यसरी हुँदैछ बाबुराम-प्रचण्डको पुनर्मिलन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरु एक हुने उद्घोष पुनः दोहोर्याएका छन्। ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत आइतबार रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिद परिवारमाथिको न्यायका लागि भए पनि पूर्वमाओवादीहरु एक हुनुपर्ने बताएका हुन् ।
पटक–पटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निरासा छाएको भन्दै उनले माओवादी फुटेपछि जनयुद्धमार्फत् प्राप्त उपलब्धि नै खतरामा परेको पनि बताए ।
देश विकास र सहिद परिवारमाथिको न्यायका लागि पूर्वमाओवादीहरु एक हुनुको विकल्पै नभएको उनको भनाइ छ । पछिल्लो समय विगतको जस्तो विभाजित नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
नेकपा महासचिव नेत्रविक्रम चन्दसँग शनिबार बिहान मात्रै छलफल भएको जानकारी दिँदै उनले बाबुराम भट्टराईसँग पनि निरन्तर संवाद भइरहेको खुलासा गरे।
कसरी मिल्दैछन् बाबुराम-प्रचण्ड
पूर्वी रुकुम उड्नुअघि विप्लवसँग पार्टी एकताको विषयमा छलफल गरेका प्रचण्डले शुक्रबार साँझ बाबुराम भट्टराईसँग छलफल गरेका थिए । पूर्वी रुकुममा प्रचण्डले विप्लव र भट्टराई एकतामा आउने सन्दर्भ सुनाइरहँदा काठमाडौंमा पनि माओवादी केन्द्र र नेसपाका नेताहरू वार्तामा थिए । माओवादी केन्द्रमा जसरी भट्टराई र विप्लवलाई भित्र्याउने चाहना छ, त्यसरी नै उनीहरू पनि एकीकृत हुन चाहेका छन् ।
आगामी ६ र ७ गते काठमाडौंको रोयल जडिबुटी बेङ्वेटमा नेसपाको केन्द्रीय समिति बैठक राखिएको छ। त्यो बैठकमा एकताको एजेण्डा समेत राखिने नेसपाका एक नेताले मूल खबरलाई बताए। ‘बैठक अघि नै पनि प्रधानमन्त्री प्रचण्ड र डा.सावबीच छलफल हुनसक्छ,’ उनले थपे।
माओवादी महासचिव देव गुरुङले पनि एकताको पहल र प्रयास गर्न शीर्ष नेता नै संवादमा जुट्न लागेको बताए। ‘एकताको निर्णय त दुईदलका नेताले नै गर्ने हो नि,’ गुरुङले भने।
माओवादी र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका नेताहरूबीच आइतवार भएको छलफबाट पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने सहमति भएको छ। सहमतिमा माओवादीका तर्फबाट उपाध्यक्ष कृष्णबहादुर महरा तथा नेसपाको तर्फबाट गंगा नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
माओवादीको हँसिया हथौडा चिह्नबाट चुनाव लडेका श्रेष्ठ अहिले बागमती प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री छन् ।
आइतवारको छलफलमा माओवादी महासचिव देव गुरुङलगायत नेता सहभागी थिए । यसअघि नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि नेसपाबाट निर्वाचित महेन्द्र यादवलाई पत्र पठाएको थियो ।
बिच्किएका थिए बाबुराम
माओवादीसँग एकता प्रक्रिया अवरुद्ध भएपछि बाबुराम भट्टराई एकता प्रक्रिया छोडेर नयाँ अभियान लिई देश दौडाहमा लागेका थिए। खासगरी चुनावी नतिजा र प्रचण्डको सरकारमा अपेक्षित लाभ लिन नसकेपछि बाबुराम विच्किएका पनि थिए।
तर, त्यही अवधिमा नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेता माओवादीसँगको एकतालाई निष्कर्षमा पुर्याउने भन्दै छलफलमा थिए। तर, डा. भट्टराई छुटाउन नहुनेमा नेताहरु उभिए। माओवादीसँग मिल्न खोजेको भन्दै भट्टराई केहीसँग असन्तुष्ट थिए। एक नेताका अनुसार पछिल्ला दिनमा बाबुरामका निकट भनिने गंगानारायण श्रेष्ठ, विश्वदीप पाण्डेसमेत एकताको पक्षमा छन् ।
सोही कारण शीर्ष नेताहरूको तहमा एकता संयोजन समिति बनाउनकै लागि बाबुरामसँग प्रचण्डले छलफल गरिरहेका छन् । बाबुरामले त्यसमा सहमति जनाइसकेका छैनन् । प्रचण्डका पछिल्ला गतिविधिसँग असहमत देखिएका बाबुराम एकताको पक्षमा खुलिसकेका छैनन् । यद्यपि, नेसपाका नेताहरू जो बाबुरामका खास निकट भनिएका छन्, उनीहरू पनि बाबुरामको विकल्प एकता मात्रै रहेको सन्देश प्रवाह गरिरहेका छन् ।
त्यसैले ७ मंसिरबाट सुरु हुने नेसपाको केन्द्रीय कमिटी बैठकमा एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ । बाबुरामको अनिच्छाबीच यादवहरूको समूहले दबाब बढाउन सक्दा एकता संयोजन समिति बन्न सक्ने नेसपाका एक नेताले बताए ।