साहित्य महोत्सवमा गीतसङ्गीतको चर्चा

मूलखबर संवाददाता
काठमाडौं

ललितपुर । त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा गीतसङ्गीतका विषयमा छलफल गरिएको छ । ‘गीतमा के भइरहेको छ ?’ सत्रमा गीतकार एसपी कोइराला, उन्नती बोहोरा ‘सिला’ र हर्क साउदले छलफल गरे ।

रेडियो नेपालकालीन समयदेखि नै गीत रचना गरिरहेका गीतकार कोइरालाले रेकर्डिङका समयमा खेप्नुपरेका समस्याबारे चर्चा गरे । ‘एउटा गीत रेकर्ड हुँदै थियो । आधातिर पुगेपछि बाँसुरी बजाउनेलाई खोकी लागेपछि उक्त रेकर्ड नै दोहोर्याएर गर्नुपर्यो’, उनले भने, ‘अहिले गीतसङ्गीतका क्षेत्रमा प्रविधिले निकै परिवर्तन ल्याएको छ ।’

गीत उद्योगका रुपमा विकास हुँदै गएको बताउँदै कोइरालाले पछिल्लो समय धेरै गीतकार बजारमा आएका बताए । गीतकारहरु सङ्गठित भएका भन्दै गीतकारको लगानीको प्रतिफल भने सुरक्षित हुन नसकेको उनले बताए ।

गीतकार उन्नति बोहोरा‘सिला’ले आफूलाई चिनाउने गीत ‘फर्की आऊ शान्ति तिमी’ को प्रसङ्ग स्मरण गरिन् । उनले भनिन्, ‘तत्कालीन समयमा देशको शान्तिसुरक्षा खलबलिएका बेला यो गीतको रचना गरेको थिए । त्यसपछि धरतीको सन्देश लेखेँ । राष्ट्रियताको गीतले शान्तिको आह्वान गरेको थियो ।’ गीत लेख्न गहिरो चिन्तन र साधना चाहिने उनले अनुभव साटिन् ।

अहिलेको पुस्तामा लोकप्रिय गीतकार हर्क साउदलाई चिनाउने गीत ‘सुन साइँली’ हो । उनले यसलाई २० मिनेटमै तयार गरेका थिए । ‘म गीत रचना अगाडि भिडिओका बारेमा बुझ्छु र त्यहिँ भावमा शब्द कोर्छु । एउटा गीत लेख्न छ महिनासम्मको समय पनि लिएको छु’, गीतकार साउदले भने ।