सुनकाण्ड अनुसन्धान प्रतिवेदन आजः प्रमुख योजनाकारबारेको सिआइबीको यस्तो निष्कर्ष

मूलखबर संवाददाता
काठमाडौं

लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ।

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकोले आज बुझाउने तय भएको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ। संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ। यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ। त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन्। पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन्। उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन्।

को हो मुख्य योजनाकार !
सीआईबी र राजश्व अनुसन्धान कार्यालयले ३० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । १९ दिनको अनुसन्धानपछि विभागले सीआईबीलाई जिम्मा लगाएको थियो । त्यसपछि केही चिनियाँ नागरिकसहित नेपालीहरू पक्राउ परेका छन् । बुझाउन लागेको राय प्रतिवेदनमा एलेक्स भनिने याओ पुचेङ्ग मुख्य अभियुक्त भएको निष्कर्ष निकालेको सीआईबी स्रोतले मूलखबरलाई बतायो ।

‘एलेक्स मुख्य योजनाकार भएको तथ्य खुलेको छ, उनले नै नेपाल हुँदै भारतसम्म सुन पु¥याउने गरेको देखियो,’ स्रोतले मूलखबरलाई भन्यो । बेल्जियन नागरिक दावा छिरिङ नेपालका हाइप्रोफाइलसँग सम्बन्ध विस्तार गर्ने र उनीहरूसँग सेटिङ मिलाउने गरेको देखिएको सीआईबीले जनाएको छ ।

राजश्व अनुसन्धान विभागले प्रहरीलाई मुद्धा बुझाउने अन्तिम समयमा ठमेलमा होटल सञ्चालन गर्दै आएका दावालाई पक्राउ गरेको थियो । शुरूमा उनलाई नै मुख्य योजनाकार भएको ठानिएको थियो । तर सीआईबीले त्यसको जरैसम्म पुग्ने कोसिस गरेर नयाँ सुन कनेक्सन पत्ता लगाएको दाबी गरेको छ । दावाले नेपालमा ‘व्यवस्थापक’को भूमिका निर्वाह गर्दै आएका थिए । तस्करहरूलाई खानेबस्ने ठाउँको व्यवस्था मात्रै नभएर युवतीसमेत मिलाउने गरेको अनुसन्धानमा खुलेको सीआईबी स्रोतले जनाएको छ ।

उनले चिनियाँ नागरिकलाई नेपालको नक्कली नागरिकता र राहदानी (पासपोर्ट) बनाउनेसम्मको भूमिका खेलेको अनुसन्धानमा देखिएको छ । मुख्य अभियुक्त एलेक्सलाई नेपाली नागरिकता दिलाउने काम पनि उनैले गरेको प्रहरीले जनाएको छ । सीआईबीको अनुसन्धानमा छायाँ सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’को भूमिका देखिएको छ । मुख्य अभियुक्त एलेक्सले त्यहाँबाट क्रिफ्टो करेन्सी र हुण्डीमार्फत हङ्कङ पैसा पठाउने गरेको खुलेको हो । सीआईबीले क्यासिनोका व्यक्तिहरूसँग पनि बयान लिएको स्रोतले बतायो ।

हङ्कङबाट सुन आएको देखिएपछि सीआईबीले एसएसपी दिनेश आचार्यलाई त्यहाँ अनुसन्धानका लागि पठाएको थियो । उनले केहीदिन बसेर त्यहाँको सत्यतथ्य ल्याएर आएका थिए । उनले हङकङबाट नेपालमा ‘लिन’का व्यक्तिले सुन पठाउने गरेको निष्कर्ष उनले लिएर आएका थिए त्यो पनि प्रतिवेदनमा समावेश गरिएको छ ।

६०.७१६ केजी सुन प्रकरणमा मुछिएपछि गृह मन्त्रालयले अध्यागमन विभागका निर्तमान महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालय तानेको थियो । सुन प्रकरण बाहिर आएलगत्तै उनले मोबाइल फोन फम्र्याट गरेको देखिएको छ । सीर्आइबीले उनलाई पनि कागज बयान गराएको छ । ‘उहाँले केस बाहिर आउनेबित्तिकै मोबाइल फम्र्याट गरेको देखिएको छ,’ सीआईबी स्रोतले भन्यो । सीर्आइबीले उनको मोबाइल अनुसन्धानका लागि फरेन्सिक ल्याब पठाएको थियो तर केही तथ्य फेला नपरेको स्रोतले बतायो ।