उद्दारमा जुट्न प्रधानमन्त्रीको आह्वान, स्वास्थ्यकर्मीसँगै आफैं जाजरकोट जाने तयारी

मूलखबर संवाददाता
काठमाडौं, १८ कात्तिक

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको हो ।

विभिन्न जिल्लामा दर्जनौं मानिसहरूको ज्यान गएको छ भने कयौं घरहरू भत्किएका छन् ।

जाजरकोटमा मात्रै दुई दर्जन बढीको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै रुकुम पश्चिममा पनि केही व्यक्तिको ज्यान गएको प्रहरीको भनाइ छ । तर, यकिन विवरण भने आइसकेको छैन ।

जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर शुक्रबार मध्यरातमा भूकम्प गएको थियो । शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको ठूलो धक्का महसुश गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन् ।

विभिन्न जिल्लामा भएका क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले क्षतिको यकिन विवरण आइनसकेको बताए । जिल्लामा केही मानिसहरूको ज्यान गएको खबर आए पनि आधिकारीरूपमा पुष्टि गर्ने काम भइरहेको उनले बताए ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेको तत्काल उद्दारका लागि सबै संयन्त्रहरूलाई सक्रिय काम गर्न भनेका छन् ।

घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भैरहेको हेलो सरकारले जानकारी दिएको छ ।

स्वास्थ्यकर्मी लिएर जाँदै प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्ड आफैं भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदैछन् । ६.४ म्याग्नेच्युडको भूकम्पबाट भएको मानवीय तथा अन्य क्षतिबारे बुझ्न र राहत दिन प्रधानमन्त्री प्रचण्ड आफैँ जाजरकोट जाने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड त्यता जाने भएका हुन् । प्रधानमन्त्रीको साथमा स्वास्थ्यकर्मीको टोलीसहित हुनेछन् ।

अहिलेसम्म त्यहाँ कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु सयौं घाइते छन् ।

मध्यरातमा जाजरकोट केन्द्र बनाएर साढे ६ म्याग्नेच्युडको भूकम्प, मानवीय क्षति उच्च