नेपाली कांग्रेसको राजनीतिः नेतृत्वमा पुग्न दुई भाइ कोइरालाका दुई दाउ

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा कोइराला परिवार विभाजित छ । एकातिर शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको संस्थापनलाई निरन्तर चुनौति दिइरहेका छन् भने अर्का भाइ शशांक कोइराला भने देउवाकै गुटबाट सभापति पाउने आशमा छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारकै शेखर कोइराला सभापतिमा उठ्दा मौनता साधेका शशांक कोइरालाले भावी नेतृत्वका लागि अघि बढ्ने आशय व्यक्त गर्न थालेका छन् । यसमा पनि शशांकले कोइराला विरासत ढालेर कांग्रेसमा उदाएका वर्तमान सभापति ‘शेरबहादुर देउवाकै उत्तराधिकारी बन्छु’ भन्ने अभिव्यक्ति दिएका छन् । उनको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा बटुलेको छ ।

गत बुधवार चितवन पुगेका शशांकलाई तपाईं देउवाको समूहबाट सभापतिको उम्मेदवार बन्न लाग्नुभएको हो भन्दै सञ्चारकर्मीले प्रश्न गरे । शशांकले भनिदिए, ‘हो यस्तो सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’ सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्मका साथीहरूसँग भेटघाट गर्छु, उहाँहरूको विचार सुन्छु अनि अनि मात्रै निर्णय गर्छु ।’

कुनै बेला देउवाले गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, रामचन्द्र पौडेल र शेखरसँग प्रतिस्पर्धा गरेका थिए । शशांक झण्डै तीन वर्षपछि उनै देउवाकै सहमतिमा सभापतिका उम्मेदवार बनाइएलान् ? अहिले नै यसको कुनै आकार र समीकरण बनेको छैन ।

सभापतिमा देउवाले आधा कार्यकाल (२१ महिना) मात्रै गुजारेकाले नेतृत्व फेर्ने समय पनि आएको छैन । तर कांग्रेसका संस्थापक बीपी कोइरालाका कान्छा पुत्र शशांकको देउवासँग नजिक हुनेबारे आएको यो आत्मविश्वासपूर्ण अभिव्यक्तिले भने कांग्रेसमा एउटा कम्पन पैदा गरेको छ ।

‘उहाँ कसरी १३ औं महाधिवेशनमा महामन्त्री जित्नुभयो । सबैले देखेका छन् । गुटबन्दीबाट माथि उठ्नुपर्छ भन्ने उहाँको सधैंको मान्यता छ । यसैले सबैलाई मिलाएर अघि बढ्छु भन्न उहाँले पाउहुुन्छ,’ शशांक निकट एक नेताको भनाइ छ, ‘रामचन्द्र दाइ र शेखर दाइले नजितेपछि अब पालो उहाँकै हो । यसमा पनि अझ सबैको सहमतिमा सभापति बन्न सक्छु भन्न किन नपाउने ?’

आँखाका डाक्टर शशांकलाई गिरिजाले राजनीतिमा ल्याएपछि उनले सांसद हुन कुनै पापड बेल्नुपरेको छैन । २०६४ पछिका सबै चुनावमा उनी नवलपरासीबाट चुनाव जित्दै आएका छन् ।

१२ औं महाधिवेशनमा २०६७ सालमा पहिलोचोटी केन्द्रीय सदस्य भएका शशांक २०७२ मा सहजै महामन्त्रीमा निर्वाचित भए । तर २०७८ मा भएको १५ औं महाधिवेशनमा देउवा र शेखरबीच सभापतिमा प्रतिस्पर्धा हुँदा शशांक केन्द्रीय सदस्यमा मात्रै लडे ।

तर आफ्नै काकाकाकी केशव–नोनाका पुत्र शेखर सभापतिमा उठ्दा भने शशांकले मौनता साधिदिए । परिणामः देउवाले लगातार दोस्रोपटक पनि कोइरालाको विरासत पल्टाइदिए । यसैले कोइराला विरासत पल्टाउने देउवाकै रोजाइमा सभापतिको उम्मेदवार बन्लान् शशांक ?

बीपीपुत्रको लाभ र बोलीमा मिठास हुनुबाहेकका संगठनात्मक शक्ति र अरु सामथ्र्य भने शशांकसँग नभएको आरोप लाग्ने गर्छ । न त राजनीतिक सक्रियता र क्षमता नै उनले देखाउँदै आएका छन् । सबैले आदर्श मान्ने बीपीका छोरा हुनुको फाइदा उठाएर एजेण्डामा शशांक हस्तक्षेपकारी बन्न सकेका छैनन् । बरु उल्टै उनका हलुका अभिव्यक्ति विवादित बनिदिन्छन् ।

शेखर फेरि गगनसँगै
१४औं महाधिवेशनमा एउटै टीममा रहेका सभापतिका प्रत्यासी डा. शेखर कोइराला र महामन्त्री गगन थापा कतिपय विषयमा असमझदारीकाबीच फेरि सँगै हिँड्ने बिन्दुमा पुगेका छन् । एक भएर अगाडि नबढे १५ औं महाधिवेशनमा पूर्व संस्थापनको बिजोग हुने भएपछि सम्बन्धलाई प्रगाढ बनाएर अगाडि बढ्न उनीहरूमाथि दबाब थियो ।

एक अर्काविरुद्ध विश्वासमा अघि बढ्ने, नेता र टीमको भविष्य सुरक्षित गर्ने दबाबपछि उनीहरू समझदारी बढाएर जान तयार भएका हुन् ।

२००३ सालमा स्थापना भए यता २०७२ सालसम्म कांग्रेसको संस्थापन कोइरालाहरू र उनीहरूको विश्वासपात्र वरिपरि घुमिरह्यो । तर, त्यसयताको ८ वर्ष र अबको तीन वर्ष पनि कोइराला विरासत वा पूर्व संस्थापनबाट नेतृत्व टाढै रहन्छ, किनकि २०७२ र २०७८ मा भएको १३ र १४ औं महाधिवेशनबाट पूर्व संस्थापनलाई सभापति शेरबहादुर देउवाले नमीठो झट्का दिएका थिए । यसैले आफ्ना व्यक्तिगत असन्तुष्टिलाई थाती राखेर भए पनि मिलेर अगाडि बढ्न शेखर र गगन दुवैलाई दबाब बढेको हो ।

गत महाधिवेशनमा सभापतिमा पराजित भएका शेखर र महामन्त्री जितेका गगन दुवैले आगामी महाधिवेशनबाट सभापतिलाई लक्ष्य बनाएका छन् । यही स्वार्थमा एक अर्काको आकांक्षापछि अभिव्यक्ति र प्रयासले उनीहरूलाई टाढा बनाउने हो कि भन्ने देखिएको थियो ।

देउवाविरुद्ध बोलाइएका गुटगत भेला रोक्ने, देउवासँगै विभिन्न स्थानका कार्यक्रममा जाने, मन्त्रीमा गगनसँग सल्लाह नगरी नाम पठाउने जस्ता गतिविधि शेखरले थालिसकेका थिए । पार्टी प्रणालीका कतिपय विषयमा सभापतिसँँगै देखिए पनि शेखरले आफू नजिक हुन नखोजेको प्रतिक्रिया दिएका थिए । तर गगनले आफूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएपछि केही नेताको पहलमा दुवैलाई फेरि सँगै हिँडाउने प्रयास भएको थियो ।

पार्टी विभाजन गराएपछि फेरि एकता गरे पनि कुनै नेता स्थापित भएको इतिहास नेपालको राजनीतिमा बिरलै छ । तर देउवाले पार्टी फुटाएर एकतापछि पनि आफूलाई पार्टीको उच्च पदमा पुर्‍याएरै छाडे । यस क्रममा देउवाले लगातार दुई महाधिवेशनमा पूर्व संस्थापनलाई तितरबितर बनाइदिए । यसैले १५ औं महाधिवेशनबाट पुरानो विरासत फर्काउन पनि मिलेरै अगाडि बढ्नुको विकल्प शेखर र गगन दुवैसामु नदेखिएको हो । नमिल्दा फेरि पनि सबैथोक गुमाउनुपर्छ भन्ने बोध दुवैलाई भएको निकटस्थहरू बताउँछन् ।

१३ औं महाधिवेशनमा पूर्व संस्थापनपक्षीय महाधिवेशन प्रतिनिधि १९ सय हुँदा पनि १३ सय प्रतिनिधि भएका देउवा हावी भए । कोइराला विरासतका शशांकलाई आफूतिर ढल्काउँदै रामचन्द्र पौडेललाई दोस्रो चरणमा देउवाले सभापतिमा पराजित गरिदिए । यसक्रममा कुनै समयका कोइरालाहरूका विश्वासपात्र कृष्णप्रसाद सिटौलाको बलियो साथ समेत देउवाले प्राप्त गरे ।

यतिमात्रै होइन १४ औं महाधिवेशनपछि त कोइराला विरासतकै शेखरलाई नै देउवाले माथ दिए । दुई वर्ष अगाडिको यो महाधिवेशनमा पूर्व संस्थापन झन् तितरबितर हुन पुग्यो । रामचन्द्र पौडेल, शशांक, सुजाता, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला कोही पनि शेखरको पक्षमा उभिएनन् । यसैले देउवाले दोस्रो चरणमा पुगेको निर्वाचन पनि सहजै जित्न पुगे ।

कोइराला विरासतले मात्रै अब कांग्रेस चल्दैन, यो एक सय प्रतिशत दाबीका साथ भन्न सकिने विषय हो । डा. शेखरले समेत यो कुरा पटक–पटक भन्दै आउनुभएको छ,’ शेखर निकटकै एक नेता भन्छन्, ‘यसैले सबैसँग समन्वय गरेर सबैको मन जित्ने गरी अगाडि बढ्न सक्ने नेता मात्रै सफल हुन्छ । यस क्रममा उहाँहरूले पारिवारिक समझदारी पनि बनाउनुपर्ने हुन्छ ।’

शेखर स्थापित हुन र नेतृत्वमा पुग्न पनि समझदारी आवश्यक भएको ती नेता बताउँछन् ।