
न्यायमा भेदभाव : मन्त्रीलाई मुद्वा नचलाउने, अरूलाई भने मुद्वा चल्ने ?
नक्कली कागजात बनाएर जापान गएको प्रकरणमा कोशी प्रदेशका पूर्व मन्त्री एवं नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो।
अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता भएको हो। दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन्।
न्यायाधिवक्ता अर्यालका अनुसार जापानबाट तीन जना प्रतिवादीविरूद्ध पत्र प्राप्त भएको छ।
जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए। उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।
