करातेमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत करातेमा नेपालले ऐतिहासिक रजत पदक जितेको छ । महिला ६८ केजी तौल समूहमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी हुन् ।

यससँगै १९औं एसियाली खेलकुदमा नेपालले जितेको पदकको संख्या दुई पुगेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

करातेमा क्वाटरफाइनल र सेमिफाइनल जित्दै फाइनलमा पुगेकी एरिका निर्णायक खेलमा काजखस्तानकी सोफ्या बेरुल्त्सेभासँग ३–० ले पराजित भएपछि स्वर्णबाट बन्चित भइन् ।

सोप्याले जुलाईमा मलेसियामा भएको एसियन कराते च्याम्पियनसिपमा यही तौल समूहमा स्वर्ण जितेकी थिइन् । एरिकाले भने एसियाड आउनुअघि इन्डोनेसियामा भएको १०औं वर्ल्ड सितेरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

एसियाली खेलकुदका यसअघि भएका तीन संस्करणमा नेपालले एक–एक कास्य पदक मात्र जितेकोमा यसपटक २ पदक जित्नुलाई ऐतिहासिक मानिएको छ ।