी गुप्त ठेगानामा अंगरक्षकहरुबाट घेरिएर बस्न बानी पर्दै थिए। ‘म भद्रगोलमा फसेजस्तो महसुस गर्छु,’ उनले त्यसबेला मलाई भनेका थिए।

लगभग दुई दशकपछि अहिले विल्डर्स सानो भूमिका खेल्ने व्यक्तिबाट मुख्य अभिनेता बनेका छन्। हालै भएको नेदरल्यान्ड्सको चुनावमा उनको फ्रिडम पार्टीले सबैभन्दा बढी सिट जितेको छ। अझै पनि गठबन्धन सरकार निर्माण गरेर प्रधानमन्त्री बन्न विल्डर्सलाई कठिन हुनेछ। तर, उनले अभूतपूर्व सफलता प्राप्त गरिसकेका छन्। 
उनको यो सफलता युरोपव्यापी प्रवृत्तिको एउटा हिस्सा मात्र हो। कुनै समय सीमान्त राजनीतिक समूह मानिने चरम दक्षिणपन्थी पार्टीहरुले लोकप्रियता हासिल गरिरहेका छन्। केही मुलुकमा त उनीहरुले सत्ता पनि हात पारेका छन्।

हंगेरीका भिक्टर अर्बान सबैभन्दा लामो समय पदमा टिक्ने ईयू नेता बनिसकेका छन्। जर्जिया मेलोनीले इटलीको प्रधानमन्त्रीका रुपमा भर्खरै पहिलो वर्ष पूरा गरिन्। चरम दक्षिणपन्थी विचार बोक्ने पपुलिस्ट नेता रोबर्ट फिको स्लोभाकियाको प्रधानमन्त्रीमा बहाल भएका छन्। स्विडेन डेमोक्र्याट्स त्यहाँको संसदमा दोस्रो ठूलो दल हो, जसले सत्तारुढ गठबन्धनलाई सघाइरहेको छ।

जर्मनी र फ्रान्समा पनि चरम दक्षिणपन्थीहरुले पकड बढाउँदै लगेका छन्। अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले अहिले चुनावहरुमा लगातार २० प्रतिशतभन्दा ज्यादा मत पाउँछ। जसका कारण सो पार्टी जर्मनीको दोस्रो लोकप्रिय दल बन्न पुगेको छ। हालै लन्डन भ्रमणमा आएका फ्रान्सका पूर्वराष्ट्रपति फ्रान्स्वाँ अलान्दले मलाई भने, ‘फ्रान्समा चरम दक्षिणपन्थले पारम्परिक दक्षिणपन्थलाई निलिदिएको छ।’ त्यहाँकी चरम दक्षिणपन्थी नेतृ मरिन ले पेनले २०२७ को चुनाव जित्न सक्ने सर्वेक्षणहरुले देखाउँछन्।


यी घटनाक्रमले अवश्य पनि दुई महायुद्धबीचको स्मृति र भय याद गराउँछन्। जतिबेला चरम दक्षिणपन्थले युरोपेली लोकतन्त्रको विनाश गरेको थियो। तर, अहिलेसम्मको प्रमाणले के देखाउँछ भने अहिलेका युरोपेली चरम दक्षिणपन्थीहरु लोकतान्त्रिक व्यवस्थालाई नभत्काई सोहीभित्र काम गर्न सक्छन्।

अस्ट्रिया र इटलीमा चरम दक्षिणपन्थी पार्टीहरु सत्तारुढ गठबन्धनको हिस्सा बनेर सरकारमा आएका छन्। र, चुनाव वा कुनै काण्डपछि सत्ताबाट हटेका छन्। पोल्यान्डको सत्तारुढ ल एन्ड जस्टिस पार्टीले पछिल्ला चुनावहरुमा शक्ति गुमाएको छ र सत्ताच्यूत हुने लगभग पक्का छ।

तथापि, अर्बानको लामो राजनीतिक करिअरले देखाउँछ, चरम दक्षिणपन्थप्रतिको मौनता खतरनाक हुन्छ। अर्बान सन् २०१० मा सत्तामा फर्किए। उनी हालसम्म पनि प्रधानमन्त्री बहाल छन्। न्यायपालिका र सञ्चारमाध्यमको स्वतन्त्रता उनले कमजोर पारेका छन्।

अमेरिकी राष्ट्रपतीय चुनावले पनि युरोपका चरम दक्षिणपन्थीहरुलाई डोनाल्ड ट्रम्पको बोलचाली र तरिका नक्कल गर्न प्रेरित गर्न सक्छ। उदाहरणका लागिः चुनावी नतिजामाथि प्रश्न उठाउनु, सडक हिंसा भड्काउन खोज्नु र आप्रवासीहरुलाई सामूहिक रुपमा फिर्ता पठाउने वकालत गर्नु।

तर, विल्डर्स, मेलोनी र ले पेनजस्ताका लागि ट्रम्प–अर्बान मोडेल नक्कल गर्न कठिन हुनेछ। हंगेरीका नेता अर्बानसँग संवैधानिक व्यवस्थामा परिवर्तन गर्न पुग्ने संसदीय बहुमत छ। जसले उनी शक्तिशाली बनेका छन्। तर, इटलीकी मेलोनी गठबन्धन सरकारको हिस्सा हुन्। विल्डर्सले त्यस्तै बाधा भोग्नुपर्ने हुनसक्छ। फ्रान्सको राष्ट्रपतिका लागि पनि संसदको सहयोगबिना काम गर्न कठिन हुनेछ।

तर, युरोपका चरम दक्षिणपन्थी पार्टीहरुले लोकतन्त्र नै नउल्ट्याए पनि तिनले राजनीतिक बहसको केन्द्रमा आफ्ना मुद्दाहरुलाई उभ्याउन सक्छन्। ती सबैको सबैभन्दा स्पष्ट साझा अडान भनेको आप्रवासनप्रतिको, खासगरी मुस्लिमप्रतिको शत्रुता हो। यसअघि अव्यावहारिक, असह्य र अवैध ठानेर पन्छाइएका उपायहरुमाथि उनीहरुले पुनर्विचार गर्न सक्छन्।

चरम दक्षिणपन्थी पार्टीहरुले किन समर्थन पाए भन्ने प्रश्नको आंशिक जवाफ हो, वैध र अवैध तरिकाले युरोप बसाइँ सर्नेहरुको संख्यामा हालै भएको वृद्धि। यसको प्रतिक्रियामा नेदरल्यान्ड्स र फ्रान्सका सहित थुप्रै मूलधारका राजनीतिकर्मीले आप्रवासनमा ठूलो कटौती गर्नुपर्ने मागमा समर्थन जनाएका छन्।

तर, त्यस्ता खालका भाषणबाजीलाई व्यवहारमा लागू गर्न कति कठिन छ, इटलीकी मेलोनीको अनुभवले दर्शाउँछ। पछिल्लो समय डुंगा चढेर आउने शरणार्थीहरुको संख्यामा भएको व्यापक वृद्धिलाई रोक्न उनी असफल भएकी छन्। अर्कोतिर इटालीलाई आप्रवासी श्रमिक आवश्यक छन् भनेर स्वीकार्न पनि उनी बाध्य भएकी छन् र उनले ईयूबाहिरबाट आउने कामदारहरुलाई दिने भिसाको संख्या बढाएकी छन्।

युक्रेन मामिलामा युरोपका चरम दक्षिणपन्थीमध्ये मेलोनी अलग छिन्। उनी युक्रेनको समर्थनमा छिन्। त्यसविपरीत अर्बान, विल्डर्स, फिको, ले पेन, एफडी र अस्ट्रियन फ्रिडम पार्टी सबैले रुसका भ्लादिमिर साथ मिलेर बस्न जोड दिएका छन्। ब्रसेल्समा तिनको प्रभाव बढ्यो भने त्यो युक्रेनका लागि नराम्रो खबर हुनेछ।

चरम दक्षिणपन्थीहरु सबै ईयूप्रति शत्रुता राख्छन्। ईयूलाई उनीहरु सम्भ्रान्तवादी र ‘भूमण्डलीकरणवादी’ परियोजना भन्छन्। जुन राष्ट्रिय पहिचानका लागि खतरनाक हुने र सामूहिक आप्रवासनका लागि अनुकूल हुने उनीहरुको ठम्याइ छ।

विगतमा विल्डर्स र ले पेनले आआफ्नो मुलुकलाई ईयू छाड्न लगाउने वा युरोपको एकल मुद्रा छाड्ने बताएका थिए। तर, आजभोलि यी मुद्दाले ज्यादा समर्थन पाउँदैनन् (सम्भवतः ब्रेक्जिटका कारण)। त्यसैले उनीहरुले नेक्जिट वा फ्रेक्जिटको कुरा गरेका छैनन्। अर्बान पनि ब्रसेल्सको खुब निन्दा गर्न मन पराउँछन्। तर, उनको निन्दा ईयू छाड्ने ठोस कदममा कहिल्यै बदलिएको छैन।

त्यसैले चरम दक्षिणपन्थी पार्टीहरुले ईयू छाड्ने होइन, यसैभित्रबाट परिवर्तन ल्याउने सम्भावना ज्यादा छ। तिनले यसअघि नै ईयूको मानव अधिकार कानुन र शरणार्थीसम्बन्धी राष्ट्रसंघीय सम्मेलनप्रति ईयूको प्रतिबद्धतालाई निसाना साँध्न थालिसकेका छन्।

चरम दक्षिणपन्थीहरुले राष्ट्रिय चुनाव र अर्को गर्मीमा हुने युरोपेली संसदको चुनावमा महत्वपूर्ण जित हात पार्दै गए कुनै समय युरोपेली परियोजनाको केन्द्रमा मानिने मूल्य र कानुनी प्रतिबद्धतालाई कमजोर बनाउन सक्ने स्थितिमा उनीहरु पुग्नेछन्। आजभन्दा केही वर्षपछि नै ईयू निकै अलग बन्न सक्छ।

फाइनान्सियल टाइम्सबाट साभार तथा अनुदित