मंसिर ७ को प्रदर्शनसँग सरकार सतर्कः यस्तो छ भित्र भित्रै तयारी

मूलखबर संवाददाता
काठमाडौं

भोलि अर्थात् मंसिर ७ गते काठमाडौंमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भ्रातृ संगठन युवा संघले एकै दिन विरोध प्रदर्शन राखेपछि सुरक्षा चुनौती बढेको छ ।

वित्तीय संस्थाको ऋण नतिर्न अपिल गरेर चर्चामा आएका प्रसाईं राजतन्त्र फर्काउनेसहितका पश्चगामी एजेन्डासहित अभियानमा छन् । सोही अभियानअन्तर्गत प्रसाईंले मंसिर ७ गते देशभरबाट आफ्ना समर्थकलाई काठमाडौं उतार्न लागेका छन् ।

ओली निशानामा तर सतर्क सरकार
काठमाडौँ उपत्यकामा पैदा हुनसक्ने सुरक्षा चुनौतीबारे छलफल गर्न आइतबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो। गृहसचिव दिनेश भट्टराईले बोलाएको बैठकमा सुरक्षा निकायका प्रमुख र उपत्यकामा कार्यरत वरिष्ठ अधिकारीहरूसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत सहभागी थिए। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘गणतन्त्र फालेर राजतन्त्र ल्याउने’ घोषणासहित गर्न लागेको काठमाडौँकेन्द्रित प्रदर्शनलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले आवश्यक प्रबन्ध गर्न निर्देशन दिएपछि गृहसचिवले यो बैठक डाकेका थिए।

त्यही बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोलिपल्ट, सोमबार नै एक महिनासम्मका लागि काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडकलाई निषेधित क्षेत्र घोषणा गरिएको सूचना जारी गर्‍यो। प्रसाईंले अराजकता बढाउने अभिव्यक्ति दिएर गर्न लागेको प्रदर्शन र त्यसको प्रतिवाद गर्ने नाममा प्रमुख प्रतिपक्ष एमालेको भ्रातृसंस्था युवा संघले सोही दिन गर्न लागेको प्रदर्शनलक्षित यो सूचना गृह मन्त्रालयबाट मात्र आएको थिएन। किनभने गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई सरकारी निवास बालुवाटारमा बोलाएर यसबारे छलफल गरेका थिए। त्यसअघि दाहालले नै अहिलेको व्यवस्थाविरुद्ध ‘प्रतिगामीहरू सलबलाउन थालेको’ भन्दै कात्तिक २१ गते सिंहदरबारमा सर्वदलीय बैठक राखेका थिए। बैठकले देशमा अराजकता बढ्ने निष्कर्ष निकालेर नै प्रतिबन्धका लागि सहमति दिएको थियो।

माओवादी हुँदै नेकपा र त्यसपछि एमालेमा पुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले अध्यक्ष ओलीकै आडभरोसा मिलेर एमालेको केन्द्रीय सदस्य बनेका थिए। तर त्यसबीचमा ओलीसँगै उनको सम्बन्ध बिग्रन थाल्यो। एमालेले उनलाई पार्टीबाट निष्कासन गर्‍यो। त्यहीँबाट उनले ‘बैंकरहरूलाई मोसो दल्ने’देखि अमुक समुदायका व्यवसायीहरूलाई मानमर्दन गर्ने अराजक क्रियाकलाप शुरू गरे।

खासमा जे गरे पनि दुर्गा प्रसाइँको मेडिकल कलेजले सम्बन्धन पाएन। माओवादी र एमालेबीचको एकताबाट जन्मिएको नेकपा विघटन भएर साबिककै एमाले र माओवादी ब्युँतिएपछि प्रसाईं, ओलीको पक्षमा अर्थात् एमालेमा लागे। तर ओलीको साथ लाग्दा पनि उनको कलेजलाई सम्बन्धन मिलेन। त्यसबाट मोहभंग भएका प्रसाईंले पूर्वराजा ज्ञानेन्द्रलाई झापा लिएर अभिनन्दन गराए। अनि आफैँ संयोजक बनेर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ शुरू गरे। पार्टी नीतिविपरीत यस्तो काम गरेको भन्दै ओलीले उनलाई एमालेबाट कारबाही गरे। अहिले उनी प्रचण्डप्रति नरम र ओलीप्रति गरम छन्।

प्रसाईंले भने, “प्रचण्डज्यूको अनुहार हेर्नुभयो भने निराश छ। गणतन्त्र भारी भयो कि भन्ने छ। म उहाँलाई के सुझाव के दिन्छु भने प्रचण्ड राजनीतिक रूपमा केपी ओलीभन्दा बेइमान होइनन्। प्रचण्ड राजनीतिक बेइमानी गर्न नसक्ने मान्छे हुन्, केपी ओली जे पनि गर्ने मान्छे हुन्। प्रचण्डले गणतन्त्रको विरूपा त रोपे, तर त्यसमा गन्हाउने फूल फुल्यो।”

सोसल मिडियामार्फत् लोकरिझ्याईंलाई प्राथमिकता दिँदै प्रसाईँले प्रदर्शनको आह्वानमात्र गरेका छैनन्, त्यसलाई हिंसात्मक बनाउनसमेत उत्प्रेरित गरेका छन्। उनले सोसल मिडियामा प्रवाह गरेका ‘कन्टेन्ट’लाई गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरले विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएको हो।

दुर्गा प्रसाईका विरुद्ध नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले पनि कार्यक्रम गर्दैछ। परस्परविरोधी धारका दुई समूहको अराजक अभिव्यक्तिसहितको विरोधलाई सुरक्षा निकायले सतर्कता साथ हेरेको छ। त्यसकै असर हो, जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर-बालुवाटार क्षेत्रमा निषेधाज्ञा जारी गरिसकेको छ। त्यस्तै, दुवै पक्षलाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बोलाएर तीनकुनेमा युवा संघ र बल्खुमा प्रसाईँ समूहलाई कार्यक्रम गर्न दिइएको छ।

राजनीतिक पृष्ठभूमि भएका कारण महेश बस्नेन नेतृत्वको युवा संघभन्दा असंगठित र जिम्मेवार संगठन नरहेका कारण प्रहरीले दुर्गा प्रसाईँ केन्द्रित भएर थप सुरक्षा व्यवस्था मिलाउने रणनीति लिएको छ। प्रसाईँले उत्तेजित बनाएका व्यक्तिको भिड, आन्दोलनमा उपस्थितको सम्भावनासमेतलाई हेरेर प्रहरीले सुरक्षा तयारी गरिरहेको छ। राजनीतिक दल, विभिन्न संघसस्थाले गर्ने प्रदर्शनभन्दा फरक ढङ्गले सुरक्षा निकायले प्रसाईँको गतिविधिलाई निगरानी गरिरहेको छ। प्रसाईँको आन्दोलन बैंक तथा वित्तीय क्षेत्रसँग जोडिएकाले उनको भड्काउमा मानिसहरु पर्नसक्ने विषयलाई सुरक्षा निकायले गम्भीरताका साथ लिएको हो।

सुरक्षा निकायका केही अधिकृतले प्रसाईँ समूहको आन्दोलनले अराजकता निम्त्याउन सक्ने ब्रिफिङ गरेका छन्। प्रसाईँले बैंक तथा वित्तीय संस्थामाथि आक्रमण गर्ने अभिव्यक्ति दिँदै आएकाले उनको प्रभावमा परेका समूह आरजक हुनसक्ने आँकलन गरिएको हो। उनको समूहले सुरक्षाकर्मीलाई भड्काउन प्रयास गर्नसक्ने, युवा संघको कार्यक्रम विथोल्न सक्ने, बैंक तथा वित्तीय संस्थामा आक्रमण गर्नसक्ने, मारवाडी समूहलाई तारो बनाउन सक्ने विश्लेषण सुरक्षा निकायको छ।

प्रसाईँ समूहको आन्दोलन वैचारिक नेतृत्वबाट नहुने र अराजक समूह जतातिर पनि मोडिनसक्ने सम्भावनालाई अन्य आन्दोलनभन्दा फरक हिसाबले हेर्ने अवस्था बनेको हो। आन्दोलनलाई नेतृत्व गर्ने नेतृत्व नहुँदा भिड अनियन्त्रित हुनसक्ने भएकाले सुरक्षा चुनौती अन्य आन्दोलनभन्दा फरक हुने पूर्व एआईजी प्रधुम्न कार्की बताउँछन्।

दुर्गा प्रसाईँको आन्दोलन सैद्धान्तिक नभइ मुढेबल आधारित देखिएको छ। व्यक्तिगत टकरावका कारण आन्दोलनले उग्र रुप लिनसक्ने विज्ञहरूको बुझाई छ। किनकि प्रसाईँका अधिकांश माग राज्यले सम्बोधन गर्न सक्दैन। उनले जे आश्वासन बाँडिरहेका छन्, त्यो लोकरिझ्याईभन्दा माथि छैन।

सरकारप्रतिको असन्तुष्टि, आर्थिक मन्दी अवस्था लगायतका कारण दुर्गा प्रसाईँको लहडी आन्दोलनमा मानिसहरु सहभागी हुनु अनौठो होइन। त्यसमाथि अदृश्य रुपमा संगठित रुपमा संघसस्था समेत उपस्थिति हुँदैनन् भन्ने आधार छैन। त्यसैले सुरक्षा चुनौती अन्य राजनीतिक दलका आन्दोलन भन्दा फरक हुने पुर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

सुरक्षा सतर्कता

काठमाडौं उपत्यका प्रहरी कार्यालयले अहिले कति मान्छेहरू आउँदैछन्, कस्ता मान्छेहरू आउँदैछन्, त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा इटेलिजेन्टहरूबाट अनुसन्धान गराइरहेको छ ।

‘अहिले इन्टेलिजेन्टहरूले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेका छन्, यो विषय भन्न मिल्दैन,’ एसएसपी मैनालीले भने ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले त्यो दिनका लागि सबै सुरक्षा व्यवस्था मिलाइसकेको बताए ।

‘हामीले त्यो दिनका लागि आवश्यक पर्ने सबै व्यवस्था मिलाएका छौं,’ एसएसपी खत्रीले मूलखरबरलाई भने, ‘त्यो दिनका लागि विशेष सुरक्षा योजनाअनुसार तयारी अवस्थामा छौं ।’

प्रहरीले काठमाडौं प्रहरी परिसरअन्तर्गत रहेका सबै प्रहरी, गण र प्रधान कार्यालयबाट प्रहरीहरूलाई खटाउने तयारी गरिरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जीतेन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलालगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बताएका छन् ।

विज्ञप्तिमा एकभन्दा बढी समूह एकै मितिमा भेला हुँदा आपसी विवाद र झैझगडा भएर शान्ति सुरक्षा भंग हुने भएकाले निषेधाज्ञा जारी गरेको भनिएको छ ।

यता ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलवार एक आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवासदेखि राष्ट्रिय किताब खानासम्म निषेधित क्षेत्र घोषणा गरेका छन् ।