सिंहदरबारमा बालेन शाहको आगोः ओहोदामा बसेर दिएको अशोभनीय अभिव्यक्ति

मूलखबर संवाददाता
काठमाडौं

शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा स्टाटसले यतिबेला मुलुक तातेको छ । सामाजिक सञ्जालदेखि चियाचौतारोसम्म यही विषयले प्रवेश पाएको छ । शनिबार बेलुका शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे– ‘‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”

बालेनले राखेको उक्त स्टाटस भाइरल नै भयो । बालेन समर्थित जमातले सामाजिक सञ्जालमै शाहलाई समर्थन गरेका छन् भने आलोचकले बालेनको कमजोरी भएको भन्दै टिप्पणी गरेका छन् । शनिबार दिउँसोको घटनामा केन्द्रित रहेर बालेनले उक्त स्टाटस राखेको पाइएको छ ।

एक साताअघि सुत्केरी भएकी उनकी श्रीमती फलोअपका लागि अस्पताल पुगेर शनिबार फर्किदै थिइन् । बिदाको दिनमा चलेको सरकारी गाडी हुँदा ट्राफिक चेकिङमा परेको थियो । चेकिङमा रहेका एक प्रहरीले बाह्रखरीसँगको कुराकानीमा करिब एक मिनेट जतिमात्रै शाह पत्नी चढेको गाडी रोकिएको बताए । शनिबार र बिदाका दिन पासबेगर सरकारी साधन चलाउन नमिल्ने हुँदा रोकिएको हो ।

ट्राफिक प्रहरीमाथि आक्षेप

बालेन्द्र साहको सचिवालयले शानिबार साँझ गाडी रोक्दा ट्राफिक प्रहरीले सामान्य मानवीय संवेदनशीलताको ख्याल नराखेको बताएको छ । प्रमुख साहका स्वकीय सचिव भुपदेव शाहले आइतबार विज्ञप्ति जारी गर्दै बालेनकी श्रीमती सविना काफ्ले चढेको सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका हुन् । विज्ञप्तिमा सार्वजनिक विदाको दिन चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिकले रोक्दा परमिट गाडीमा नभएको उल्लेख छ ।

बालेन पत्नी काफ्ले सुत्केरी भएको र एनआइसियूमा रहेको बच्चालाई स्तनपान गराउन अस्पताल गएको विज्ञप्तिमा उल्लेख छ।

‘शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए। त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए। सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे,’ विज्ञप्तिमा भनिएको छ,‘नगर प्रमुख सहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’

विज्ञप्तिमा सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको दाबी स्वकीय सचिव शाहले गरेका छन् ।

‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ।

खासमा बालेनकी श्रीमती चढेको गाडीलाई रोकेर ट्राफिक प्रहरीले सामान्य सोधपुछ गरेको विषय मात्र थियो । केही दिनअगाडि मेडिसिटीमा बालेनकी श्रीमतीले छोरीलाई जन्म दिएकी थिइन् । जुम्ल्याहामध्ये अपरेसनपछि एक छोरीलाई मात्रै अस्पतालले बचाउन सकेको थियो । सात महिनामा गरिएको अपरेसनपछि अर्की छोरीलाई अस्पतालमा राखिएको बालेनको सचिवालयले जनाएको छ ।

घरमा निजी गाडी भए पनि बालेनकी श्रीमती सरकारी गाडीमै अस्पतालमा छोरी भेट्न गएकी थिइन् । तर, व्यक्तिगत समस्यालाई आम मान्दै बालेनले उल्टै कानूनविपरीत सिंहदरबारमा आगो झोस्ने चेतावनी दिएका हुन् ।

निर्वाचित भएयता नागरिकसँग जोडिएका विषयमा सुधारका काम गर्ने केही प्रयास नगरेका होइनन्, तर नेता, प्रशासन र मन्त्रीहरूविरुद्ध धेरैपटक अर्यादित एवं अशिष्ट शैलीमा प्रस्तुत हुँदै आएका बालेनले आफ्ना केही राम्रा प्रयासलाई पनि आफैं छायाँमा पारेका छन् ।

शनिवार मात्रै होइन, यसअघि पनि बालेनले पटक-पटक यस्तै आपत्तिजनक अभिव्यक्ति दिँदै आएका छन् । गत चैत २५ गते बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

सधैंको समस्याका रूपमा रहेको काठमाडौंको फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधान गर्न सरकारसँग मिलेर काम गर्नुपर्ने बेला उनले उल्टै आक्रोश पोखेका थिए । कतिसम्म भने प्रधानमन्त्रीले बोलाउँदा समेत बालेनले बेवास्ता गरेका थिए ।

पटक-पटक सरकार आफैंले ताकेता गरेपछि बालेन बल्ल प्रधानमन्त्री र गृहमन्त्रीसँग संवादमा बसेका थिए । यति मात्रै होइन, गत वैशाख २० गते पनि उनले नेताहरूविरुद्ध उस्तै भडास पोखे ।

‘नयाँ–पुरानो सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

अरू महानगरपालिकाका प्रमुख मर्यादाक्रममा तल छन्, तर बालेनको मर्यादा राज्यका अरू कैयन प्रमुख पदभन्दा धेरै माथि छ । पदीय मर्यादा र गरिमा हुने भएकैले काठमाडौंको मेयरलाई यसरी मर्यादामा माथि राखिएको छ ।

तर, देशको राजधानी शहर भएको महानगरपालिकका मेयर भने आफूलाई देशको संविधान, नियम, कानूनभन्दा माथि राख्ने खालका गतिविधि गर्न उद्दत छन् ।

बालेनजस्तै केही व्यक्ति स्थानीय तहको निर्वाचनबाट उदाए । तर, पुराना दलहरुलाई गाली गर्नुबाहेक आफूहरू रचनात्मक छौं भन्ने खालको काम उनीहरूले गर्न सकेका छैनन् । बरु उल्टै अमर्यादित र असहिष्णु अभिव्यक्ति तथा व्यवहारले आलोचनाको केन्द्रमा छन् । हामी पुरानोभन्दा कसरी फरक छौं भन्ने सन्देश नयाँले व्यवहार, आचरण, बोली र कार्यसम्पादनमा देखाउन सकेका छैनन् ।