प्रचण्डपछि झलनाथको पनि प्रक्षेपणः एमालेभित्र विष्फोटको सम्भावना कति र किन !
गत साता सुर्खेत पुगेका प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेको राजनीतिक भविष्यमाथि कडा टिप्पणी गरेका थिए। विरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उनले एमालेमा ठूलो धाँजा परेको दाबी गर्दै उनले अब छिट्टै एमाले फुट्न सक्ने बताएका थिए ।
एमालेको नाम नलिएरै कुटनीतिक शैलीमा प्रचण्डले आफुलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र ठूलो धाँजा परेको, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परेसान भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा पुगेको बताए । यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रचण्डले कसैले राम्रो काम गरेको देख्नै नसक्ने प्रवृत्ति भएको आरोप समेत लगाएका थिए ।
त्यसको एक सातापछि नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि यस्तै टिप्पणी गरेका छन्।
बुधबार नेपाल आदिवासी जनजति महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्षी दल एमालेभित्र बिस्फोट र विद्रोह हुने बताएका हुन् । उनले एमालेभित्र देशव्यापी रूपमा पहिरो जाने बताए । खनालले एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टीभित्रैबाट विद्रोह हुने बताए ।
उनले जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने बताए । खनालले एमाले आफ्ना नीतिमा परिवर्तन गर्न बाध्य हुने पनि बताए । गलत कार्यदिशाका कारण आफूहरूले एमालेबाट विद्रोह गरेको भन्दै उनले आफूहरूले सही विचार र कार्यदिशा लिनुपर्ने बताए । उनले एमाले, राप्रपा, लोसपा र कांग्रेस जोसँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊसँग कुनै सिद्धान्त र दृष्टिकोण नभएको बताए । उनले एमाले भयानक अलमलमा रहेको टिप्पणी गरे ।
एमालेमा विष्फोटको सम्भावना किन र कति !
प्रचण्ड र झलनाथले भने जस्तै एमालेभित्र विष्फोटको सम्भावना बढ्दै गएको छ। पछिल्लो केही वर्षयता एमालेमा अध्यक्ष ओलीले चाहेभन्दा बाहिर गएर केही नहुने अवस्था थियो । माधव नेपाल तथा झलनाथ खनाल पार्टी विभाजन गरेर अलग भएपछि एमालेमा ओलीविरुद्ध बोल्न वा उनको इच्छाविपरीतको गतिविधि गर्न असम्भवप्रायः थियो ।
ओलीविरुद्ध अध्यक्षको प्रत्यासी बनेका भीम रावल र उपाध्यक्षको उम्मेदवार बनेका घनश्याम भुसालले चुनावमा टिकट समेत पाएनन् । अन्ततः घनश्याम पार्टीबाट अलग भए भने भीम रावल पार्टीमै रहेर पनि जिम्मेवारीबिहीन छन् ।
सोही कारण पनि पार्टी फोरममा होस् वा बाहिर कतै पनि अध्यक्षको चाहनाविपरीत बोल्ने र गतिविधि गर्ने हिम्मत कुनै नेताले देखाएनन् । तर, विस्तारै परिस्थिति फेरिँदै गएको संकेत लुम्बिनीको अधिवेशनले देखाएको छ ।
फरक मतलाई पेल्ने अध्यक्ष ओलीको नीतिका कारण असन्तुष्टि समेत व्यक्त गर्न नसकिरहेका नेताहरूले लुम्बिनीको अधिवेशनमार्फत पार्टीमा अब संस्थागत निर्णय र प्रक्रियामा जानुपर्ने सन्देश दिएका छन् ।
अध्यक्ष ओलीले सहमतिको अन्तिम प्रयासस्वरूप प्रदेश इन्चार्ज पद्या अर्यालमार्फत थमाएको चिर्कटो (कागजको टुक्रो)ले पनि काम नगरेको एमाले स्रोत बताउँछ । ‘अध्यक्ष ओलीले हरि रिजालको नाममा सहमति गरेर टुंग्याऊ भनेर सचिव पद्या अर्याललाई चिर्कटो थमाउनुभएको थियो,’ एमाले स्रोत भन्छ, ‘तर केन्द्रमा प्रतिनिधित्व गर्ने बहुसंख्यक पदाधिकारीले कुनै पनि हालतमा रिजाललाई मान्न नसकिने अडान लिएपछि बाध्य भएर चुनाव गर्नुपरेको हो ।’
लुम्बिनीबाट प्रतिनिधित्व गर्ने पदाधिकारीमध्ये महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीमात्रै ओलीले सर्वसम्मत बनाउन चाहेका रिजालको पक्षमा खुलेका थिए । बाँकी सबै पदाधिकारी र युवा नेताहरू कँडेलकै पक्षमा खुले ।
उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णु पौडेल, सचिवत्रय गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र पद्या अर्याल पनि कँडेलकै पक्षमा लाग्न पुगे । यतिमात्रै होइन, निलम्बित सचिव टोपबहादुर रायमाझीले समेत पौडेल निकटका कँडेललाई साथ दिएको चर्चा छ । पूर्व मुख्यमन्त्री लीला गिरीदेखि युवा नेता ठाकुर गैरेसम्मको साथ कँडेलले पाएका छन् ।
कतिसम्म भने ओलीका हरेक कदमलाई चुपचाप समर्थन गर्ने सूर्य थापासमेत रिजालको पक्षमा खुल्न सकेनन् । प्युठानको आन्तरिक राजनीतिको प्रतिस्पर्धाले थापा रिजालको पक्षमा खुलेर लाग्न नसकेको स्रोतको दाबी छ । केन्द्रीय राजनीतिमा पहुँच बनाएर थापाले गत निर्वाचनमा टिकट लगेदेखि रिजाल असन्तुष्ट थिए । सोहीकारण थापासँग उनको सम्बन्ध राम्रो हुन सकेको थिएन ।
एमालेकै पूर्व नेता राधाकृष्ण मैनाली ओलीकै कारण दुईतिहाइको सत्ता गिराउने, पार्टी तीन चिरा पार्ने र नोक्सान पुर्याउने काम भएकोमा धेरै असन्तुष्ट रहेको बताउँछन् ।
‘ओलीले दुईतिहाइको सरकार गिराए । बलियो बन्दै गर्दा तीन चिरा भएर पार्टी सडकसम्मै पुग्यो । पार्टीलाई नोक्सानी पुर्याएको आरोप ओलीले खेप्दै गर्दा एकथरीले बरु विद्या भण्डारी आएर एमाले चलाए हुन्थ्यो भन्न थालेका छन् । यसैले आन्तरिक संघर्ष बढ्दै जाँदा लुम्बिनीमा चुनाव हुने स्थिति आयो,’ मैनाली भन्छन्, ‘यही बेला एमालेमा चिरा पर्दैछ भनेर प्रधानमन्त्रीले पनि कार्ड फ्याँक्नुभयो । बाहिरबाट आशंका गर्न थालेको बेला एमालेमा अन्तरसंघर्ष चल्न थाल्नु र असन्तुष्टि देखिनु ओलीले चाहेको परिस्थिति हैन ।’
विद्या राजनीतिमा आउने चर्चा सम्बन्धमा ओलीले गरेको नमीठो टिप्पणीले उनैलाई अप्ठ्यारो पारेको पनि मैनाली बताउँछन् । ओलीमा आफूसँग स्वस्थ प्रतिस्पर्धा गर्न आउनेलाई रोक्ने, छेक्ने र बदला लिने भावना भएको भन्दै मैनालीले एमालेमा पहिरो जाने सम्भावना रहेको बताए।