‘नाङ्गो गाउँ’ हेरेर भावुक भइन् हिसिला, बाबुरामले जनाए यस्तो प्रतिक्रिया

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । भदौको २९ गतेबाट रिलिजमा आएको नेपाली फिल्म ‘नाङ्गो गाउँ’ हेर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पती पनि फिल्म हल पुगेका छन् । दोस्रो सातामा चलिरहेको यो फिल्म हेरेर बाबुराम पत्नी हिसिला यमी भावुक बनिन् ।

बाबुराम दम्पती नाङ्गो गाउँ फिल्म हेर्न मंगलबार सिभिल मल पुगेका थिए । फिल्मको कथावस्तु र विशेषगरी क्लाइमेक्स सिन हेर्दा हिसिलाका गह आँसुले भरिए । उनले आफूलाई सम्हालिन् र फिल्म सकिएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै फिल्मको कथावस्तु मन परेको बताइन् । यद्यपि मुख्य पात्रले गाउँ छाडेको कुरामा भने उनको चित्त बुझेन ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले पनि फिल्म मन परेको बताए । फिल्मको अन्तिममा मुख्य पात्रले गाउँ छाडेको कुरा भने मन नपरेको बताउँदै उनले भने, ‘अरु कुरामा भने फिल्ममा आलोचना गर्नुपर्ने ठाउँ छैन ।’

श्रीमती हिसिला फिल्म हेर्दा भावुक बनेकोबारे पत्रकारले मागेको प्रतिक्रियामा बाबुरामले भने, ‘फिल्मले छोएपछि आँखाबाट आँसु आइहाल्छ नि ।’ निर्देशक दीपेन्द्र लामाको कामको उनले प्रशंसा गरे ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता राम श्रेष्ठ हुन् ।