नाट्टाको महासचिव पदका लागि सुशील पन्तको उम्मेदवारी घोषणा, काे हुन् पन्त ?

मूलखबर संवाददाता
काठमाडौं, २३ असार ।

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६-२०२८ कार्यकालका लागि अनुभवी पर्यटन व्यवसायी सुशील पन्तले महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

पर्यटन, शिक्षा, अन्तर्राष्ट्रिय स्वयंसेवा तथा समाजसेवाका क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बोकेका पन्तले “अनुभव, नवप्रवर्तन र समावेशी नेतृत्व” को नारासहित उम्मेदवारी घोषणा गरेका हुन्।

सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय पन्त गोरखा इन्टरनेशनल ट्राभल्सका निर्देशक तथा एडभेन्चर गोर्खाल्याण्ड ट्रेक्स एन्ड एक्सपिडिसनका नेतृत्वकर्ता हुन्। उनले पर्यटनलाई केवल व्यवसायका रूपमा नभई अन्तर्राष्ट्रिय मित्रता, स्थानीय समुदायको आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणको माध्यमका रूपमा अघि बढाउँदै आएका छन्। NATTA लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थामा सक्रिय रहँदै आएका सुशील पन्त यसपटक जी स्वा तुलाधर नेतृत्वको प्यानलबाट NATTA को आगामी कार्यसमितिका लागि महासचिव पदमा उम्मेदवारी दिएका छन्।

पन्तले VITOF Nepal र SOTTO Nepal मा कार्यकारी सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। साथै, उनी PATA, TAAN तथा Thamel Tourism Development Council (TTDC) का सदस्यसमेत हुन् र पर्यटन क्षेत्रका गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्।

रोचक पक्ष के छ भने, पन्तले पहिलो पटक NATTA कार्यसमितिमा प्रवेश गर्ने उद्देश्यले पनि जी स्वा तुलाधरकै विरुद्ध निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला उनी पराजित भएका थिए। अहिले भने सोही टोलीबाट पुनः उम्मेदवारी घोषणा गर्दै महासचिव पदको प्रतिस्पर्धामा उत्रिएका छन्।

स्रोतका अनुसार, पर्यटन व्यवसायमा आबद्ध भएदेखि नै पन्त NATTA का विगतका निर्वाचनहरूमा नेतृत्व चयन प्रक्रियामा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थामा उनको निरन्तर सक्रियता र अनुभवका कारण यसपटकको उम्मेदवारीलाई पनि चासोका साथ हेरिएको छ।

शिक्षा र पर्यटनलाई सँगै जोड्ने उद्देश्यका साथ उनले प्रेसियस नेशनल कलेज सञ्चालन गर्नुका साथै नेपाली विद्यार्थीलाई जापानी विश्वविद्यालयसँग जोड्ने पहल गरेका छन्। साथै, सन् २००९ देखि KIVO Japan (International Student Volunteering Cooperation) मार्फत करिब एक हजार जापानी स्वयंसेवकलाई गोरखा र धादिङका ग्रामीण क्षेत्रमा शिक्षा, समुदाय विकास, वातावरण संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रममा सहभागी गराउँदै नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुर्‍याएका छन्।

समाजसेवामा पनि सक्रिय पन्तले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि Entire Power in Special Action Nepal स्थापना गरी शिक्षा, सीप विकास र सामाजिक समावेशीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएका छन्। समावेशी पर्यटन प्रवर्द्धनका लागि उनले नेपालमा पहिलो Rainbow International Convention आयोजना गर्न समेत सहकार्य गरेका थिए।

‘नाट्टालाई अझ प्रभावकारी, पारदर्शी, प्रविधिमैत्री र सदस्य–केन्द्रित संस्थाका रूपमा विकास गर्दै नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनु मेरो प्रमुख लक्ष्य हो,’ पन्तले बताएका छन्।

उनले महासचिव पदको उम्मेदवारीलाई व्यक्तिगत आकांक्षा नभई सम्पूर्ण पर्यटन व्यवसायीको साझा हित, संस्थागत सुदृढीकरण र नेपालको पर्यटन उद्योगको दिगो विकासप्रतिको प्रतिबद्धताका रूपमा अघि सारेको बताएका छन्।