इजरायलमा रहेका नेपालीको पुकारः हामीलाई घर फर्काउ सरकार !
प्यालेस्टाइनी समूह हमासले इजरायली सीमा क्षेत्रमा गरेको आक्रमणमा १० नेपाली मारिएको पुष्टि भैसकेको छ। एक जना वेपत्ता रहेको र कतिपय घाइते रहेको सरकारले बताएको छ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गरेकी छन् ।
मृत्यु हुनेहरुमा कैलाली, डोटी र दार्चुलाका २–२ जना छन् । यसैगरी बझाङ, दार्चुला, धनुषा, सुनसरी र सल्यानका १–१ जना छन् । सल्यान र दाङ, कैलाली र गोरखाका एक–एक जना अस्पताल भर्ना भएका छन् । भीमदत्त ३ कन्चनपुर घर भएका एक जना सम्पर्कविहीन छन् ।
इजरायलमा ४५ सय भन्दा बढी केयर गिभरका रूपमा कार्यरत नेपाली छन् भने केही संख्यामा विद्यार्थी कृषि अध्ययनका लागि रहेका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र यो युद्ध लामो र कठिन रहने वक्तव्य दिएपछि त्यहाँ असुरक्षा थप बढेको छ। जसका कारण पनि नेपालीहरु आत्तिएका छन्। हमास र इजरायली सेनाले निरन्तर आक्रमण जारी रहेपछि त्यहाँ रहेका नेपालीहरुले आफूहरुलाई घर फर्काइदिनका लागि अपिल गरेका छन्। इजरायलको नेटिभोट नजिकैको कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थीहरुले आफूहरु आक्रमण भएको स्थानबाट ३० किलोमिटरको दूरीमा रहेको बताएका छन्। तीमध्ये एक नेपाली विद्यार्थीले मूलखबरसँग कुरा गर्दै भने, ‘हामीलाई बंकरमा राखिएको थियो। त्यहाँ बंकरमा पनि असुरक्षा बढेपछि भागेर आक्रमण भएको स्थानबाट अलि टाढा पर्ने क्याम्पमा सरेका छौं।’
उनले आफ्नै केही साथीहरु पनि सम्पर्कमा नभएको र सबै विद्यार्थी साथीहरु त्रसित अवस्थामा भएकोले नेपाल फर्काउनका लागि पहल गरिदिन अपिल गरेका छन्। उनले थपे, ‘यहाँ ज्यान जोगाउन निकै गाह्रो छ। हामीहरुलाई जसरी भए पनि अब नेपाल फर्काइ दिनुपर्यो।’ उनले ‘बेनी अमर फार्म’मा आफूसहित ९ जना रहेको बताए। उनले थपे, ‘आफूसँगै आएका साथीहरु आक्रमणमा परेपछि हामीलाई निकै डर लागेको छ।’ उनले आफूहरु अहिलेसम्म सकुशल भए पनि तस्बिर र नाम उल्लेख नगरीदिन पनि आग्रह गरेका छन्।
उनका अनुसार आफूहरुसँग आएका मध्ये किबुता अलुमिममा १७ जना, सेरासिम फार्ममा ३ जना, रहमिम मुग्राही फार्ममा ४ जना, दयिदैयानमा ११ जना, कन्दुस फार्ममा ४ जना र बेनी अमाम फार्ममा ९ जना नेपाली विद्यार्थीहरु रहेका छन्।
इजरायलले पनि काउन्टर अट्याक थालेपछि त्रासदीपूर्ण अवस्थामा बस्न नसकिने नेपाली विद्यार्थीले बताए। उनले भने, ‘कतै बाहिर निस्किन सक्ने अवस्था छैन। अब एक-दुई दिनमा खानाको पनि समस्या हुने स्थिति छ। यस्तो अवस्थामा यहाँ बस्नुभन्दा नेपाल फर्काइयो भने ज्यान त जोगिन्छ।’
यद्यपि सरकारले त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा भने कुनै निर्णय गरेको छैन। परराष्ट्रमन्त्री साउदले संसद्लाई यसबारे जानकारी दिँदै भने, ‘इजरायलमा भएको यस दु:खद् घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको छ। परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठित संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नको लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ।’
परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नको लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरणको कार्य भइरहेको जानकारी दिएका छन्। इजरायलमा हाल ४५ सय नेपालीहरु केयरगिभरको रुपमा कार्यरत छन् भने २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत काम गरिरहेका छन्। यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए।
एक नेपाली विद्यार्थीले मूलखबरसँग कुरा गर्दै भने, ‘हामीलाई बंकरमा राखिएको थियो। त्यहाँ बंकरमा पनि असुरक्षा बढेपछि भागेर आक्रमण भएको स्थानबाट अलि टाढा पर्ने क्याम्पमा सरेका छौं।’
इजरायलमा जारी युद्धमा घाइते भएका सुदूरपश्चिमका एक विद्यार्थीका परिवारका सदस्यले उनको पछिल्लो स्वास्थ्य अवस्था र परिस्थितिबारे थप जानकारी प्राप्त हुन नसकेको जानकारी दिए। गैरआवासीय नेपाली संघका अनुसार सेदोट नेगेभ कृषि केन्द्रमा प्रयोगात्मक अध्ययन एवं रोजगारीमा पुगेका नेपालीहरू घाइते भएका हुन्। घाइते भएका नेपालीमध्ये २५ वर्षका गणेशकुमार नेपाली पनि भएको तेल अभिभस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ।
इजरायलमा भएको आक्रमणमा घाइते भएका दाङका प्रविण डाँगीले अस्पतालको बेडबाट नर्सको मोबाइलबाट परिवारलाई सम्पर्क गरेका छन्। खुट्टामा गोली लागेर हिजोदेखि सम्पर्कविहीन दाङको दंगीशरण गाउँपालिका वडा नं ३ हेकुलीका २३ वर्षीय प्रविण डाँगीले अस्पतालबाट बुबालाई कुराकानी गरेपछि परिवारमा थोरै भए पनि सान्त्वना मिलेको उनका बुबा निमबहादुरले जनाएका छन्। ‘छोरासँगै भिडियो कुरा भयो, नर्सको मोबाइलबाट गरेको बताएको छ। खुट्टामा गोली लागेकाले अब अपरेशन गर्ने तयारी रहेछ।’
इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका दार्चुलाको लेकम-५ का दिपेश राज विष्टका आफन्तले उनी सम्पर्कमा नआएको र अस्पतालमा भए-नभएको पनि कुनै जानकारी नभएको बताएका छन्। उनका दाजु पर्ने जनकराज जोशीले भने, ‘दिपेश हिजोदेखि सम्पर्कमा छैन। उनका साथीहरुलाई बुझ्दा अस्पताल लगेको देखेको बताइरहेका छन्। यसबारे न त नेपाल सरकारलाई थाहा छ, न त्यहाँ दूतावासलाई नै केही जानकारी छ। हामी आत्तिएका छौं।’
यसैगरी चितवन कृषि विश्वविद्यालयका विद्यार्थीले पनि सहयोगको अपील गरेका छन्। आइतबार साँझ सुरक्षित स्थलमा जानको लागि झोला प्याक गर्न भनिएपनि पुनः सुरक्षा संयन्त्रले बाहिर निस्किए जीउकै जोखिम हुने भन्दै बाहिर निस्किनुभन्दा बंकर भित्रै बस्न सुरक्षित रहेको सूचना निकालेपछि उनीहरु उद्धार टोली कुरेर बसिरहेका छन् ।
‘विश्वविद्यालयबाट हरेक टीमका एक एक जनासँग सम्पर्कमा छौँ’, एक विश्वविद्यालयका एक अधिकारीले मूलखबरलाई भने, ‘३४ जना विद्यार्थी बंकरभित्र ज्यान बचाउने अपिलमा बसिरहेका छन् । उनीहरुसम्म स्थानीय उद्धार टोली पुगेको सूचना अहिलेसम्म आएको छैन ।’
कृषि विश्वविद्यालयकै जिम्मेवार पदमा बसेका व्यक्ति तथा विद्यार्थीले युद्धरत क्षेत्रमा फसेका विद्यार्थीलाई फिर्ता ल्याउन भन्दै सामाजिक सञ्जालमा रकम संकलन अभियान चलाएका छन् ।
कहाँ सम्पर्क गर्ने, कसलाई भन्नेः यस्तो छ सरकारको सूचना