पुनर्मिलनको तयारीमा प्रचण्ड-बाबुराम, गौरवशाली विगत सम्झिएर भविष्यका लागि एकता !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एकअर्कासँग अभिन्न रूपमा जोडिएका नेता हुन्।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई करिब सात वर्षपछि मातृपार्टी नेकपा ( माओवादी केन्द्र) सँग ‘एकता’ गर्ने तरखरमा छन् । उनको दल नेपाल समाजवादी पार्टी नेसपाको राजनीतिक समितिको बैठकले बाबुरामकै नेतृत्वमा एकताका लागि समिति समेत बनाइसकेको छ ।
नेसपाका एक नेताका अनुसार पार्टीको नाम र चुनाव चिन्ह आपसी सहमतिमा टुंगो लगाउँदै माओवादी नाम हटाउने सहमति भएपछि एकता प्रक्रियालाई अन्तिम रुप दिन नेसपाका अध्यक्ष भट्टराई राजी भएका हुन्। पार्टीको नाम नेकपा (समाजवादी) राख्ने प्रारम्भिक सहमति भएको छ।
नेसपाका अधिकांश नेताहरु जारी एकता प्रक्रिया टुंगोमा पुर्याउने तयारी गरिरहेको बेला भट्टराई भने एकताका लागि अनिच्छुक देखिएका थिए। प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रियामा अनुदार देखिएको र आफूलाई उपेक्षा गरिएको भन्दै भट्टराई रुष्ट बनेका थिए।
बाबुरामले आफूले परित्याग गरेको ८ वर्षपछि सोही विचाधारा फेरि अवलम्बन गर्दै नेकपा(समाजवादी) नामक पार्टी गठन गरेर पुरानै विचारधारामा समाहित हुन लागेका छन्।
त्यो बेलाका प्रचण्ड बाबुराम
माओवादी जनयुद्धको करिब १ दशक पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराई ‘लालध्वज’ आन्दोलनका ‘ट्रिओ’ जस्ता थिए, त्यसले बनाएको मिथ ‘ट्रिओलजी’ जत्तिकै शक्तिशाली थियो ।
प्रचण्ड पार्टी, संगठन र जनयुद्धका कुशल व्यवस्थापक मानिन्थे । उनी जनमुक्ति सेनाका सर्वोच्च कमान्डर पनि थिए । उनको नाममा पार्टीको सिद्धान्त नै बनेको थियो– प्रचण्डपथ । किरणलाई एक ठूला दार्शनिक, विचारक, निष्ठावान् र क्रान्तिकारी सन्तका रूपमा चित्रित गरिएको थियो ।
डा. भट्टराई भने मास अपिलिङ्ग, जनपरिचालन, बौद्धिक सैद्धान्तिक काम गर्ने र राजनीतिक रणनीति बनाउने कमिसार जस्ता थिए । उनी जनसरकार भनिने क्रान्तिकारी जनपरिषदका अध्यक्षसमेत थिए ।
यसकारण एकताको हुटहुटी
१० वर्षे जनयुद्धका बलमा राष्ट्रिय राजनीतिमा आएदेखि नै प्रभाव जमाएको माओवादीले २०६४ सालमा अभूतपूर्व नतिजा हासिल गरेको थियो ।
प्रत्यक्षका २४० सीटमा १२१ सीट जितेर माओवादीले परम्परागत कांग्रेस र एमालेजस्ता पार्टीविरुद्ध धावा नै बोल्यो । तर, संसदीय राजनीतिको कान्छो खेलाडीका रूपमा माओवादीले जनताबाट पाएको यो अभूतपूर्व समर्थनलाई शक्तिमा बदल्न सकेन । बरु अनुभवविहीनताले सरकारमा कमजोर हुँदै सत्ता छाड्नुपर्यो । पार्टीमा सन्तुलन मिलाउन नसक्दा पार्टी पनि क्रमैसँग टुक्राटुक्रामा विभाजित हुँदै गयो ।
अघिल्लो निर्वाचनमा २२१ सीट जितेको माओवादी २०७० को निर्वाचनमा ५४ सीटमा सीमित हुन पुग्यो । यसपछि पनि माओवादीको विग्रहको बाटो रोकिएन ।
शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र बाबुराम पालैपालो प्रधानमन्त्री बने। तर दोस्रो संविधानसभा चुनावपछि माओवादी कमजोर भएपछि बाबुरामले बाटो मोडेका थिए।
दोस्रो संविधान सभाले २०७२ साल असोज ३ गते नयाँ संविधान जारी गरेको एक सातापछि असोज ९ गते डा. बाबुराम भट्टराईले माओवादी छोड्दै त्यसलाई ‘रातो स्टिकर टाँसेको घर’ भनेका थिए । भर्खरै महाभूकम्प भएकोले मान्छेको मनमा यो विम्ब निकै शक्तिशाली भएर बसेको थियो । ‘रातो स्टिकर टाँसेको घर’ भन्नाले भूकम्पले चर्किएको घर भन्ने बुझिन्थ्यो ।
पछिल्ला दुई चुनावको अभ्यासले पनि एमाले र कांग्रेस दुवैमा अब अर्को चुनावमा गठबन्धन गर्न नहुने मत बलियो बनेको छ । माओवादीभित्रै पनि ठूला दलसँग गठबन्धन गर्दा पार्टी झन् कमजोर बनेको आवाज छ, यसैले सबैतिर आफ्ना उम्मेदवार खडा गरेर माहोल बनाउनुपर्ने दबाब पनि छ ।
यसैले नेकपाका विप्वलदेखि नेसपाका बाबुरामसम्म फेरि पार्टी पुनर्गठन गर्न सकिने मनस्थितिमा पुगेका छन् । नयाँ शक्ति गठन, उपेन्द्र यादवसँग पार्टी एकता गर्दा पनि बाबुरामले प्रभाव देखाउन सकेनन् । विप्लवले पनि हिंसात्मक राजनीतिको बाटोबाट हिँड्दाको गन्तव्य भेटेका छैनन्, यसैले सरकारसँग वार्ता गरेरै उनले शान्तिपूर्ण राजनीति रोजेका छन् ।
प्रचण्ड पनि राजनीतिक उत्तरार्धतिर पुग्दा अब पार्टी बिसाउने भरपर्दो उत्तराधिकारीको खोजीमा छन् । यसैले विप्लवलदेखि बाबुरामसँगको पार्टी एकतालाई उनले पनि प्राथमिकता राखेको नेताहरू बताउँछन् ।