चीनको’चिकेन नेक’ कूटनीतिले नयाँ तरंग, थिम्पुसँगको सम्बन्धले दिल्लीलाई दबाब

मूलखबर संवाददाता
काठमाडौं

भुटानका विदेशमन्त्रीको हालैको चीन भ्रमणपछि दुई देश दशकौंदेखि चल्दै आएको सीमा विवाद अन्त्य हुने संकेत देखिएको छ। दुई देशबीच छिट्टै कूटनीतिक सम्बन्ध स्थापना हुने संकेत देखिएको छ । यी दुवै कुराले भारतको टाउको दुखाइ बढाउन सक्छ ।

भुगोलले चीन १४ वटा देशसँग सीमा जोडिएको छ। यस मध्ये भुटान यस्तो देशरु जससँग चीनको औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापित छैन। दुई देशबीच सीमा विवाद चल्दै आएको निकै लामो समय भयो।

चीन र भुटानबीचको सीमा विवादलाई भारतले आफ्नो सीमा विवादसँग जोडेर हेर्दै आएको छ। त्यतिमात्र होइन चीन-भारत सीमा वार्ताका क्रममा चीन-भुटान सीमा विवादले समेत स्थान पाउँदै आएको छ।

 तर पछिल्लोसमय भुटान भारतको परिधिबाट बाहिर निस्केर चीनसँग एकल रुपमा सीमा विवाद समाधानको दिशामा अगाडि बढिरहेको छ। त्यसका लागि यसै साता भुटानी विदेश मन्त्री डन्डी दोर्जी बेइजिङमा वार्तामा जुटे। बेइजिङबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिटिकल ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले दुई देशबीच छिट्टै कूटनीतिक सम्बन्ध स्थापना हुने घोषणा गरे।

बेइजिङमा भएको दूई समकक्षबीचको भेटमा चिनियाँ विदेश मन्त्री वाङले चीन र भुटान पहाड र नदीले जोडिएका परम्परागत मित्र देश भएको बताएका छन्।

‘चीन र भुटानबीच सीमा वार्ता सम्पन्न हुनु र कूटनीतिक सम्बन्ध स्थापना गर्न सफल हुनु पूर्णतया भुटानी राज्य र राष्ट्रको दीर्घकालीन र आधारभूत हितमा छ,’ उनले भने, ‘चीन एक अर्कालाई आधा बाटोमा भेट्न, ऐतिहासिक अवसरको फाइदा उठाउन। यो महत्वपूर्ण प्रक्रियालाई जतिसक्दो चाँडो पूरा गर्न र चीन–भुटानमैत्री सम्बन्धलाई कानुनी रूपमा सुधार र विकास गर्न इच्छुक छ।’

चीन-भुटान सीमा वार्ताका लागि भुटानी विदेश मन्त्री बेइजिङ पुगेका हुन्। विशेष गरी भुटानी सुरक्षा र सीमा विवाद नयाँ दिल्लीले हेर्दै आएकोमा पछिल्लो समय भुटान आफ्नै अग्रसरतामा चीनसँगको सीमा विवाद समाधानका लागि वार्ता गरिरहेको छ। यसै वर्षको सुरुवातमा खुन्मिङमा सीमा सम्बन्धी कार्यसमितिको बैठक भएको थियो।

भुटानका विदेश मन्त्री दोर्जीले भुटान एक चीन सिद्धान्तमा दृढतापूर्वक अडिग रहेको भन्दै सीमा विवादको शीघ्र समाधानका लागि प्रयास गर्न र कूटनीतिक सम्बन्ध स्थापनाको राजनीतिक प्रक्रियालाई अगाडि बढाउन चीनसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

त्यस्तै भुटानले राष्ट्रपति सी चिनफिङले अघि सारेका तीन प्रमुख विश्वव्यापी पहलहरूको उच्च प्रशंसा र समर्थन गर्ने जनाएको समेत चिनियाँ विदेश मन्त्रालयले दाबी गरेको छ।

यसैबीच चिनियाँ विदेश मन्त्री वाङले चीनले छिमेक कूटनीतिलाई सधैँ समग्र कूटनीतिक अवस्थाको प्राथमिक स्थानमा राखेको भन्दै, ठूला वा साना सबै देशको समानताको सिद्धान्तलाई सधैं पालना गर्दै आएको बताए।

‘हामी सबै देशको सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान गर्दछौं र साना र मझौला आकारका देशहरूको वैध आकांक्षा र चासोको सम्मान गर्दछौं। हामी विकासोन्मुख देशहरूको पक्षमा दृढतापूर्वक उभिनेछौं। हाम्रा अन्तर्राष्ट्रिय जिम्मेवारीहरू वहन गर्नेछौं, साँचो बहुपक्षीयताको अभ्यास गर्नेछौं। अन्तर्राष्ट्रिय सम्बन्धहरूको लोकतान्त्रिकरणलाई समर्थन गर्नेछौं र शक्तिहरूको सबै दादागिरीको विरोध गर्नेछौं,’ मन्त्री वाङको भनाइ उदृत गर्दै सिन्ह्वाले जनाएको छ।

गत सोमबार र मंगलवार बेइजिङमा दुई देशबीचको २५ औं चरणको सीमा वार्ता सम्पन्न भएको छ। वार्तामा भुटानका विदेश मामिला तथा बाह्य व्यापारमन्त्री ल्योन्पो (डा. टान्डी दोर्जी) र चीनका उपविदेशमन्त्री सुन वेइदोङ नेतृत्वमा वार्ता भएको भुटानी विदेश मन्त्रालयले जनाएको छ।

२०१६ मा २४ औं चरणको सीमा वार्ता सम्पन्न भएको थियो। सो वार्ताले विज्ञ समूहको गठन गरेको थियो। त्यसयता दुई देशबीच मन्त्रीस्तरीय सीमा वार्ता भएको थिएन। वार्तमा दुई देशले विज्ञ समूहले गरिरहेको कार्यको प्रसंसा गर्दै त्यसलाई अगाडि बढाउन तयार भएका छन्।

यसैबीच दूई देशबीच भुटान–चीन सीमाको सीमांकन र सीमांकनसम्बन्धी संयुक्त प्राविधिक टोली (जेटिटी) को जिम्मेवारी र कार्यसम्बन्धी सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। जेटीटीको स्थापना १३ औं विज्ञ समूहको बैठकमा भएको थियो। यो टोलीले तीन तहको मार्गचित्रलाई कार्यान्वयनलाई एकसाथ अगाडि बढाउन सँगै काम गर्ने छ।

भुटानले दुवै पक्षले द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा पनि विचार आदानप्रदान भएको जनाएको छ।

विदेश मन्त्री दोर्जीले चिनियाँ उपराष्ट्रपति हान झेङ र सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यीसँग पनि भेटवार्ता गरेको वक्त्वयमा उल्लेख छ।

दुई देशबीच सन् २०२१ मा सीमा विवाद समाधानका लागि तीन-चरणको मार्गचित्र सम्बन्धी एमओओयुमा हस्ताक्षर भएको थियो। त्यतिबेला चीनका सहविदेश मन्त्री उ चियाङहाओ र भुटानी विदेश मन्त्री दोर्जीले एमओयुमा हस्ताक्षर गरेका थिए।

दुई देशबीच सीमा विवाद समाधानका लागि सन् १९८४ देखि नै संवाद सुरु भए पनि यसले सफलता पाउन सकेको थिएन।

गत महिना मात्र दुई देशबीच सीमा विवादसम्बन्धी १३औँ विज्ञ समूहको बैठक (ईजीएम) बेइजिङमा सम्पन्न भएको थियो।भुटानको अन्तर्राष्ट्रिय सीमाका सचिव महामहिम लेथो तोब्धेन ताङ्बी र चीनको विदेश मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङको अध्यक्षमा भएको बैठकले २५ औं सीमा वार्ताको योजना तय गरेको थियो। १३ औं ईजीएमको बैठकले भूटान-चीन सीमाको सीमांकनमा संयुक्त प्राविधिक टोलीको स्थापनासमेत गरेको थियो। जसले १३ औं ईजीएमको साइडलाइनमा आफ्नो पहिलो बैठक आयोजना गरेको थियो।

यसैबीच चीन-भुटान संवाद जारी हुँदा तथा कुटनीतिक सम्बन्ध स्थापनाको तयारी हुँदै गर्दा भारतमा भने यसको तरंग फैलिएको छ। चीन र भुटानबीच ४७७ किलोमिटर सीमा जोडिएको छ। जसमध्ये दुई वटा क्षेत्र चीन, भारत र भुटानबीचको त्रिदेशीय सीमा क्षेत्र हो। भुटान र चीनबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध छैन। दुई देशबीच सीमा विवाद रहँदै आएको छ। दुई देशले १९८० देखि लगातार सीमा विवादसम्बन्धी समस्या समाधानका लागि छलफल गरिरहेका छन्।

दुई देशबीच भुटान-चीन सीमा क्षेत्रमा शान्ति कायम राख्नका लागि समझदारी भएको थियो। यो समझदारीमा चीनले भुटानको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई स्वीकार गरेको छ।

सन् १९५९ मा चीनका प्रधानमन्त्री चाउ इन लाइले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई पत्राचार गरी भुटानसँग प्रत्यक्ष सीमा वार्ता गर्ने प्रस्ताव राखेका थिए। सन् १९८० मात्र भुटान र चीनबीच सीमा वार्ता भएको थियो। त्यसअघि यस सम्बन्धी वार्ता भारतसँग हुँदै आएको थियो।

भुटान चीन र भारत दुबैका लागि रणनीतिक महत्त्वको राख्ने छिमेकी हो। उत्तर उत्तर पश्चिममा चीनको सवेदनशील क्षेत्र तिब्बत जोडिएको छ। अर्को तिर भारतको पूर्वोत्तर क्षेत्र भुटानसँग सीमा जोडिएको छ। जसलाई चीनले आफ्नो दाबी गर्दै आएको छ। भारतको रणनीतिक घेरामा भुटान रहँदै आएको छ। उसले भुटानलाई भारत र चीनलाई छुट्याउने ‘वफर स्टेट’को रुपमा लिँदै आएको छ।

भुटान सधैँ भारतसँग निकट सम्बन्ध राख्ने देश हो। यति सम्मकी उसले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाका लागि पनि अस्वीकार गरेको थियो।

तर, पछिल्लो पटक भुटान र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको चर्चा सुरु भएसँगै भारतीय सञ्चार माध्यमले भुटानको आलोचना गर्न थालेका छन्। नयाँ दिल्लीमा थिम्पुले ‘दोक्लाम’मा सम्झौता गरेको टिप्पणी सुरु भएको छ।

दोक्लामलाई भारतले आफ्नो सुरक्षाको महत्वपूर्ण चासोको रुपमा लिँदै आएको छ। सन् २०१७ मा दोक्लाममा भारत र चीन बीच तनाव सिर्जना भएको थियो। दुबै देशका सुरक्षाकर्मी एकापसमा भिडेका थिए। दोक्लामलाई चीनले चुम्बी उपत्यकाको हिस्सा मान्दै आएको छ। जुन सिक्किम र भुटानको सीमामा पर्छ। भारत, चीन र भुटानबीचको अर्को त्रिदेशीय विन्दु साक्तेन वन्यजन्तु संरक्षणको हिस्सा पर्छ। यहाँ पनि बेइजिङले दाबी गर्दै आएको छ।

चीन भुटानबीच सीमा वार्तालाई भारतीय चासोको मुख्य कारण भनेको भारतको सुरक्षा नै हो। चीनले दोक्लाममा आफ्नो उपस्थिति जनाए भारतीय पूर्वोत्तर राज्यलाई मुख्य भारतसँग जोड्ने सिलिगुडी करिडोर बेइजिङको राडरमा पर्छ। सिलिगुडी करिडोर भारतको ‘चिकन नेक’ हो। जसले भारतलाई तिब्बत, नेपाल, भुटान र बंगलादेशसँग जोड्छ।

यदि चीन र भुटानबीच सीमा सम्बन्धमा कुनै सम्झौता भयो भने त्यसको प्रत्यक्ष असर डोक्लाम त्रिदेशीय जंक्शनमा पर्न सक्छ । सन् २०१७ मा भारत र चीनका सेनाबीच ७३ दिनसम्म टकराव भएको थियो ।

भुटानले दाबी गरेको क्षेत्रमा चीनले सडक निर्माण गर्न खोजेपछि विवाद सुरु भएको हो । साथै, भुटानसँगको सीमा विवाद समाधान गर्न चीन सफल भएमा सबै छिमेकी मुलुकसँग सीमा सम्झौता गरेको छ भन्न सक्ने अवस्था हुनेछ ।