नेपाल भारतबीच विद्युत आयात निर्यात क्षमता बढाउने सहमति
नेपाल र भारतले अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् आयात क्षमता १ हजार ५ सय ३० र निर्यात क्षमता १ हजार ८ सय ५० मेगावाट पुर्याउने गरी सहमति गरेका छन् ।
नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बुधबार पोखरामा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औं बैठकले यस्तो सहमति गरेको हो ।
नेपाल र भारतले ढल्केवर–मुजफ्फरपुर तथा निर्माणाधीन ढल्केवर–सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत विद्युत् आयात क्षमता १ हजार ४ सय मेगावाट र निर्यात क्षमता १६ सय ५० मेगावाट पुर्याउने सहमति पनि गरिएको छ । निर्माणाधीन नयाँ बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनबाट प्रारम्भिक चरणमा १ सय ३० मेगावाटसम्म विद्युत् आयात र २ सय मेगावाटसम्म निर्यात गर्न सकिने सहमति भएको छ ।
नेपाल र भारतले अन्तरदेशीय प्रसारणलाइन विस्तार गर्दै विद्युत् आयात–निर्यात क्षमता उल्लेख्य रूपमा बढाउने सहमति गरेका हुन् । बैठकले ढल्केवर–मुजफ्फरपुर प्रसारणलाइनबाट हुने संयुक्त विद्युत् प्रवाहको क्षमता वृद्धि, अन्तरदेशीय प्रसारणलाइनहरूको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत तथा निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।



