ओलीको रक्षात्मक अभिव्यक्तिले गरेका संकेत, विद्याले बदलिन् एमालेको डायनामिक्स
नेकपा एमालेको आन्तरिक राजनीतिक डायनामिक्स बदलिएको संकेत देखिएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्भावित उपस्थितिले नै एमालेको राजनीति बदलिएको संकेत देखिएको हो। विद्या भण्डारीको फेरि एमालेको राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा स्वागत हुने बताएका छन् । आइतबार विराटगरमा आयोजित कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा भण्डारीलाई कसैले निषेध नगरेको र सधैँ स्वागत हुने बताएका छन् ।
ओलीले राजनीतिक गर्छु भन्दा भण्डारीलाई कसैले नरोक्ने बताए । उनले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं ।’ ओलीले भण्डारी पार्टीको आदरणीय व्यक्ति भएको समेत बताए ।
उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ । त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि । हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो । त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन ।’
यसअघि ओलीले विद्याको एमाले पुनरागमनतर्फ लक्षित गर्दै भनेका थिए- एमालेमा विभाजन ल्याउन त्यस्तो हल्ला चलाइँदै छ ।राष्ट्रपति हुँदा विद्यादेवी भण्डारीलाई सबैभन्दा धेरै लाग्ने आरोप थियो– देशको सर्वोच्च भूमिकामा बसेर पनि पूर्वाग्राही भइन्, राजनीति गरिन्, अभिभावकत्व निर्वाह गर्न सकिनन् ।
त्यतिबेला एमालेवालाहरू राष्ट्रपति भण्डारीको बचाउ गर्दै भन्थे- उहाँले देशलाई केन्द्रमा राखेर कदमहरू चाल्नुभएको हो । एमालेले नै देशको हितमा काम गर्छ, अनि राष्ट्रपतिले सहयोग गर्नै पर्यो नि ! त्यति मात्रै होइन, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला भनियो– शीतलनिवासबाटै देश चल्न थाल्यो । हुँदा-हुँदा एमालेको रिमोर्ट पनि त्यतै छ कि क्या हो !
हुन पनि हो, विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा शीतलनिवासमा एमाले नेताहरूको लर्को नै लाग्थ्यो । अघोषितरूपमा भण्डारी त्यतिबेला पनि राजनीतिमा सक्रिय नै थिइन् ।
पार्टी उपाध्यक्ष हुँदाहुँदै राष्ट्रपति भएकी भण्डारीसँग राजनीतिक चेत नहुने कुरै भएन । कतिपयले स्वर्गीय मदन भण्डारीकी श्रीमतीको नाताले ‘विरासत धानेको’ भनेर टिप्पणी गरे पनि एमालेभित्र विद्याको प्रभाव गतिलो थियो, छ ।
खासमा पहिल्यैदेखि एमालेभित्रको ‘विद्या गुट’ नै सबैभन्दा प्रभावशाली थियो । केपी शर्मा ओलीको गुट झाङ्गिनुभन्दा पहिला विद्या गुट नै बलशाली थियो । माधवकुमार नेपाल संस्थापन भएका बेला ‘ओली–विद्या गुट’ एक थिए । समयक्रमसँगै नवौं महानिधवेशनपछि यहीं गुट संस्थापक बन्यो, बनिरहेको छ ।
सधैं एकजस्तो देखिने उक्त गुटमा अहिले गडबढ आएको चर्चा चलेको छ । दुई कार्यकाल गरी सात वर्ष राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुनः राजनीतिमा आउने कुराले एमालेको आन्तरिक राजनीति पूरै बदलिएको छ।
राष्ट्रपति हुँदादेखि नै राजनीति गरेको आरोप खेपेकी भण्डारी पदबाट बाहिरिएसँगै क्रमशः सक्रिय हुन थालेकी छन् । यससँगै उनको राजनीतिमा कमब्याक हुने चर्चा चुलिएको छ । अझ भनौं, एमालेको एक समूह अर्थात् ‘विद्या गुट’का अधिकांश नेताहरू उनलाई राजनीतिमा स्वागत गर्न आतुर छन् । कोहीकोहीले त छिटो राजनीतिमा आउन आग्रह गर्दै भण्डारीको ढोका ढक्ढक्याइरहेका छन् ।
भण्डारी राजनीतिमा सक्रिय हुने गाइँगुइँ चर्चा चलिरहेकै बेला एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले एक अन्तरवार्तामा भने– विद्या भण्डारी एमाले अध्यक्ष हुँदा पार्टी एकताबद्ध हुन्छ। थापाको उक्त भनाइले धेरैको ध्यान खिच्यो । थापाको भनाइको पक्ष र विपक्षमा उभिनेहरूले एमालेभित्रको दुई गुटलाई फेरि सतहमै ल्याइदियो । अझ यो प्रष्ट भयो कि- ओली गुटभित्र धेरै उपगुटहरू निर्माण भइसकेका रहेछन्, विद्या गुट अझै एकजुट रहेछ ।
एमाले विभाजन गर्ने भन्ने आश्यको ओलीको शंकाले झन् धेरै प्रश्नहरू जन्माएको छ । के विद्या भण्डारी फेरि राजनीतिमा सक्रिय हुँदा एमाले विभाजन हुन्छ ? हुन्छ भने, किन र कसरी ?
ओलीको उक्त भनाइमा ‘भण्डारी आगमनको भय’ मिसिएको थियो । कतै आफ्नो एकलौटी वर्चश्व तोडिने त होइन भन्ने शंसय थियो । ओलीको त्रासमिश्रित उक्त शंकाले पनि पुष्टि गर्छ कि– विद्या भण्डारी एमालेको नेतृत्वको तयारी गरिरहेकी छिन् अर्थात् एमालेका नेताहरू विद्या भण्डारीलाई राजनीतिमा ल्याएर पार्टी एकढिक्का बनाउन प्रयासरत छन् ।
अध्यक्ष ओली र नेता भीम रावलबीच भएको छलफललाई पनि एमालेको आन्तरिक राजनीतिक समीकरणसँग मिलाएर चर्चा भइरहेको छ । कतिपयले विद्यालाई टक्कर दिन ओलीले रावलको समेत साथ लिन खोजेको अर्थमा व्याख्या गर्न थालेका छन् । भण्डारीलाई पुनः पार्टीमा ल्याउने आफ्नै प्रक्रिया छ । राजनीतिमा फर्कने भएपछि पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सेवा सुविधा पनि छाड्नुपर्ने होला । यदि भण्डारी राजनीतिमा आइन् भने पनि कहाँ कसरी व्यवस्थापन गर्ने पाटो पनि जटिलै छ ।
भित्रभित्रै भण्डारीलाई वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा भित्र्याउने चर्चा पनि नभएको होइन । र, अहिलेको घम्साघम्सीबीच पार्टीको ११ औं महाधिवेशनबाट भण्डारीलाई अध्यक्ष हुन सहज भने छैन । उमेर हदसम्बन्धी विधानै सच्चायाएर तेस्रोपटक अध्यक्ष हुने दाउमा छन्, केपी शर्मा ओली । एमालेभित्र ओलीलाई पन्छाएर अघि बढ्ने कुरा सजिलो छैन ।
त्यस्तै, भण्डारीका निकट मानिने अहिलेका महासचिव शंकर पोखरेल आफैं अध्यक्षको लाइनमा छन् । ओलीलाई साइड लगाउन मात्रै सबै नेता विद्याको पक्षमा उभिने सम्भावना कम छ । यद्यपि, पार्टीभित्र र बाहिरका कम्युनिस्टसँग पनि एकता गर्न भण्डारीलाई विकल्पका रूपमा सार्नुपर्ने मत राख्ने समूहचाहिँ ठूलै छ । एमालेमा ओलीपछि को ? भन्ने प्रश्न पेचिलो बनेका बेला भण्डारीलाई विकल्प देख्नु स्वाभाविक होला । तर, राष्ट्रपति भइसकेको मान्छेलाई फेरि राजनीतिको पोखरीमा चोबल्नु ठीक नहुने तर्क पनि छ ।
जे होस्, विगतदेखि नै एकदमै निकट भनेर चर्चा हुँदै आएका र बेला–बेलामा ट्रोलसमेत बन्ने गरेको ओली–विद्या आमने-सामने भएका छन् । अहिलेसम्म विभिन्न अड्कलबाजी भए पनि यसबारे विद्या भण्डारीले प्रष्टसँग मुख खोलेकी छैनन् ।