राष्ट्रसंघ महासचिवको नेपाल भ्रमणः पहिलो दिन नेपालबाट दिएका पाँच सन्देश
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो चार दिने नेपाल भ्रमणका लागि २०८० कात्तिक ११ गते राति (१२ गते आइतबार बिहान १ बजे) काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०२३ सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८औं महासभामा दिएको नेपाल भ्रमणको निम्तो स्वीकार गर्दै उनी नेपाल आएका हुन्।
महासचिव गुटेरेसले आइतबार दिउँसो सिंहदरबारबाट उच्चस्तरीय राजनीतिक भेटवार्ताको सुरुवात गरेका थिए। त्यहाँ उनले परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका थिए। गुटेरेसले प्रत्येक मन्त्रीलाई १५ मिनेटका दरले भेटेका थिए।
उनले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटे। गुटेरेसलाई प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए। भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको बाँकी कामलाई टुङ्गोमा पुर्याउन महासचिव गुटेरेसको महत्वपूर्ण भूमिका हुने कुरा गरेको बताए। त्यस्तै गुटेरेसले बाँकी रहेको शान्ति प्रक्रियाको काम पूरा गर्न संयुक्त राष्ट्रसंघले नेपाललाई सघाउन तयार रहेको बताए।
त्यस्तै, गुटेरेस र सभामुख देवराज घिमिरेबीच नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भेट भयो। भेटमा घिमिरेले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताएका थिए। उनले निकट समयमै दुवै आयोगसम्बन्धी ऐन निर्माण गर्ने बताए। गुटेरेसले भने नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई सहयोग गर्न राष्ट्रसंघ तयार रहेको बताएका थिए।
महासचिव गुटेरेस र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि संसद् भवनमै भेट भयो। भेटमा देउवाका अतिरिक्त कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, नेता शेखर कोइराला लगायत सहभागी थिए। भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको थियो। नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिकाप्रति सभापति देउवाले प्रशंसा गर्नुका साथै जलवायु परिवर्तनले नेपाल जस्तो अल्पविकसित मुलुकलाई पारेको गहिरो असरबारे अवगत गराएका थिए।
गुटेरेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि संसद् भवनमा भेटेका थिए। भेटमा ओलीका अतिरिक्त एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराई लगायत सहभागी थिए। भेटमा गुटेरेसले शान्तिका संवाहक गौतम बुद्धको जन्मस्थल, शान्ति सेना योगदान गर्ने दोस्रो ठूलो योगदानकर्ता र शान्ति प्रक्रिया सफलतापूर्वक अगाडि बढाएकोमा नेपालको प्रशंसा गरेका थिए। ओलीले भने नेपालको शान्ति प्रक्रिया मौलिक र देशभित्रकै शक्तिहरूको अगुवाइमा भएको बताउँदै संक्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन चाहेको, तर यो ‘संक्रमणकालीन अन्याय’ चाहिँ हुन नहुनेमा जोड दिएका थिए।
आइतबारै गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरेका छन्। गुटेरेस राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपतिले लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको कुरा बताउँदै संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए।
साँझ गुटरेस ललितपुरस्थित पाटन दरबार स्क्वायर पुगेका थिए। त्यहाँ उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गरेका थिए। उनको स्वागतमा सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियो।
साँझ भने उनी प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजमा सहभागी भए। रात्रिभोज होटल सोल्टीमा आयोजना गरिएको हो। भोजमा विभिन्न राजनीतिक दलहरुका शीर्ष नेताहरू पनि सहभागी थिए।
नेपालबाट विश्वलाई दिएका ५ सन्देश
राष्ट्रसंघका महासचिव गुटेरेस यस्तो समयमा नेपाल भ्रमणमा आएका छन् जतिबेला विश्व इजरायल र प्यालेस्टिन दुई खेमामा विभाजन भइरहेको छ । यस्तो जटिल विश्व परिस्थितिमा पनि उनले नेपालको लागि चारदिन दिनुले विश्व कूटनीतिमा नेपालको महत्त्व एक पटक फेरि उनले सम्झाइदिएका छन् ।
१- मध्यपूर्वको युद्धमा नियम पालना होस्
कठिन अवस्थामा नेपाल आएका महासचिव गुटरेसले युद्धरत इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासलाई सन्देश दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले सिंहदरबारबाट इजरायल र हमासलाई भने, “सबैले अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ । युद्धमा पनि कानून पालना गर्नुपर्छ । युद्धमा जनताको सुरक्षा कसरी गर्ने भन्ने स्पष्ट छ ।”
महासचिव गुटेरेसले गाजाको अवस्था झन् झन् बिग्रदै गएको जनाउँदै इजरायली सेनाको कारवाहीले गाजामा अन्तर्राष्ट्रिय मानवीय सहायता कार्य रोकिएकोमा दुःख व्यक्त गरे । नागरिकको हत्या र घाइते बनाउने कार्य स्वीकार्न नसकिने उनले स्पष्ट बताए ।
इजरायलको आक्रमणका कारण गाजामा २० लाख प्यालेस्टिनी औषधि, पानी, विद्युतलगायतका आधारभूत आवश्कयताबाट बञ्चित भएको उनले जनाए ।
उनले युद्धरत दुवै पक्षलाई तत्काल युद्धविराम गर्न र बन्धकलाई मुक्त गर्न आग्रह गरे । “अहिले हामी अप्ठेरो र तनावपूर्ण समयमा बाँचिरहेका छौं,” उनले भने ।
महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको र सुरक्षित फीर्तिको कामना गरे ।
“म अक्टोबर ७ मा इजरायलमा हमासको आतंकवादी आक्रमणमा परी मारिएका १० जना विद्यार्थीको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु,” महासचिव गुटेरेसले भने, “ बेपत्ता भएका विपिन जोशीको सुरक्षित फिर्तिको म कामना गर्छु ।”
प्यालेस्टिन चरमपन्थी समूह हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने एक जना बेपत्ता भएका थिए ।
बेपत्ता भएका विपिन जोशीलाई हमासले बन्धक बनाई गाजा लगेको अनुमान छ । यसैबीच नेपाल भ्रमणमा आएको संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले जोशीको फिर्तिको लागि अपिल गरेका हुन् ।
काठमाडौं आएर महासचिव गुटेरेसले दिएको अर्को सन्देश थियो– देश जहाँ भए पनि विश्व घटनाले प्रभावित पारेको छ । उनले दूरीका हिसाबले मध्यपूर्व नेपालबाट निकै टाढा भए पनि नेपालीहरुको घरबाट निकै नजिक रहेको बताए ।
त्यहाँ हुने घटनाले नेपालीको घरमा असर गरेको उनको आशय थियो । यसको पछिल्लो उदाहरण हो– जारी इजरायल र हमासबीचको युद्ध ।
“मध्यपूर्वको द्वन्द्व नेपालबाट निकै टाढा भए पनि नेपालीहरुको घरबाट निकै नजिक रहेको छ,” उनले भने ।
२- नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघको साथ
महासचिव गुटेरेसले नेपालका नेताहरुसँगको भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काममा सघाउने इच्छा व्यक्त गरेका छन् । संक्रमणकालीन न्यायको काम बाँकी रहेका बेला उनले यस्तो इच्छा व्यक्त गरेका हुन् ।
उनले नेपालको शान्ति प्रक्रियाको बाँकी रहेको काम सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय कानुनअनुसार पूरा गर्न आग्रह गरेका छन् ।
“शान्ति प्रक्रियालाई टुङ्ग्याउने कार्यमा नेपाललाई आवश्यक परेको खण्डमा राष्ट्रसंघ सघाउन तयार छ,” महासचिव गुटेरेसले भने ।
नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले नेताहरुलाई माओवादी १० वर्षे सशस्त्र विद्रोहका पीडितहरुलाई न्याय दिलाउन सकेमात्र समुदायमा स्थायी शान्ति आउने सन्देश दिएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगको भेटमा उनले भने, “संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ ।”
नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयारको सन्देश पनि उनले दिएका छन् ।
३- विश्व शान्तिमा नेपालको योगदान
नेपाली नेताहरुसँगको भेटवार्तामा महासचिव गुटेरेसले विश्व शान्तिमा नेपालले गरेको योगदानको खुलेर प्रसंसा गरेका छन् । राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सेना र प्रहरीले गरेको योगदानको उनले प्रसंसा गरेका हुन् ।
अहिले राष्ट्रसंघको शान्ति मिसनमा दोस्रो ठूलो संख्या नेपाली सेना र प्रहरीको रहेको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले शान्ति सेनामा ठूलो योगदान दिए पनि सोअनुसारको जिम्मेवारी नेपाललाई नदिइएकोमा असन्तुष्टी व्यक्त गरेका थिए ।
शान्ति सेनाको उच्च ओहदाको जिम्मेवारी नेपाली सेनाले कमै पाउने गरेको गुनासो प्रचण्डले गरेका थिए । जवाफमा नेपालले उठाएका एजेन्डालाई राष्ट्रसंघले सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए । यसको थालनी आफू न्यूयोर्क फर्केपछि गर्ने समेत उनले बताएका थिए ।
४- शान्ति र अहिंसाको सन्देश
विश्वलाई नेपाललो शान्ति र अहिंसाको सन्देश दिइरहेको भ्रमणका बेला महासचिव गुटेरेसले बताएका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व शान्तिको प्रतीक भएको उनले भेटमा जनाएका थिए । यसैकारण नेपाल भ्रमणका बेला लुम्बिनी जाने निर्णय आफूले लिएको उनले सुनाएका थिए ।
“बुद्धले दिएको शान्ति र अहिंसाको सन्देश विश्वलाई महत्वपूर्ण छ,” उनले भने । उनले नेपाल विश्वकै साथी भएको समेत बताए ।
महासचिव गुटेरेसले नेपालको विकास र समृद्धिमा सघाउन विश्व समुदायलाई आग्रह गरेका छन् । उनले नेपाल र राष्ट्रसंघबीच सहयोग विस्तार गर्न नेपाल भ्रमणमा आएको उनले स्पष्ट पारे । नेपाललाई अतिकम विकसित राष्ट्रबाट अपग्रेड गर्ने प्रक्रियामा राष्ट्रसंघले सघाउने प्रतिवद्धता उनले जनाए ।
५- जलवायु परिवर्तन र असर
महासचिव गुटेरेसले नेपाल आउनुको एउटा कारण बताएका छन्– जलवायु परिवर्तनले उच्च भूभागमा परेको असर बारे जानकारी लिने । यही असर बुझ्न उनी सगरमाथा क्षेत्र र अन्नपूर्ण वेश क्याम्प जाँदैछन् । आइतबार उनले नेताहरुसँगको भेटमा जलवायु परिवर्तनले तल्लो भूभागमा पारेको असरहरु धेरै सुनिए पनि उच्च भूभागमा पारेको असर कम सुनिएको जनाएका थिए ।
यसैकारण नेपालजस्ता उच्च भूभाग भएका देशमा जलवायु परिवर्तनले नागरिकको दैनिक जिवनमा के कस्ता असर गरेका छन् भन्ने बारे बुझ्न नेपाल आएको उनले बताएका थिए । “जलवायु परिवर्तनले असर गरेको नेपालको दिगो विकासमा सहयोग गर्न म अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्छु,” महासचिव गुटरेसले नेताहरुसँग भनेका छन् ।