पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी छ : मन्त्री किराती

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) को ४५औँ साधारणसभामा मन्त्री किराँतीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा जोड दिए । त्यसो हुन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताउँदै उनले भने, ‘जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका छौँ, अफसिजनमा पनि पर्यटक ल्याउन सक्ननुपर्छ ।’

नेपालले छिमेकी मुलुक भारत र चीनबाट बाहिरिने पर्यटकको कूल सङ्ख्याबाट शून्य दशमलव पाँच प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने पनि नेपाल पर्यटनको हव बन्ने बताए ।

नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्न सकेमात्र पनि पर्यटन विकासमा सहयोग पुग्ने बताए ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानमा सरकार लाग्ने बताइन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकास र विस्तारमा टानले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने धारणा राखे ।