सुपरनोभा अर्थात् तारामा विस्फोटः अहिलेसम्मकै स्पष्ट टेलिक्पोपिक तस्बिर (फोटो फिचर)
वास्तवमा यो एउटा सुपरनोभा अर्थात् विस्फोट भएको ताराको तस्बिर हो। जेम्स वेब नामक नयाँ सुपर स्पेस टेलिस्कोपले यो तस्बिर खिचेको हो।
आकाशको दक्षिणी गोलार्धमा देखिएको सबभन्दा प्रख्यात अनि धेरै अध्ययन गरिएको खगोलीय वस्तुमा पर्ने उक्त सुपरनोभाको नाम एसएन१९८७ए राखिएको छ।
सन् १९८७ मा उक्त तारा विस्फोट हुँदा झन्डै ४०० वर्षयता पृथ्वीको सबभन्दा नजिक र सबभन्दा चम्किलो सुपरनोभा देख्न सकिएको त्यो नै पहिलो घटना थियो। अनि अहिले १० अर्ब डलर लगानीमा स्थापना गरिएको वेब अब्जर्भेटरीका कारण हामीले पहिले कहिल्यै देख्न नसकेका अद्भुत दृश्य देख्न पाएका छौँ।
एसएन१९८७ए सुपरनोभा पृथ्वीबाट १,७०,००० प्रकाशवर्ष टाढा रहेको लार्ज ‘म्याजल्यानिक क्लाउड’ भनिने हाम्रो आकाशगङ्गानजिकै रहेको सानो तारामण्डलमा अवस्थित छ।
कुनै विशाल ताराको ‘मृत्यु’ हुँदा के हुँदो रहेछ भन्ने विषयको जटिल परिदृश्य देखिने हुनाले उक्त सुपरनोभाप्रति खगोलविद्हरू आकर्षित हुँदै आएका छन्।
प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई प्रकाशवर्ष भनिन्छ। प्रकाशको गति ३०,००,००,००० मिटर प्रतिसेकन्ड हुन्छ। एक प्रकाशवर्षमा झन्डै ९५ खर्ब किलोमिटर हुन्छ।
अन्तरिक्षमा रहेका खगोलीय पिण्डको दूरी प्रायः प्रकाशवर्षमा मापन गरिन्छ।
तस्बिरमा देखिएका चम्किला घेराहरूले वास्तवमा उक्त तारा विस्फोट हुँदा विभिन्न चरणमा बाहिर फालिएका ग्यास र धुलो दर्साउँछन्।
विस्फोटका अन्तिम क्षणहरूमा हुने विध्वंस र सङ्कुचनका समयमा उत्पन्न तरङ्गहरूका कारण ती घेरा थप उत्तेजित अनि चम्किला भएका छन्।
तिनैमध्ये एउटा घेरा मोतीको हारजस्तो देखिएको छ। वैज्ञानिकहरू उक्त घेरा मुख्य विस्फोटभन्दा २०,००० वर्षअघि नै नै निष्कासित वस्तुहरूबाट बनेको अनुमान गरेका छन्।
जेम्स वेब स्पेस टेलिस्कोपले हामीलाई उक्त हारको अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्बिर दिएको छ।
साथै उक्त सुपरनोभाको हारमा हबल स्पेस टेलिस्कोपले खिचेको पुराना तस्बिरमा (हेर्नुहोस् तलको तस्बिरमा) नदेखिएका ‘केही थप मोती’ जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको तस्बिरमा देखिन्छ।
“हामी घेराबाहिर नयाँ हटस्पटहरू देख्न सक्छौँ,” यूकेको कार्डिफ यूनिभर्सिटीका डा रोजर वेसनले भने।
“साथै हाइड्रोजनको अणुबाट उत्सर्जित प्रकाश देख्न सकिन्छ जुन हामीले अपेक्षा गरेका थिएनौँ। अनि यो कुरा उच्च संवेदनशीलता र स्पष्टता भएको जेम्स वेब स्पेस टेलिस्कोपले मात्र देखाउन सक्थ्यो,” उनले भने।
ताजा तस्बिरको अर्को नयाँ विशेषता चाहिँ हारभित्र देखिने चन्द्राकार चम्किलो दृश्य हो जुन मध्यभागस्थित ‘कीहोल’ नामक अलि सघन क्षेत्रबाट बाहिर छ।
“हामीले यो चन्द्राकार क्षेत्र के हो भनेर खासै ठम्याउन सकेका छैनौँ,” पछिल्लो विश्लेषण गर्ने टोलीका अगुवा डा मिकाको मात्सूराले भने।
“सम्भवतः परावर्तित झट्काको लहर – कीहोलतर्फ जाँदै गरेको लहर – का कारण त्यो चम्किएको हुनसक्छ।”
तर जेम्स वेब स्पेस टेलिस्कोपले विस्फोट भइसकेपछिको ताराको भग्नावशेष देख्न सकेको छैन। कीहोल भनिने धुलोको सघन बादलभित्र त्यो कतै लुकेको छ।
खासमा तारा विस्फोट भइसकेपछि बाँकी हुने अवशेष सम्पूर्ण रूपमा न्यूट्रोन तत्त्वबाट बनेको हुन्छ। त्यो अवशेष केही किलोमिटरको क्षेत्रमा मात्र फैलिएको हुन्छ।
विगत ३६ वर्षयता एसएन १९८७ए देख्न सक्ने सबै ठूला टेलिस्कोपहरूले उक्त सुपरनोभाको परिवर्तित स्वरूप र विशेषताको अध्ययन गरेका थिए।
ती अध्ययनको केन्द्रबिन्दुमा यो सुपरनोभा किन उत्पत्ति भयो भन्ने प्रश्न रहेको छ।
खगोलविद्हरूका अनुसार यो सुपरनोभाको उत्पत्ति एउटा तुलनात्मक रूपमा कान्छो ताराबाट भएको हुनुपर्छ जुन हाम्रो सूर्यभन्दा २० देखि ३० गुना ठूलो हुनुपर्छ। त्यसले निश्चय नै तस्बिरमा देखिएको जस्तो विशाल विस्फोटन त उत्पन्न गराउन सक्थ्यो। यद्यपि त्यो ताराको उमेर विस्फोट भइसक्नु पर्ने चरणमा नपुगिसकेको ठानिन्छ।
“यो ताराको एउटा रहस्य के हो भने यो त्यतिखेर विस्फोट भयो जतिखेर उमेरका हिसाबले यो तारा ‘ब्लू सुपरजाइअन्ट’ भनिने चरणमा थियो। यद्यपि विद्यमान वैज्ञानिक मान्यताअनुसार ताराहरू ‘रेड सुपरजाइअन्ट’ चरणमा पुगेपछि मात्र त्यसरी विस्फोट हुने गर्छन्,” डा वेसनले भने।
“अहिले प्राप्त सङ्केतहरूअनुसार जेम्स वेब स्पेस टेलिस्कोप पहिले सोचिएकोभन्दा धेरै समय सञ्चालनमा रहने छ – झन्डै २० वर्ष। अनि त्यसले हामीलाई एसएन१९८७ए को बदलिँदो स्वरूपको निगरानी गर्न सघाउने छ।”
के हो जेम्स वेब स्पेस टेलिस्कोपको विशेषता
यो सामग्रीमा प्रकाशित पहिलो तस्बिर जेम्स वेब स्पेस टेलिस्कोपको मुख्य क्यामरा – निअर इन्फ्रारेड वा एनआईआरक्याम – ले खिचेको हो।
यो टेलिस्कोपको ६.५ मिटर चौडा ‘प्राइमरी मिरर’ तथा त्यसमा जोडिएका अप्टिक्सले गजबका तस्बिर खिच्छन्।
तर यो उपकरणको गोप्य अस्त्र चाहिँ त्यसमा जडित स्पेक्ट्रोमिटरहरू हुन्। तिनले कुनै वस्तुबाट आएका किरणलाई तिनको विशिष्ट रङ्गका किरणहरूमा टुक्र्याइदिन्छन्।
त्यसबाट ती वस्तुको रसायन, तापक्रम, सघनता र गति मापन गर्न सकिन्छ।
वेब टेलिस्कोपको निअर इन्फ्रारेड स्पेक्ट्रोमिटरको प्रयोग गरेर लिइएका एसएन१९८७एका तस्बिरसम्बन्धी विवरण छिट्टै नै प्रकाशन हुने छन्।
त्यसमा यो अद्भुत सुपरनोभाबारे थप रोचक रहस्योद्घाटन हुने ठान्न सकिन्छ।
‘जेम्स वेब’ संयुक्त राज्य अमेरिका, युरोप र क्यानडाका अन्तरिक्ष निकायहरूको सामूहिक परियोजनामा हो। सन् २०२१ को डिसेम्बरमा प्रक्षेपित यो उपकरणलाई हबल स्पेस टेलिस्कोपको उत्तराधिकारी पनि मानिन्छ।
बीबीसीबाट साभार