कांग्रेसको गुटबन्दी कचल्टिने संकेत, यस्तो छ गगन, विश्वप्रकाश र शेखरको रणनीति

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले पुनः एक पटक संस्थापनइतर समूहलाई गोलबन्द पार्ने संकेत गरेका छन्।

नेता कोइराला र महामन्त्री थापाबीच चिसिएको सम्बन्धलाई सुधार्नेदेखि कुनै गुटमा नभएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत जोड्ने काम भइरहेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए।

 गत आइतबार कांग्रेस अर्जुननरसिंह केसीको निवास इटालीटारमा कांग्रेसको संस्थापन इतर पक्षका केही नेताहरूको बैठक बसेको थियो। सो बैठक सभापति शेरबहादुर देउवाको अकर्मण्यता र बलमिच्याइँको प्रतिवादमा केन्द्रित रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

सभापति देउवाले पार्टीभित्रका प्रतिपक्षी धारलाई बेवास्ता गर्दै एक्लै अघि बढ्ने बानीलाई निरन्तरता दिँदै गएपछि त्यसको प्रतिवादको रणनीति बनाउन सो पक्षको बैठक बसेको हो। त्यसका लागि उनीहरूले तीन तरिका अपनाउने भएका छन्। पहिलो- आफ्नो समूहलाई एकताबद्ध बनाउने। दोस्रो- आफ्नो समूहलाई विस्तार गर्ने। र तेस्रो- सभापति देउवाको प्रतिवाद गर्ने।

संस्थापन इतर समूहका दुई प्रभावशाली नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच असमझदारी बढेको छ। यद्यपि, कोइरालाले सार्वजनिक रुपमै त्यसको प्रतिवाद गर्दै आएका छन्। अब निरन्तर छलफल गर्दै असझमदारी हटाउँदै अघि बढ्ने तयारी उनीहरूको छ।

बैठकमा संस्थापन इतर समूहलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बारे छलफल भएको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले मुलखबरलाई जानकारी दिए। केसी निवासमा भएको छलफलमा सहभागी उनले भने, ‘संस्थापनइतर समूहलाई बलियो बनाउने बारेमा छलफल भएको छ। पार्टीभित्र पनि ठूलो वैकल्पिक शक्तिको आवश्यकता छ। पार्टी राजनीतिलाई सही मार्गनिर्देश गर्न पनि वैकल्पिक शक्तिलाई बलियो बनाउन आवश्यक छ। यिनै विषयमा छलफल भएको हो।’

त्यस्तै, आफ्नो समूहलाई थप विस्तार गर्ने रणनीति पनि अघि बढिरहेको छ। केसी निवासमा भएको छलफलमा पहिलो पटक संस्थापन इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी थिए।

शर्मा गत महाधिवेशनअघिसम्म देउवा समूहमै थिए। सो समूहबाट महामन्त्रीको टिकट नपाएपछि प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार भएर विजयी भएका थिए। त्यसयता उनी मुद्दागत हिसाबले संस्थापन इतर समूह निकट देखिए पनि समूहकै सदस्यको रुपमा खुलेका थिएनन्। पौडेल देउवाकै प्यानलबाट महामन्त्री उम्मेदवार थिए। पराजित भएपछि पनि उनी पनि शर्मा जस्तै संस्थापन इतर समूहसँगै नजिक देखिन्छन्।

केसी निवासमा बसेको बैठकले शर्मा र पौडेलको पनि उपस्थिति सम्भव भएपछि सो समूह थप बलियो बन्दै जाने र देउवाविरुद्ध संगठित प्रतिवाद गर्न सहज हुने नेताहरूको अपेक्षा छ।

शर्मा र पौडेल जस्तै अन्य नेताहरू र सांसदहरूलाई पनि आफ्नो पक्षमा ल्याउने उनीहरूको तयारी छ। त्यो संसदीय दलको नेता परिवर्तनदेखि आगामी महाधिवेशनमा सत्तापलटका लागि समेत कामयावी हुने उनीहरुको तयारी छ। महामन्त्री गगन थापा संसदीय दलको नेता बदल्ने हुटहुटीमा छन्। संसदीय दलको पुसमा सम्पन्न निर्वाचनमा उनले संस्थापन इतर पक्षको पनि उल्लेखनीय मत पाउन सकेका थिएनन्। त्यसैले आफ्नो समूहलाई एकताबद्ध र विस्तारित गर्न सकेमा पुसको नजिता उल्टिन सक्ने विश्लेषण उनी पक्षका नेताहरूको छ।

यो पक्षको तेस्रो रणनीतिस्वरुप सभापति देउवाको अकर्मण्यताविरुद्ध मुखर भएर उभिने र उनलाई अन्य कोणबाट दबाब दिने तयारी छ। जसको सुरुवात सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति अस्वीकार गरेर गरिसकेका छन्। सो समितिको सभापति पद उनले अस्वीकार गरेका थिए। सभापति देउवाले पार्टीभित्रको शक्ति संरचना अनुसार पार्टीले प्राप्त गरेको संसदीय समितिको सभापतिहरूको उचित भागबण्डा नगरेको भन्दै इतर पक्ष असन्तुष्ट थियो। त्यसैको परिणाम परियारको निर्णयमा देखिएको हो।

गत महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले ४० प्रतिशत मत पाएको र तर सभापति देउवाले त्यो शक्ति सन्तुलनलाई अस्वीकार गरेको बताउँदै आएका छन्।