कांग्रेस हेडक्वार्टर सानेपाबाट शीर्ष नेताको समान सन्देश- दलको इतिहास नभुलौं

मूलखबर संवाददाता
काठमाडौं

दसैं, तिहार, छठ पर्व लगायतका पर्वहरूको उपलक्ष्यमा नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो।

पार्टीको औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै सानेपामा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतका नेताहरू सानेपा पुगे।

तीन प्रमुख नेताको समान सन्देश

सानेपा पुगेलगत्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई उक्त प्रश्न सोधियो। जवाफमा ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढंगले दिइने छ।’

यही प्रश्न पत्रकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि राखे। प्रधानमन्त्री प्रचण्डले यो प्रश्न औचित्यहीनमात्र भनेनन्, ओलीकै बोलीमा लोली मिलाएर छिट्टै जवाफ दिने बताए। ‘जसले यो विषय उठाएको छ। जसको इतिहास राजनीतिक संस्कार विचार हेर्‍यो भने यसको कुनै औचित्य देखिँदैन। तर प्रश्न उठाउने कोसिस भएको छ,’ दाहालले भने, ‘राष्ट्र र शान्तिको हितमा यो छैन। यो बीचमा मेरो छिट्टै एकै ठाउँमा प्रमुख राजनीतिक दल एकै ठाउँ उभिएर जवाफ दिनेछौं। जवाफ दिने समय छिट्टै आउँदैछ।’

प्रचण्डसँग भेट्न शुक्रबार मात्र ओली बालुवाटार पुगेका थिए। उक्त भेटमा नयाँ प्रयासको थालनीबारे कुराकानी भएको समेत प्रधानमन्त्रीले खुलाए।

‘प्रधानमन्त्री भएदेखिनै मैले राजनीनिक दलहरुबीच सहमति बनाउने प्रयास गर्दै आएको छु। हिजो प्रतिपक्ष दलका नेता(ओली)सँग भएको कुरा पनि नयाँ प्रयासको कडी हो। मलाई लाग्छ विस्तारै समझदारी बन्दै जान्छ भन्ने म देख्छु,’ दाहालले भने।

देशमा आफ्नो कारणले कूटनीतिक सफलतासमेत मिलिरहेको प्रचण्डको दाबी थियो। ‘कूटनीतिक पहल पनि जारी छ। मेरो भारत, अमेरिका, चीन भ्रमणपछि राष्ट्र संघका महासचिव पनि आउँदै हुनुहुन्छ। योपटक एलडीसीको चेयरम्यानको हैसियतले मैले संयुक्त राष्ट्रसंघको महासभामा, एसडीजी (दिगो विकास लक्ष्य) समिट र एलडीसी (अति कम विकसित मुलुक) समिटहरुमा मैले गम्भीर ढंगले नै कुराहरु उठाएको थिएँ,’ दाहालले भने, ‘मलाई लाग्छ हाम्रो कूटनीतिक सफलताको परिणामस्वरुप महासचिव आउँदै हुनुहुन्छ, यसले नेपालको प्रतिष्ठामा र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्ने छ। उहाँ (संयुक्त राष्ट्रसंघका महासचिव) फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कूटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ।’

उनले पुराना दलहरूप्रति प्रश्न उठाउने कोशिस भइरहेको भन्दै त्यसको जवाफ दिने तयारी भइरहेको दाबी गरे।

‘यो विषय जसले उठाएको छ, जसको इतिहास, राजनीतिक मुद्दा, संघर्ष, संस्कार सबै हेर्यो भने कुनै औचित्य म देख्दिँन। तैपनि प्रश्न उठाउने कोशिस भएको छ। त्यो कुनै राष्ट्र र जनता, लोकतन्त्र र शान्तिका लागि भएको देख्दिँन,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले यसबीचमा आफ्नो दौडधुप राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएर जवाफ दिनेगरी भएको पनि बताए।

‘यो बीचमा मेरो दौडधुप प्रमुख राजनीतिक दलहरू एकैठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ। समय आएपछि सबैलाई थाहा हुन्छ। मैले त्यसलाई ठूलो चुनौती त ठानेको छैन, तर प्रश्न उठाउने कोशिस भने भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सबै पुराना दलहरुले जवाफ दिन्छौं, जवाफ दिने समय आउँदैछ।’

देउवा र माधवको बोली पनि एउटै

नयाँ दलले उठाएको प्रश्नमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल भने सकारात्मक सुनिए।

‘ठूला दलले काम गर्न सकेनन्। विस्थापित गर्नुपर्छ भनिरहेका छन्?’ भनी पत्रकारले सोधेको प्रश्नमा देउवाको जवाफ थियो, ‘मैले सकारात्मक लिएको छु। काम गर्नुपर्छ भनेर आएको हो नि यो कुरा। आलोचना गर्न दिनुस् न।’

पुराना राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास नघटेको दाबी गर्दै देउवाले पार्टीभित्र आफूले मेलमिलापको प्रयाससमेत जारी राखेको तर्क गरे। कांग्रेसमा संस्थापनइतरले देउवाको कार्यशैलीको विरोध गर्दै आएको छ। यद्यपि ‘मेलमिलाप दिवसमै पार्टीभित्र कलह छ नि?’ भन्ने पत्रकारको जिज्ञासमा देउवाले भने – मेलमिलाप गर्न खोजिरहेको छु नि, हरेक समस्याको समाधान गर्छु मैले।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ दलबाट समयमा आउने खबरदारीलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे। ‘देश संकटमा फसिरहेको छ। हामी अनेक अग्निपरीक्षामा सहभागी भएर अघि बढेका पार्टी हौं। फेरि जाँचिनुपर्छ भने जाँचिन तयार छौं,’ नेपालले भने।

विसं २०३३ सालमा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको छ।

सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रम आयोजना गरेका हुन्। पार्टी कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणहरू पनि कांग्रेसको चियापानमा सहभागी भएका थिए।