भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ : गगन थापा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियानमा कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् । कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने समेत बताए ।

‘कांग्रेस भ्रष्टाचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन, हामी भ्रष्टाचाररहित राष्ट्र चाहन्छौँ, अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन छ,’ महामन्त्री थापाले भने ।

महामन्त्री थापाले अहिले तीन तहकै सरकारमा कांग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम नगर्न सुझाव दिए। जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको हुँदा नागरिकको न्यूनतम आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको सुझाव थियो ।

यस्तै पर्वत सदरमुकाम कुश्मा बजारमा मङ्गलबार दिउँसो कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै रूपान्तरण अभियानमा जुट्न आग्रह गरे। थापाले पार्टीको आउँदो महाधिवेशनले उम्मेदवार छनोटको प्रक्रिया बदल्ने र त्यसपछि गुटबन्दी अन्त्य भएर जाने विश्वाससमेत व्यक्त गरे। स्थानीय तहदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्नेरबनाउने प्रणाली परिवर्तन गरेपछि मात्रै गुटबन्दी अन्त्य भएर जाने उनको भनाइ छ।