प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मः तिहारको बेला भूकम्प पीडितलाई राहत पुर्याउन व्यस्त
यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ। गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो।
प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म तिहारको बेला पनि भूकम्प पीडितलाई राहत पुर्याउन व्यस्त छन्।
जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार दिने निर्णय गरिएको छ। सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न दुई किस्तामा ५० हजार दिने निर्णय गरेको हो।
बैठकमा समितिका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाइने जानकारी दिए।
तत्काल अस्थायी आवास बनाउन नसकिए भूकम्पपीडितलाई चिसोको समस्या हुने कुरामा सरकार गम्भीर रहेको उनले बताए। उनले विपद् कोषबाट रकम सिधै स्थानीय तहमा पठाउने र पालिकाले नै प्रभावितलाई प्रदान गरेर जतिसक्दो छिटो अस्थायी आवास निर्माण गर्नुपर्ने बताए।
त्यस्तै उनले भूकम्पपछि उद्दारका काममा तीव्रता आएपनि भौगोलिक अवस्थाका कारण तत्कालै पूर्णरुपमा राहतको काम सम्पन्न गर्न नसकिएको जिकिर गरे।
समितिका सदस्य सचिव अनिल पोखरलले भूकम्पपछि राहतका लागि उपलव्ध भएका सामाग्रीहरुलाई निरन्तर जारी राखेको बताए। अस्थायी आवासको प्राथमिकताका बारेमा पनि छलफल सुरु गरेको र पीडितहरुलाई चिसोबाट जोगाउने काम सुरु गरिसकेको उनले बताए।
कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्।
त्यस्तै भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको समितिले जनाएको छ।
विभेद छैन, सबैलाई राहत- गृहमन्त्री
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन्।
उनले आफूहरुले भुकम्पपछि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नहरु पठाएको र पठाउने क्रम जारी रहेको बताए।
उनले सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको बताए। उनले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरु पनि उपलब्ध गराइएको जानकारी दिए।
भूकम्प पीडितलाई गोल्डस्टार जुत्ता
गोल्डस्टार सुजले भूकम्प पीडितलाई जुत्ता तथा चप्पल सहयोग गरेको छ।
कात्तिक १७ गते जाजगरकोट केन्द्रबिन्दू बनाइ गएको भूकम्पमा परेका पीडितहरूका लागि गोल्डस्टारले ३५ लाख ६८ हजार १५० रूपैयाँ बराबरको १० हजार २२ थान जुत्ता चप्पल सहयोग गरेको हो।
जाजरकोट तथा रूकुम-पश्चिमका भूकम्प पीडितलाई सहयोग गरेको बताउँदै थप सहयोग गर्न पनि तयार रहेको गोल्ड स्टार सुजकी निर्देशक विदुषी राणाले बताइन्।
सन् १०९० मा स्थापित किरण सुज म्यानुफ्याक्चर अन्तर्गतको गोल्डस्टार नेपालको जुत्ता उत्पादन गर्ने कम्पनी हो। गोल्डस्टारले बजारको मागसँगै आफूलाई समायोजन गर्दै फेसन ब्रान्डका रूपमा स्थापित गरेको छ।
हालै मात्र कम्पनीले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताहरूको विशेष श्रृंखला सुरू गरेको छ।