गाजा क्षेत्रको दैनिकीः कहाली लाग्दो युद्ध, पल पल त्रासमा बाँचेको जीवन

मूलखबर संवाददाता
काठमाडौं

गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमासबीचको हिंसाको पछिल्लो आक्रमणले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । अक्टोबर ७ मा सुरु भएको पछिल्लो आक्रमणयता दुवै पक्षले आक्रमणलाई तीव्र पारेका छन् । इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लिएको छ ।

यो युद्ध सुरु भएदेखि स्थानीयवासीले बिजुलीको अभाव व्यहोर्नु परेको छ । गाजापट्टीका स्थानीय ओसामा अली अबो हेजेमा पिउने पानी, खानेकुरा पनि अभाव हुँदै गएको बताउँछन् । तीन किलो पिठो पाउन ६ देखि आठ घण्टासम्म कुर्नुपरेको उनले बताए । त्यस्तै अर्का स्थानीयले आक्रमणका कारण विस्थापितहरूको संख्या धेरै ठूलो रहेको बताउँछन् । आफ्नो परिवार र आफन्त गरी ३०५ जना विस्थापित भएको उनको भनाइ छ ।

घाइतेहरूका लागि पानी लिन जाँदा पनि पानी नपाएको उनको गुनासो छ ।

यसैबीच, इजरायल भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायल र इस्लामिक प्रतिरोध आन्दोलन (हमास)बीच जारी द्वन्द्वका बीच इजरायललाई बेलायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै सुनकले आफू इजरायलसँग मित्रको रुपमा उभिएको र इजरायलले युद्ध जित्ने अपेक्षा रहेको बताए । नेतान्याहुले इजरायललाई युद्धको लागि निरन्तर समर्थन आवश्यक रहेको बताए । प्रधानमन्त्री सुनकले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेट गरे । भेटमा इजरायललाई समर्थन गर्न र गाजामा मानवीय सहायताका लागि आग्रह गरे ।

हमास लडाकुहरूले गाजा छोड्न नपाऊन् भन्ने र गाजातिर जान लागेका लरीहरूमा हतियार नभएको सुनिश्चित गर्ने इजरेलको चाहना छ। हुन त इजिप्टले मानवीय सहायता पुर्‍याउनका निम्ति र विदेश पासपोर्टधारीका लागि उक्त सीमानाका खुलाउने विषयमा सहमतिका लागि अरू देशसँग सहकार्य गरिरहेको छ। तर प्यालेस्टिनीहरू भागेर साइनाईतिर पुग्ने सम्भावनालाई लिएर ऊ चिन्तित देखिन्छ।

त्यो भएर इजिप्ट कसैका लागि र निस्किन खोज्ने गाजाका सबैका लागि सीमानाका खोल्न चाहेको देखिँदैन। इस्लामिस्ट लडाकुहरू इजिप्ट प्रवेश गर्न सक्ने सम्भावनालाई लिएर पनि त्यहाँको सरकार चिन्तित देखिन्छ।

अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद‍्मा द्वन्दग्रस्त गाजापट्टिमा मानवीय ‘करिडोर’ अनुमतिका लागि इजरायलसमक्ष गरेको प्रस्ताव रोक्नका निम्ति आफ्नो निषेधाधिकार (भिटो)को प्रयोग गरेको छ। उक्त प्रस्तावमा इजरायलले उत्तरी गाजाका बासिन्दालाई आफ्नो ठाउँँ छोडेर दक्षिणतिर जान दिएको आदेशलाई फिर्ता लिनुपर्ने सुझाव पेश गरिएको थियो। सुरक्षा परिषद‍्का १५ मध्ये १२ सदस्यले उक्त प्रस्तावको समर्थन गरेका थिए।

संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिंडा थोमस ग्रीनफील्डले इजरायलको आत्मरक्षा अधिकारबारे उल्लेख नगरि ब्राजिलका कूटनीतिज्ञले चलाखीपूर्ण ढंगले लेखेको प्रस्ताव मान्य नहुनेु बताउँदै भिटो गरेकी थिइन्। यद्यपी, जी–७ का दुई सदस्य जापान र फ्रान्सले उक्त प्रस्तावको समर्थन गरेका थिए।