सी चिन फिङको अमेरिका भ्रमणः बेइजिङ र वासिङ्टनबीच के भयो सहमति
बिहीबार क्यालिफोर्नियामा एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक)को शिखर सम्मेलनमा भाग लिन पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गरे। चिनियाँ सञ्चार माध्यमले वार्तालाई सफल वार्ताका रूपमा चित्रित गरेका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले यो वर्ष तीन वटा देशको मात्रै भ्रमण गरे । यसबाट पनि उनको अमेरिका भ्रमण कति महत्त्वपूर्ण छ भनेर अनुमान गर्न सकिन्छ । छलफलपछि चीन र अमेरिका पुनः सैन्य सञ्चार सुरु गर्न सहमत भएका छन् । तर, लगत्तै उनीहरूको मतभेद पनि प्रष्ट देखिएको छ । द्विपक्षीय भेटका क्रममा सीले ताइवानलाई हतियार दिन बन्द गर्न आग्रह गरे र ताइवानलाई चीनमा मिलाइरै छाड्ने दृढता व्यक्त गरे । विश्वमा शक्ति विस्तारको होडमा रहेको चीनले अमेरिकालाई पछारेर उसको स्थान लिन नखोजेको तर चीनलाई दबाउन बन्द गर्नुपर्ने बताएको छ ।
सीले पृथ्वीमा दुई महाशक्ति अट्न सक्ने भन्दै अमेरिकासँग आफ्नो बराबरी हैसियत भएको सन्देश दिन खोजे । उनले दुई देशबीचको टकराबले खतरनाक परिणाम दिने पनि चेतावनी दिएका छन् । सीले चीनको निर्यातमा नियन्त्रण र एकतर्फी प्रतिबन्ध लगाएर अमेरिकाले चीनको हितमा नोक्सान पुर्याएको, विज्ञान र प्रविधिलाई दबाएर विकासलाई रोक्न खोजेको टिप्पणी गरे ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूहरू एक चीन नीतिको पक्षमा रहेको र यो परिवर्तन नहुने स्पष्ट पारे । उनले चीन र अमेरिकाको प्रतिस्पर्धा संघर्षमा बदलिन नहुने समेत बताए । सीसँगको भेट लगत्तैको पत्रकार सम्मेलनमा भने अमेरिकी राष्ट्रपति बाइडेनले सीलाई एक तानशाहको रूपमा चित्रण गरे । जुन विषयको चीनले कडा प्रतिवाद गरेको छ ।
सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने यी दुई देशबीच जलवायु परिवर्तनको सामना गर्न थप उपाय अपनाउन सहमति भएको छ । शक्तिशाली हरितगृह ग्यास मिथेनको उत्सर्जनको गति कम गर्न र २०३० भित्र नवीकरणीय ऊर्जा प्रयोग तेब्बर बनाउन सहमत भएका छन् ।
यस्तै गैरकानुनी औषधिको ओसारपसार कम गर्न सहकार्य गर्ने सहमति भएको छ । विशेषतः अमेरिकामा गैरकानुनी तरिकाले फेन्टनिलको आपूर्ति रोक्न रासायनिक कम्पनीहरूको नियन्त्रण गर्न चीन तयार भएको छ । दुखाई कम गर्ने यो औषधिको अत्यधिक प्रयोगले अमेरिकामा ओभरडोजका कारण मृत्यु हुनेको संख्या बढेको छ ।
भएको भेटमा दुई देशबीच सैन्य सञ्चार पुनः स्थापना गर्ने सहमति भएको हो।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घण्टाको वार्ता भएको थियो। चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेवार औषधि ‘फेन्टेनाइल’को उत्पादनमाथि रोक लगाउने बारेमा पनि दुई नेताबीच सहमति भएको छ।
सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन। सन् २०२३ फेब्रुअरीमा अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’लाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो।
एक अर्का देशसँगको सम्बन्ध सुधारमा केन्द्रित भनिएको यो भेट केही सहमति भए पनि विरोधाभापूर्ण कुराकानीमा सकिएको छ । पछिल्ला वर्षमा देखिएको व्यापारिक तनावदेखि ताइवान, एसिया–प्रशान्त क्षेत्रको संघर्षजस्ता विषय कसरी हल गरिन्छन् भन्ने कुराले दुई देशको सम्बन्धको भविष्य निर्धारण गर्नेछ ।
“हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ,” बाइडेनले भने, “द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढ रूपमा प्रस्तुत हुँदै गएको छ।”