एमसिसी उपाध्यक्ष क्यामरुन काठमाडौंमा, यस्तो छ उनको विगत
१२ भदौ, काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड मंगलबार काठमाडौं आइपुगेका छन् ।
एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यान्वयन सुरु हुने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् ।
बुधबार अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत एमसीसी कार्यान्वयनको घोषणा गरिने छ । सो कार्यक्रममा सहभागी हुन क्यामरुन काठमाडौं आएका हुन् ।
बुधबार (भदौ १३ गते)देखि नेपालमा एमसिसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ । पाँच वर्षभित्र एमसिसी परियोजना अन्तर्गतका काम सम्पन्न नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नुपर्ने सहमति छ । एमसिसी अन्तर्गत नेपालमा नयाँ प्रसारण लाइन निर्माण र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक विस्तारका काम हुने छन् ।
एमसिसी उपाध्यक्ष क्यामरुन नेपालमा रहँदा अमेरिकी सहयोगमा सञ्चालित एमसिसी र अन्य परियोजना तथा स्थानीय सांस्कृतिक महत्वका क्षेत्रको भ्रमण गर्नेछन् । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनी भदौ १५ गते अमेरिका फर्किने कार्यक्रम छ । उनी फर्किएपछि आगामी सेप्टेम्बर पहिलो साता अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन नेपाल आउने तयारी छ ।
यस्तो छ क्यामरुनको विगत
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरुन पूर्व कानुन व्यवसायी हुन् । उनले अन्तर्राष्ट्रिय कानूनी फर्म ‘जोन्स डे’मा वकीलको रूपमा काम गरेका थिए ।
त्यसपछि उनले अमेरिकी सरकारको विकास वित्त संस्था ओभरसिज प्राइभेट इन्भेस्टमेन्ट कर्पोरेसनका महत्वपूर्ण भूमिकाहरूमा काम गर्ने अवसर पाए ।
त्यसपछि अमेरिकी बैंकमा अन्तर्राष्ट्रिय बैंकिङका लागि वरिष्ठ सल्लाहकारका रूपमा समेत काम गरे । यस भूमिकामा रहँदा उनले ग्लोबल बैंकिङ समूहलाई कानुनी समर्थन र नीति निर्देशन गर्ने गर्दथे ।
निजी र सार्वजनिक क्षेत्रमा २० वर्षभन्दा बढी समय काम गरिसकेका क्यामरुन फेब्रुअरी, २०२१ देखि एमसिसीको उपाध्यक्षसँगै जनरल काउन्सिल र कर्पोरेट सेक्रेटरीको भूमिकामा काम गरे । साथै, कानुनी र नीतिगत मामिलाहरूको निर्देशक बोर्ड र वरिष्ठ व्यवस्थापन सल्लाहकारको भूमिकामा समेत उनले काम गरेका थिए ।
उनले हाल आर्थिक वृद्धिमार्फत गरिबी घटाउनका लागि एमसिसीको हस्ताक्षर अनुदान लगानी वाहक सबै कम्प्याक्टहरूको निरीक्षण गर्छन् ।