प्रचण्ड सरकारको कूटनीति सन्तुलन सूत्रः अमेरिकाबाट चीन जानुको कारण यस्तो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को न्युयोर्क र बेइजिङ जाने तय भैसकेको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने ७८ औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्रीको टोली भदौ ३० न्युयोर्क प्रस्थान गर्नेछ । न्यूयोर्कपछि टोली बेइजिङ जाने छ।
अर्थात् प्रचण्ड आगामी असोज ४ गते अमेरिकाबाट चीन जाँदै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक चीन भ्रमणमा जाँदै छन् । भारत र इटालीको भ्रमण गरिसकेका प्रचण्डले अमेरिका र चीनको भ्रमणसँगै गर्दैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल हुने भएको छ ।
कतिपयले प्रचण्डले अमेरिकाबाटै चीन जाने तयारी गरेकोका प्रश्न उठाएका छन्। यद्पि प्रचण्डको भ्रमणले नेपालले दुई छिमेकी सन्तुलन राख्ने र आकाशका छिमेकीलाई पनि उत्तिकै प्राथमिकता दिएर सहकार्य गर्न चाहेको सन्देश दिँदै छन्। यस पटकको कार्यकालका प्रचण्डले छिमेकी देश मात्र होइन युरोप र अमेरिका पनि भ्रमण गरेर नेपालको विस्तार भैरहेको कूटनीतिक इन्गेजमेन्टको झल्को पनि दिएका छन्। चीन र भारतलाई सन्तुलनमा राखेर उच्चतम लाभ लिने र अमेरिका लगायतका आकाशका छिमेकीसँग देशको हितलाई केन्द्रमा राखेर सहकार्य बढाउने प्रचण्डको प्रष्ट दृष्टिकोण देखिन्छ।
वासिङ्टनबाट बेइजिङ जाने प्रचण्डको योजना संयोगले संसारको पहिलो र दोस्रो अर्थतन्त्र जोड्ने कूटनीति जस्तो पनि देखिन पुगेको छ। नेपाल छिमेकी मुलुक मात्र होइन संसारमा सामरिक शक्ति संघर्षमा रहेका मुलुकबीच पनि संवाद र सहकार्य होस् भन्ने चाहन्छ भन्ने सन्देश यो भ्रमणबाट मिल्न सक्छ।
सरकारले भन्यो अनावश्यक विवाद
सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको जनाएको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताइन्।
उनले प्रधानमन्त्री अमेरिका भ्रमणमा गएर त्यसपछि चीन भ्रमण गर्ने विषय टुंगिसकेको बताइन्।
अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न उनले आग्रह गरिन्। शर्माले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताइन्।
‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र च्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ। तयारीबारे हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयसँग र सम्बन्धित निकायसँग संयोजन गरेर तयारी भइरहेको छ’, उनले भनिन्, ‘अर्थ र परराष्ट्र मन्त्रालयबाट यसलाई अन्तिम टुंगो लगाउने प्रक्रिया सुरु भएको छ। द्विपक्षीय भएकाले हाम्रा मात्रै कुरा पनि भएन, द्विपक्षीय रुपमै स्वीकृति प्रदान भइसकेपछि एजेण्डा अघि बढ्नेछन्।’
अमेरिकाबाटै चीन जाने कुरा राम्रो नभएको कुरा आइरहेका बेला उनले भ्रमणको उद्देश्यमा पुग्नु मुख्य भएको बताइन्।
‘कहाँबाट कुन बाटो पर्यो भन्ने प्राविधिक कुरा हो। त्यसमा धेरै चर्चा परिचर्चा आवश्यक छैन’, उनले भनिन्, ‘उहाँहरुले कुन ढंगबाट उठाउनु भयो, सकारात्मक ढंगबाटै उठाउनु भयो भन्ने बुझौँ । बाटो, रुट कुन अपनाइयो भन्ने कुरा प्राविधिक हो। यसमा कुनै नियत, विषयवस्तु छैन।’
प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको बताइन्।