दाङमा पहिलोपटक बन्यो मल्टिप्लेक्स सिनेमा हल

मूलखबर संवाददाता
काठमाडौं

घोराही । दाङ जिल्लामै पहिलोपटक मल्टिप्लेक्स सिनेमा हल बनेको छ ।

सदरमुकाम घोराहीका विजय रावत र चेतनजंग कुँवरले झण्डै घोराही उपमहानगरपालिका–८ सौंडीकुलामा सुविधा सम्पन्न मल्टिप्लेक्स सिनेमा हल निर्माण गरेका हुन् ।

उनीहरुले यो हल बनाउन झण्डै २० करोड खर्च भएको दाबी गरेका छन् । ‘झन्डै तीन वर्ष पहिलादेखि सिनेमा हल बनाउन सुरू गरेका थियौं । अहिले निर्माण सम्पन्न हुँदासम्म जग्गासहित झण्डै २० करोड खर्च भयो,’ रावतले भने ।

असोज २६ गतेदेखि हलमा व्यवसायिक रूपमा सिनामा प्रदर्शन सुरू हुने उनले जानकारी दिए । पहिलो दिन नेपाली चलचित्र ‘परदेशी २’ प्रदर्शन हुनेछ ।

हलमा दुई वटा स्क्रिन छन् । एउटा हलमा २४७ र अर्को हलमा १६५ गरी जम्मा ४१२ सिट क्षमता छ । दुबै हलमा सुतेर फिल्म हेर्न मिल्ने सुविधा छ । सुतेर सिनेमा हेर्न मिल्ने सिटको प्रतिव्यक्ति साढे ५०० सय र अन्य सिटको साढे ३०० रुपैयाँ शुल्क तोकिएको छ ।