बीबीसी एक सय महिलाः संसारभरका शक्तिशाली सूचीमा नेपाली महिला पनि

मूलखबर संवाददाता
काठमाडौं

बीबीसीले सन् २०२३ का लागि संसारभरका १०० जना प्रेरणादायी र प्रभावशाली महिलाहरूको सूची प्रकाशित गरेको छ।

उक्त सूचीमा वकिल तथा अमेरिकाको भूतपूर्व प्रथम महिला मिशेल ओबामा, मानवअधिकारवादी वकिल अमाल क्लूनी, बालोन डोर विजेता फुटबलर आइटना बोनमाटि, एआई विज्ञ टिमनिट गेब्रु, महिलावादी नेत्री ग्लोरिया स्टाइनेम, हलिवुड स्टार अमेरिका फरेरा र सौन्दर्य व्यवसायी हुदा कत्तान।

चरम गर्मी, डढेलो, बाढी तथा अन्य प्राकृतिक विपद्हरू समाचार शिर्षक बनेको यो वर्षमा यो सूचीले आफ्ना समुदायलाई जलवायु परिवर्तनसँग जुध्न र त्यसका परिणामसँग अनुकुलन हुन सघाइरहेका महिलाहरूलाई पनि समेटेको छ।

बीबीसी १०० विमिनमध्ये हामीले जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने २८ जना अग्रणी व्यक्तिको नाम संयुक्त राष्ट्रसङ्घको कोप२८ सम्मेलन शुरू हुनुअघि चयन गरेका हौँ।

सूचीका नामहरू कुनै निश्चित क्रमअनुसार छैनन्

नेपालबाट रुक्शना कपाली, नेपाल
आवासअधिकार अभियानकर्मी

रुक्शना कपाली नेवा समुदायकी सदस्य तथा पारलैङ्गिक मानवाधिकारकर्मी हुन्। आफू हुर्किँदै गर्दा उनलाई आफ्नो पहिचानबारे यथेष्ट जानकारी थिएन।

उनले लैङ्गिक विविधता र यौनिकताबारे स्वाध्ययन गरिन्। किशोरावस्थादेखि नै उनी तेस्रोलिङ्गीसँग सम्बद्ध विषयमा सामाजिक सञ्जालमा पैरवी गर्दै आएकी छन्।

उनी अहिले कानुन विषय लिएर स्नातक तहमा अध्ययन गरिरहेकी छन्। उनी नेपालमा एलजीबीटीआईक्यू+ समुदायका मानिसको कानुनी र संवैधानिक अधिकारको पक्षमा सक्रिय छिन्।

उनी नेवा समुदायमा पनि निकै सीमान्तकृत मानिने ‘जुगि’ जातिकी सदस्य हुन्। उनी जुगि जातिका मानिसहरूलाई उनीहरू बस्दै आएको घरबाट बलपूर्वक निकालिने कार्यविरुद्ध सङ्घर्ष गरिरहेकी छन्।

दीया मिर्जा, भारत
अभिनेत्री

भारतीय चलचित्रहरूमा भूमिकाका लागि मात्रै दीया मिर्जा पुरस्कृत भएकी होइनन्, उनी पर्यावरण र मानवीय सहायतासम्बन्धी थुप्रै परियोजनामा पनि संलग्न रहिआएकी छन्।

वातावरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घकी सद्‌भावना दूतको रूपमा मिर्जाले जलवायु परिवर्तन, स्वच्छ हावा र वन्यजन्तु संरक्षणबारे जनचेतना फैलाएकी छन्।

उनी वान इन्डिया स्टोरीज नामक कार्यक्रम उत्पादन संस्थाकी संस्थापक पनि हुन्। त्यसले उनकै शब्दमा “तपाईँलाई सोच्न बाध्य पार्ने” खालका कथाहरू बाहिर ल्याउँछ।

उनी सेभ द चिल्ड्रेन, इन्टरन्याश्नल फन्ड फर एनिमल वेलफेअरकी दूत र स्याङ्कटुअरी नेचर फाउन्डेशनकी बोर्ड सदस्य पनि हुन्।

सबैको नाम र विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

१०० विमिन के हो?
बीबीसीले हरेक वर्ष विश्वभरिबाट १०० जना प्रभावशाली र प्रेरक महिलाहरूलाई छनोट गर्ने गरेको छ। बीबीसी वृत्तचित्र बनाउँछौ र उनीहरूको बारेमा लेख तथा अन्तर्वार्ता तयार पारी बीबीसीमा प्रकाशन तथा प्रसारण गर्छ।

१०० विमिन कसरी छानिन्छन्?
अनुसन्धान र बीबीसी भाषा सेवाहरूका साथै बीबीसी मिडिया एक्सनको सुझावका आधारमा बीबीसी १०० विमिन टीमले छनोट गर्छ।

उल्लेखनीय कामहरू गरे विगत १२ महिनामा समाचारमा चर्चामा आएका, प्रेरणादायी कथा भएका अथवा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका वा समाचारमा छाप छोडेका महिलाहरूलाई समेट्ने गरिन्छ।

अन्तिम नाम छनोट गर्नुअघि निष्पक्षता र क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित हुने गरी काम गरिएको थियो। सूचीमा समेट्न सबैले सहमति जनाएका थिए।